आज:  | Sun, 03, Jul, 2022

राम्रो आम्दानी गर्दै फलफुल तथा तरकारी नर्सरी

८ असार २०७९, बुधबार २१:५३ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

मनसुन सक्रिय भएसंगै फलफुल तथा अन्य जातका विरुवा रोप्ने सिजन सुरु भएको छ । नर्सरी ब्यवसाय कम लागतमा, थोरै जनशक्ति र सजिलोसँग गर्न सकिन्छ । नर्सरीमा स्थानीय हावापानी सुहाउँदा फलफुल, तरकारी, टिम्मुर, खुर्सानी, डालेघाँस, राम्रा प्रजातीका काठका वेर्ना उत्पादन हुने गरेको छ । जडिबुटीमा सतुवाका वेर्ना बढी उत्पादन हुन्छ ।
नर्सरी ब्यवसाय ओझेलमा रहेको तर उदाउँदो ब्यवसाय हो । खासगरी फलफुलका वेर्ना उत्पादन गर्ने नर्सरीले थोरै लगानीमा मनग्य आम्दानी गर्न थालेका छन ।
सुन्तला, कागती समेत फलफुलका बेर्ना विउबाट उत्पादित र कलमी गरिएका हुन्छन । जिल्लामा काउली, काँक्रा, खुर्सानी, कुरिलो, प्याज, घिरौंला समेतका तरकारीका नर्सरी, सुन्तला, कागती, किवी, जुनार, एभोकाडो, ओखर, मेवा आदिका नर्सरी छन ।
यसैगरी डालेघाँस तथाबहुमुल्य काठ हुने सिर्मु समेतका वनपैदावरका वेर्ना उत्पादन गर्ने वन नर्सरी, टिमुर, लसुन, प्याज, कालो मरिच आदीउत्पादन गर्ने मसलेदार नर्सरी र सतुवा, अतिस, विषजरा समेतका विरुवा उत्पादन गर्ने जडिबुटी नर्सरी ब्यवसायीक रुपमा फस्टाएका छन ।
‘फलफुलका स्वास्थ्य बेर्ना उत्पादन गर्ने र बजारीकरण गर्न नर्सरी प्रर्वद्धनमा प्राविधिक ज्ञान, प्रविधी र अनुदान सहयोग गरेका छौं’ कृषी ज्ञान केन्द्रका कृषी प्रसार अधिकृत गोविन्द पाण्डेले भने, ‘जिल्लामा अमिला जातका फलफुलको लागि सवैभन्दा उत्तम क्षेत्र हो । उपल्लो क्षेत्रमा दाँते ओखर, आरु, आरुवखडा आदी राम्रो उत्पादन हुन्छ । विरुवाको मागपनि सुन्तला, कागतीपछि किवी, दाँते अखोखर र तल्लो क्षेत्रमाएभोकाडोको पनिमाग बढेको छ ।’
प्रोजेक्टेड ग्रीनहाउस भित्र उत्पादित बेर्नाको जिल्ला दररेट ३५ रुपैयाँ गोटा मुल्य निर्धाण गरिएको छ । कलमी वेर्नाको भने ५५ देखी ६५ रुपैयाँ गोटा मुल्य निर्धारण गरिएको छ । फलफुल खेतीले जिल्लामा विस्तारै ब्यवसायीक बन्न थालेसँगै फलफुलका वेर्ना उत्पादन गर्ने नर्सरी ब्यवसाय पनि फस्टाउन थालेको छ ।
पछिल्लो एक दशकदेखी जिल्लामा सुन्तलाको ब्यवसायीक खेती फस्टाउन थालेको हो । सुरु सुरुमा कृषकहरुले कृषी कार्यालय मार्फत स्याङ्जा, गोर्खाबाट सुन्तलाका वेर्ना ल्याएर रोप्ने गर्थे । कृषी कार्यालयले नै सुन्तला, कागतीका वेर्ना जिल्लामै उत्पादन गर्न सिकाएपछि नर्सरी ब्यवसाय सुरु भएको हो ।
०४४/०४५ साल तिर तत्कालिन कृषी शाखाले गलेश्वरमा सरकारी स्वामित्वको फलफुल नर्सरी स्थापना गरी सुन्तला र कागतीका वेर्ना उत्पादन थालेको थियो । जिल्लाको पहिलो फलफुल नर्सरीबाट उत्पादित सुन्तला, कागतीका वेर्ना वरपरका कृषकलाई दुई–चार वटाका दरले बाँड्थ्यो । जुन नर्सरी बहुदल आएपछि भताभुङ्ग भयो ।
वेलायती सरकारको अनुदानमा संञ्चालित लुम्ले कृषी केन्द्रले चार दशक अघि जिल्लाको उत्तरी भेगका वस्तीहरुमा आरु, आरुवखडा, खुर्पानी समेतका फलफुलका वेर्ना वितरण गर्ने र डाले घाँसका वेर्ना उत्पादन गर्ने नर्सरी बनाई दिएको थियो । २०४० साल तिर राखु, घार, तातोपानी, दाना क्षेत्रमा सुन्तलाको राम्रो खेती गरिएको भएपनि ति परम्परागत थिए, ब्यवसायीक थिएनन ।
जिल्लामा सुन्तलाको ब्यवसायीक खेती थाल्ने अगुवा कृषक भने बेनीनगरपालिका, ३ भकिम्ली राखुका धनबहादुर रोका हुन । रोकाले ०४७ सालमा स्थापना गरेको ‘धनश्री बागवानी फारम’ जिल्लाको पहिलो ब्यवसायीक फलफुल फारम हो ।
कोदो वारी मासेर सुन्तला खेती गरेका रोकाको वारीमा लटरम्म फलेका सुन्तला पाकेर पहेंलपुर भएको देखेपछि मात्र छिमेकीले सुन्तला खेती गर्न थालेका थिए । अहिले भकिम्ली राखु, सुर्केमेला, बास्कुना, थामडाँडा, मरेक क्षेत्रका सवैका कोदो वारीमा सुन्तला खेती भैरहेको छ ।
जिल्लामा निजी क्षेत्रबाट सुन्तला जातका फलफुलका वेर्ना उत्पादन गर्ने ब्यक्ति भने अन्नपूर्ण गापा, ३ दानाका जोगबहादुर विक र बेनी गपा, ३ भकिम्ली राखुकी मनकुमारी पुन हुन । साविकको कृषी विकास कार्यालयले ०५९/०६० साल तिर नर्सरी तालिम दिएपछि सुन्तला र कागतीका वेर्ना जिल्लामै उत्पादन सुरु भएको हो । यि कृषकको नर्सरीमा उत्पादन भएका सुन्तला, कागतीका वेर्ना कृषी विकास कार्यालयले खरिद गरी कृषकलाई अनुदानमा वितरण गरेर फलफुल नर्सरीको प्रर्वद्धन थालेको थियो ।
‘जिल्लाको पहिलो फलफुल नर्सरी गलेश्वरमा तत्कालिन कृषी शाखाले स्थापना गरेको नर्सरी हो । जुन सफल बनेन । निजी क्षेत्रबाट भने ०५८–०६० बाट भकिम्ली र दानामा कृषी विकास कार्यालयको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापना गरिएको हो’ म्याग्दी र मुस्ताङमा ३४ बर्ष कृषी/वागवानी क्षेत्रमा कृषी प्राविधिक भै काम गरी गत वर्ष सेवानिवृत्त भोगबहादुर थापाले भने, ‘जिल्लामा फलफुल (सुन्तला)को ब्यवसायीक खेती गर्ने अगुवा कृषक भकिम्ली राखुका धनबहादुर रोका र फर्म धनश्री बागवानी फारम हो ।’
बेनपा–३ मनकुमारी पुनले नर्सरीबाट बर्षेनी राम्रो आम्दानी गर्दै आएकी छिन । वार्षिक ५ लाख नघटी कमाई भैरहेको छ । यही नर्सरीको कमाईले पुनले छोराछोरीलाई सहरका निजी स्कुलमा राखेर अँग्रेजी पढाई रहेकी छिन । उनले नर्सरीका वेर्ना रोगी नहुन भनेर पुनले क्रिनिङ हाउस बनाएकी छिन । उनी सफल सुन्तला उत्पादक कृषक पनि हुन । उनको नर्सरीमा यतिबेला १५ हजार बोट सुन्तला, ५ सय बढी कागतीका वोट छन ।
त्यस्तै, मंगला गाउँपालिका–४ बरंजाका रमेश बुढाथोकीको नर्सरीमा अहिले लोकल बाँसखर्क जातका ४० हजार सुन्तालका बेर्ना हुर्किरहेका छन । साथै कास्कीको लुम्ले कृषी अनुसन्धान केन्द्रका विज्ञले विरुवाको ल्याव परिक्षण (पिसिआर) गरेका १८ महिनाका २५ र ३२ महिना उमेरका १५ हजार बेर्ना पनि तयारी अवस्थामा छन । उक्त स्थान समुद्र सतहदेखी १ हजार ६ सय ३० मिटर उचाईमा छ ।
एक रोपनीमा फैलिएको बुढाथोकीको नर्सरीमा सुन्तलाबाहेक १२ हजार दाँते ओखर, ४ हजार कागती र ४ हजार टिमुरका वेर्ना तयार भएका छन । नर्सरीमा स्वस्थ विरुवा उत्पादन गर्न २ वटा ग्रीनहाउस छन । कृषि ज्ञान केन्द्र र लुम्लेले अनुदान दिएका थिए । वुढाथोकीले नर्सरीबाट वार्षीक ५ लाखबढी आम्दानी गर्छन ।
अन्नपूर्ण गाउँपालिका–३ दाना फगामका तेजेन्द्र थापाको नर्सरीमा पनि विउबाट उत्पादनभएका ४० हजार सुन्तला र ३ हजार कागतीका वेर्ना तयार भएका छन । थापाले गतवर्ष ३० हजार बेर्ना १५ रुपैयाँ गोटाका दरले विक्रि गरी साढे ४ लाख आम्दानी गरेका थिए । थापाले जस्तै जोगबहादुर विक, गौमती वुढाथोकी, नयन्द्र पुर्जासमेत ५ जना नर्सरी ब्यवसायी छन । जिल्लाभर अहिले कम्तीमा १५ वटा फुलफुलका नर्सरीले ब्यवसायी सुन्तला, कागती, ओखर समेतका फलफुलका वेर्ना उत्पादन गर्छन ।
विरुवामा पनि विचौलिया सकृय छन । पहुँचवाला विचौलियले जिल्ला–जिल्लाका स्थानीय तहमा पुगेर अनुदानका विरुवा ल्याउन टेण्डर हाल्छन । टेण्डर स्वीकृत भएपछि ब्यापारीहरु नर्सरी पुग्छन र सस्तोमा वेर्ना उठाउँछन । वेर्ना उत्पादन गर्ने कृषकको अनुदानमा विरुवा वितरण गर्ने कार्यालय/निकायसम्म पहुँच नपुग्ने र सरकारी विधी प्रकृया पुर्‍याउन नसक्ने भएकोले विचौलियाले कतिमा टेण्डर गर्छन, कतिमा वेच्छन कृषकले पत्तै पाईदैनन ।
दानाकै जोगबहादुर विकले पनि सुन्तला, कागतीजन्य विरुवा बेचेर वार्षीक ३ लाख रुपैयाँ बढी आम्दानी गर्छन । ‘सरकारी कार्यालयमा पुगेर कोटेशन हाल्ने, मोलमोलाई गर्ने ढंग छैन, चिनजान पनि छैन । फलफुलका वेर्ना वेच्ने ठूला ब्यापारीले विभिन्न कार्यालयमा कोटेशन गरी महंगो मुल्यमा वेर्ना वेच्ने ठेक्का लिन्छन । हामीले तिनै ठेकदारलाई सस्तोमा वेर्ना वेच्छौं’ तेजेन्द्रले भने ।
यी केही उदाहरणमात्र हुन । जिल्लामा सुन्तला, कागती, ओखर, एभोकाडो, टिम्मुर, मेवा, किवी जातका फलफुलका वेर्ना उत्पादनमा २५ बढी किसान ब्यवसायीक रुपमा लागेका छन । सानो र गाउँको पाखोवारीमा पनि सजिलै गर्न सकिने नर्सरी ब्यवसायमा पुरुष र महिला उत्तिकै सक्रिय छन । फलफुल तथा तरकारीका वेर्ना उत्पादन गर्ने नर्सरी ब्यवसाय संञ्चालन गर्नेमध्ये दानाका दिलमाया पुन, गौमती वुढाथोकी, बेनी–९ कि सरस्वती चोखाल, ७ कि सिता गुरुङ पनि अगुवा हुन । घर छेउको जंगलबाट पस्र्याउला ल्याउँछन, गाईभैसीको गोवर मिलाएर कम्पोष्ट मल बनाउँछन । विउ पनि बाहिरबाट ल्याउनु पर्दैन । वारीकै सुन्तलाका बोटबाट ठूला र स्वस्थ दाना छानेर विउ झिक्छन । विरुवा उर्माछन ।
कृषी ज्ञान केन्द्रको अभिलेख अनुसार जिल्लाको करिव ७ सयबढी हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको छ । सुन्तला खेती गरिएको मध्य ३ सय ५५ हेक्टर क्षेत्रफलमा लगाएका सुन्तलाका बोटबाट गत वर्ष २ हजार १ सय ८० मेट्रिक टन सुन्तला जिल्ला बाहिर विक्रि भएको थियो । कृषकले विक्रि गरेको सरदर मुल्यको आधारमा ज्ञान केन्द्रले तयार पारेको विवरण अनुसार गएको वर्ष म्याग्दीका कृषकले १३ करोडबढी आम्दानी गरेका थिए । पछिल्ला तीन वर्षदेखी बर्षेनी उत्पादन दिने सुन्तला खेतीको क्षेत्रफल १०–१२ हेक्टर बढीरहेको छ ।
‘धान खेत र कोदो वारीमा सुन्तला रोपेको हुँ । सुन्तला खेतीलाई मल पुर्‍याउन कुखुरा पारेको छु, केही बाख्रा छन । यही आम्दानीले चार जना छोराछोरीलाई काठमाण्डौ राखेर पढाएको छु । नर्स, इन्जिनियर र अरु पढ्ने सवै खर्च पुर्‍याउने मुल श्रोत यही सुन्तला खेती हो’ बेनी नपा, ४ बास्कुनाका तिलकबहादुर गुरुङले भने, ‘सुन्तला, कागतीबाट बार्षिक ८–९ लाख आम्दानी हुन्छ । गाउँभरी सवैका बारीमा सुन्तलै सुन्तला छन ।’ उनले थपे, ‘सुन्तला वेच्न समस्या छैन, पोखरा, काठमाण्डौ, नायारणगढ र वुटवलका ठूला ब्यापारी पैसा बोकेर दैलोमा आउँछन, वोटमा हेर्छन, गम्छन र बगानै किन्छन । रोगब्याथी र असिनाबाट जोगिए, पैसा हातमै आउँछ ।’
यस वर्ष सुन्तला जोन प्राविधिक इकाइ कार्यालय म्याग्दीले जिल्लाका विभिन्न कृषकलाई २० हजारबोट विउबाट उत्पादन गरिएका सुन्तलाका बेर्ना ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको छ । अन्य स्थानीय पालिकाले भने माग संकलन भइरहेको जनाएका छन ।
‘कृषकले वेर्नाको गुणस्तर र मुल्यमा बार्गेनिङ गरी किन्न तयार भएपछि हाम्रो निगरानीमा खरिद हुन्छ । खरिद भएको विलका
े आधारमा कृषकको खातामा ५० प्रतिशत अनुदान रकम जम्मा गर्ने गरेका छौं’ सुन्तला जोन प्राविधिक इकाइ कार्यालयका प्राविधिक रुपा विकले बताईन । ‘हामीले वडा–वडाबाट कृषकले रोप्न चाहेका फलफुलका जात र विरुवा संख्याको आवेदन माग कागरिरहेका छौं । जेठभित्र माग संकलन गरी असार दोस्रो सातासम्म कृषकलाई विरुवा उपलब्ध गराउने योजनामा छौं’ बेनी नगरपालिकाका कृषी शाखा प्रमुख फुलमायाँ थापाले भनिन, ‘नर्सरीले उपलब्ध गराउने फलफुलका जात, विरुवाको संख्या र मुल्यसहित सूचिकृत भएकोले हामीले तिनै नर्सरीबाट वेर्ना उठाउँछौं, गुणस्तरीय नभएअर्को विकल्पमा जान्छौं ।’