FLASH NEWS
  • Loading...

यसरी भेटियो हराइरहेको ट्विनअटर

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३२८ पटक पढिएको
यसरी भेटियो हराइरहेको ट्विनअटर

जोमसोमका आइतबार बिहान उडेको तारा यएरको ९–एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा फेला परेको छ ।

थासाङ गाउँपालिका–३ लेतेका सुमित गौचनले सोमबार बिहान दुर्घटनाग्रस्त विमान मानापाथी हिमालको फेदीमा मूलीखर्कको सरेभीरमा अन्दाजी ४ हजार २ सय मिटरमाथि क्षतविक्षत अवस्थामा फेला पारेका हुन् । गौचन अन्य स्थानीयसँगै दुर्घटनाग्रस्त विमान खोज्न निक्लेका थिए ।

अन्य साथीहरु आइतबार राति नै फर्के पनि गौचन यार्सा खोज्न गएका इशान गुरुङसमेतको टोलीसँग बास बसेका थिए । उनै इशान गुरुङले आइतबार विमान आफूहरुकै टाउकोमाथि उडेको र ठोक्किएको आवाज सुनेको तर बाक्लो कुहिरोले नदेखेको भनी प्रहरी प्रशासन र पालिका अध्यक्ष, वडाध्यक्षलाई खबर गरेका थिए ।

सोही आधारमा खोजीलाई मानापाथी हिमालमुनि केन्द्रित गरिएको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले बताए । कोवाङबाट तीन घन्टा माथि मानापाथी हिमालको फेदीमा पर्ने पहाडमा विमान ठोक्किएर क्षतविक्षत अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

पोखराबाट आइतबार बिहान ९ : ५५ बजे उडेको विमान म्याग्दी खण्डमा पर्ने बफर जोन क्रस गरेपछि सम्पर्कविहीन भएको थियो । जोमसोम विमानस्थलमा बाक्लो बादल लागेकोले अवतरण गर्न नसकेपछि निलगिरी हिमाल मुनीको टिटी तालको आकाशबाट देब्रे मोडिएर मानापाथी हिमालपट्टी पुगेको र सोही पहाडमा ठोकिएको थियो । 

प्रहरी र स्थानीयले शव तथा अन्य समाग्री संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखरा–जोमसोम उड्ने जहाजहरु म्याग्दी–मुस्ताङ सिमावर्ती घाँसा क्षेत्रको २ हजार ८ सय मिटर अग्लो स्थानमा कालीगण्डकी नदीलाई देब्रे पारेर उडान भर्छन् । पोखरा–जोमसोम रुटमा उड्ने विमान म्याग्दीको घोरेपानीदेखि मुस्ताङको घाँसासम्मको क्षेत्रमा करिब ६ मिनेट टावरसँग सम्पर्क विच्छेद हुन्छन् । यो विमान बफर जोन क्रसगरी जोमसोम विमानस्थलको टावरमा सम्पर्कमा आएपछि बेपत्ता भएकोले मुस्ताङको लेते, कोवाङ क्षेत्रलाई आधार मानेर खोजी गरिरहेको थियो । *फाेटाे ः कमल थजाली मगर