FLASH NEWS
  • Loading...

स्थानीय निर्वाचनमा : नौ जना वडाअध्यक्ष गोलाप्रथाबाट छानिए, ४७ जना एक र ३५ जना दुई मतले हारे

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३२ पटक पढिएको
Post Thumbnail

स्थानीय तह निर्वाचनबाट बाजुराको बुढीगंगा नगरपालिकाबाहेक देशैभरिका ६ हजार ७३३ वडामा वडाअध्यक्ष निर्वाचित भए ।

देशैभरिका नवनिर्वाचित वडाध्यक्षमध्ये नौ जना अभागी साबित भए भन्दा असान्दर्भिक नहोला । किनकि, उनीहरू गोलाप्रथाबाट पराजित भएका हुन्।

आफ्ना प्रतिद्वन्द्वीसँग समान मत ल्याएपछि नौ जना वडाअध्यक्षको नतिजा सार्वजनिक गर्नको लागि निर्वाचन आयोगअन्तर्गतको निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथा नै गर्नुपरेको थियो । तर गोलाप्रथामा उनीहरूले निराश बन्नु परेको हो ।

यसरी गोलाप्रथाबाट पराजित हुनेमा नेपाली कांग्रेसका पाँच जना, नेकपा (एमाले) का तीन जना र नेकपा (माओवादी) केन्द्रका एक जना वडाअध्यक्ष हुन् । प्रदेशगत रूपमा हेर्ने हो भने प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशमा समान २/२ जना, गण्डकी, बागमती र मधेस प्रदेशमा १/१ जना गोलाप्रथाबाट विजयी भए । 

जो एक मतले हारे

एक मतले पराजय भोगेका वडा अध्यक्षहरूको सङ्ख्या ४७ छ । राजनैतिक दलअनुसार हेर्नेहो भने कांग्रेस र एमालेबाट समान १४/१४ जनाले एक मतले पराजय भोग्दा, माओवादी केन्द्रका १२, जसपा र लोसपाबाट समान २/२ जना र जनमत पार्टी (जपा), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट समान १/१ जना पराजित भए ।

अछामको साफेंबगर नगरपालिका-६ मा नेकपा एमालेकी दूधकला खड्का (विष्ट) स्वतन्त्र उम्मेदवारसँग एक मतको अन्तरले पराजित भएकी हुन् । त्यस्तै, मधेस प्रदेशअन्तर्गतको धनुषा जिल्लाको कमला नगरपालिका-३ मा नेकपा (एकीकृत समाजवादी) की सीतादेवी ठाकुर माओवादी केन्द्रका रामभगत यादवसँग एक मतान्तरले पराजित भइन् ।

दुई मतले पराजित हुने ३५ जना

दुई मतान्तरले पराजित हुने वडाअध्यक्षहरूको सङ्ख्या ३५ छ । नेपाली कांग्रेसका १५ जना, एमालेका ९ जना, माओवादी केन्द्रका आठ जना र जसपाका ३ जना वडाअध्यक्ष पदका उम्मेदवारहरू दुई मतान्तरले पराजित हुन पुगे । दुई मतले पराजित हुने सबै पुरुष उम्मेदवार हुन् । मधेस प्रदेशमा ८ जना, कर्णाली र प्रदेश १ मा ६/६ जना, गण्डकी र बागमती प्रदेशमा ४/४ जना र लुम्बिनी प्रदेशमा ३ जनाले दुई मतान्तरले पराजय भोग्नुपर्‍यो ।

तीन मतले हार्ने ३७ जना

नेपाली कांग्रेसका १३ जना एमालेका १२ जना माओवादी केन्द्रका ६ जना, एकीकृत समाजवादीका ३ जना, जसपा नागरिक उन्मुक्ति पार्टी र लोसपाका १/१ जना उम्मेदवारहरू वडाअध्यक्ष पदमा तीन मतको अन्तरले पराजित भए ।  यसरी पराजित हुने ३७ जनामध्ये खोटाङको ऐसेलुखर्क गाउँपालिका-४ मा एमालेकी उम्मेदवार निलु थुलुङ राई एकमात्र महिला उम्मेदवार हुन् ।

२४ जना उम्मेदवार चार मतको अन्तरले पराजित भए । तीमध्ये दुईजना महिला उम्मेदवार हुन् । ताप्लेजुङको सिरीजङ्घा-३ मा एमालेकी कुमारी सावादेन कांग्रेसका दिलप्रसाद वोखिमसँग चार मतको अन्तरले पराजित हुन पुगिन् ।

पाँच मतको अन्तरले पराजित हुने उम्मेदवारहरूको सङ्ख्‍या ३१ रहेको छ । नेपाली कांग्रेसका १५, एमालेबाट एक महिलासहित आठ जना, माओवादी केन्द्रका तीन र जसपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपाका १/१ जना पाँच मतको अन्तरले वडाअध्यक्षमा पराजित हुन पुगे ।

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको थलारा गाउँपालिका-४ मा एमालेकी उम्मेदवार मेन्का कुमारी धामी (साउद) पाँच मतको अन्तरले पराजित भइन् । उनले ३५२ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले ३५७ मत पाए ।

सिंगल डिजिट (९ वा सोभन्दा कम) मतान्तरले सो पदमा पराजय भोगेका उम्मेदवारहरूको सङ्ख्या ३२३ रहेको छ । यीमध्ये महिलाको सङ्ख्या नौ छ भने पुरुषको सङ्ख्या ३१४ रहेको छ ।*केटिएमदैनिकबाट