आज:  | Fri, 19, Aug, 2022

गुञ्जन छोड्यो असारे भाका

१५ असार २०७९, बुधबार ०७:३१ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

कोरस : छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।
हलीवाउसे : असार मास, दवदवे हिलो छुनलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा, छ विस ऋण लाग्यो ।
रोपाहार : त्यो पारी गाउँको देउरालीपाखो भरियो सल्लाले
घरमा जहान, पाल्ने आँट छैन, के गर्ला यस्ताले ।

हातको पाँजोभरी धानको वेर्ना लिएर रोप्दै गरेका रोपाहारहरुले यस्तै–यस्तै गीतको गेडाले हिलोमा साहा लगाउँदै लछप्प भिजेका हलिवाउसेलाई असारे भाकामा सवालको जवाफ दिए । सामान्यतया: असार र साउन महिनामा खेतमा प्रयाप्त पानी लगाएर खनजोतगरी हिलो बनाई धानको विरुवा रोपन्छ । भारयित एवं पश्चिमी शैली र संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपाली समाजको बहुमुल्य संस्कृति कृषकका खेत–खेतका गहमा गुञ्जने असारे गीत विस्तारै लोपहुँदै जान थालेको छ ।
नेपाली कृषकहरुको मुख्यवाली धान रोप्ने बेलामा निक्कै चटारो हुन्छ । मानो खाएर मुरी उब्जाउनु पर्ने असार–साउनको धान रोपाईको चटारो विचपनि हलिबाउसे र रोपाहारहरु विच मनोविनोद हुने गर्छ । युवायुवतीहरु हिलो छ्यापाछ्याप खेल्दै लय र छन्द मिलाएर खेतका फाँटहरुमा घन्काउने भाकालाई असारे गीत भनिन्छ ।
पुरुषले खेत जोत्ने र महिलाहरुले धानको विरुवा रोप्ने प्रचलन छ । सायद, यही यौन मनोविज्ञानमा आधारित भएर हलिवाउसे र रोपाहार विच असारे गीतमा मनका भावनाहरु साटासाट गरिन्छ । झम–झम झरीमा पनि असारेगीतको माध्यमबाट मनका भावना साटासाट गरिन्छ । असारे गीतबाटै माया–पिरती लगाईन्छ । त्यसैले भनिन्छ, असारे गीतपनी झरीवादल, भोकतिर्खा नभनी रातदिन हिलोमा पसेका युवायुवतिले दु:ख विर्सेर माया–पिरती लगाउने एउटा गतिलो अवसर हो । हिजो–आज यो संस्कृति शहरीयाहरुले मनाउने ‘धान दिवस, असार–१५ दिवस’ मा मात्र सिमित हुन थालेको छ ।
असारे गीतको विशेषता भनेकै यसको मौलिकता सहितको रोचकता हो । शायद त्यसैले होला असारे गीतमा दुख:सुखका भोगाईहरुलाई युवायुवतीदेखी पाका उमेरका हलिवाउसे र रोपाहरको ओठले टपक्क टिपेको हुन्छ । हिलाम्मे खेतमा खनजोत र धानको विउ रोप्दा आउने ‘छुपछुपु’ को मधुर संगितमा पनि मनमा लागेका जुनसुकै भावना सजिलै गीतिलयमा गाउन सकिने हुंदा असारेगीतले सवैलाई उत्तिकै आकर्षण गर्छ । कहिले काहीं भद्रताबाट सुरु हुने तरुनी–तन्नेरी विचको हिलो छ्यापाछ्यापको रमाईलो रौसिंदै मर्यादाका लक्ष्मणरेखा अतिक्रमण गर्दै कपडा भित्रसम्म पुग्छन ।
केटा : हलो है भाँच्यो, जुवा है भाँच्यो डाँडैको खेतले
ऋण पनि लाग्यो, दिनपनि लाग्यो, एकछिनको भेटले
केटी : त्यो पाखो कोप्चो धान है रोप्दा हात खायो हिलोले
कस्ताको फेला परियो बाबै, एकछिनको भेटले ।
कोरस : छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।

तर बैदेसिक रोजगारीको प्रभावले होला हिजोआज गाउँघरका खेतबाट असारे भाका सुस्ताउँदै जान थालेको छ । बेंशीका फाँटमा समेत पछिल्ला केही बर्षदेखी असारेगीत गुन्जन छोडेको छ । बसाई–सराइको चापले बेंशीका फाँटहरुमा प्लटिङ्ग शुरु भएको र गाउँघरका खेतहरु बाँझै हुन थालेपछि नेपाली समाजको महत्वपूर्ण संस्कृति लोपुन्मुख छ । बैदेशिक रोजगारीले युवापुस्ता पलाएन भएपछि असारे गीतका भाकाहरु समेत हराउन थालेका छन ।
केटा : छुपुमा छुपु धान है रोप, हातको वीउ छउञ्जेल
मसिनो खाउली, सुकिलो लाउली, यो मेरो जीउ छउञ्जेल ।
केटी : हातको मैला सुनको थैला, के गर्नु धनले
साग र सिस्नु खाएको बेंश आनन्दी मनले ।
कोरस : छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।

‘असार १५ दघि च्यूरा खानु, साउन १५ खिर खानु’ भन्ने नेपाली उखान छ । र देशभर असार १५ गते सरकारी कर्मचारी समेतका सुकिला–मुकिला वर्गको सहभागितामा म्याग्दीमा पनि राष्ट्रिय धान दिवस परम्परामा हिलो छ्यापा–छ्याप र दुई टुक्का असारे गीत गाएर मनाईयो । यो वर्ष समयमै बर्षा शुरु भएकोले जिल्लाका सवै लेक–बैंशीका वस्तीमा रोपाई शुरु भएको छ ।
कार्यालयका अनुसार जिल्लामा ३ हजार ८ सय ९५ हेक्टर क्षेत्रफलमा गरिने धानखेतीबाट १२ हजार ५ सय ६० मेट्रीकटन धानको उत्पादन हुन्छ । कुल धानखेती योग्य जमिनको १६ प्रतिशत क्षेत्रफलमा सिंचाई सुविधा छ । उपल्लो क्षेत्रमा असार भित्र धान रोपाई नभए साउनबाट पानी चिसो हुने हुंदा पाक्ने बेलामा गेडा नलाग्ने समस्या हुन्छ ।
धान रोप्न समेत पहाडी खेतमा समेत आधुनिक प्रविधीको मिनीटिलर हलो र पावर टेलर हलोले जोत्न थालेपछि गोरु विस्थापित हुन थालेका छन । कान्ला र स–साना फोट्यान भएका पहाडी खेतबारीमा हलगोरु नारेर जोत्दै आएको परम्परागत खेती प्रणालीमा औजार प्रयोगमा कृषकको आकर्षण बढेको छ । पहाडका स–साना फोट्यानमा आधुनिक हलो मिनी टिलरले परम्परागत हलोले भन्दाबढी छेउकुना जोत्न पनि सकिन्छ । फराकिला फाँटमा मात्र होईन माथिल्लो ग्रामिण क्षेत्रका स–साना खेतवारीमा मिनीटिलरको प्रयोग बढेको छ ।
‘पाँच दिनको गोरुले जोत्ने मेलो ट्याक्टरले जोत्दा एक दिनमै सकिन्छ । पानी, रोपाहार र बाउसेको ब्यवस्था मिलाए, कुलोमा पानीकालागी झगडा पनि गर्नु पर्दैन । एकै दिन दुई–तिन जनाको खेतमा धान रोप्न भ्याईन्छ’ मौवाफाँटका कृषक जीतबहादुर पाईजाले भने, ‘गोरुले जोत्ने भन्दा लागत धेरै सस्तो र छिटो । तर कान्ला भएको पहाडी खेतमा बोकेर उकाल्ने/ओराल्ने गर्नु पर्ने भैरहन्छ ।’
बैदेशिक रोजगारीले गाउँघरमा खेत जोत्ने मान्छे पाईन छोड्यो र पशुपालन पेशा पनि हराउँन थालेपछि पहाडी क्षेत्रमा समेत मिनी टिलर ट्याक्टर विकल्प बन्न थालेको हो । ट्याक्टरबाट जोत्ने प्रविधी दुर्गम वस्तीमा पनि भित्रिएपछि बर्षौ देखी बाँझो बनेका लेकाली फाँटहरुमा खनजोत शुरु भएको छ ।