FLASH NEWS
  • Loading...

म्याग्दीमा फैलदै अफिम खेती, प्रहरी अफिम खेती भेट्छ,भेट्दैन खेती गर्ने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४६ पटक पढिएको
म्याग्दीमा फैलदै अफिम खेती, प्रहरी अफिम खेती भेट्छ,भेट्दैन खेती गर्ने

जिल्लाका दुर्गम भेगका खाली जमिनमा लागु पदार्थको स्रोत अफिम खेती फस्टाउन थालेको छ । प्रहरीले पछिल्लो २० दिनमा तीन फरक–फरक स्थानमा अफिमखेती नष्ट गरेको छ । प्रहरीले अफिम खेती नष्ट गरेपनि अझैसम्म खेती लगाउने ब्यक्ति भने फेला पार्न सकेकाे छैन ।
प्रहरीले विहिवार मंगला गाउँपालिका, ५ अर्मनको चाङ्गालेकका ५–६ रोपनी लेकाली फाँटमा अज्ञात ब्यक्तिले लगाएको अफिम खेती नष्ट गरेको जनाएको छ । यस अघि वैशाख २४ गते मालिका गाउँपालिका, ५ देविस्थानको गाईखर्क क्षेत्रको ५ रोपनी क्षेत्रफल, वैशाख २७ गते मालिका गापा–४ ओखरवोटको सिस्नेरी खवाङमा लगाईएको अफिम खेती प्रहरीले नष्ट थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लागुपदार्थका तस्करहरुले गाउँमा ब्यवस्थित रुपमा लागु पदार्थको स्रोत अफिमखेती फस्टाएको भेटेपछि जिल्लाका सवै वस्तीदेखी माथीका लेकाली खाली फाँटमा अफिम खेती खोजी थालेको जनाएको छ ।
केही वर्ष अघि पनि प्रहरीले रघुगंगा गाउँपालिका, ६ पाखापानीका एक कृषकको करिव एक रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको थियो । तर प्रहरीले पाखापानीको अफिम खेती तत्काल नष्ट गरेपनि अन्य वस्तीहरुमा पनि अफिम खेतीबारे भए/नभएको चासो राखेको थिएन ।
लागुपदार्थका कारोवारीहरुले जिल्लाका दुर्गम, न्युन जनसंख्या भएको र एकान्त क्षेत्रका सोझा किसानलाई कम लगानीमा धेरै आम्दानी हुने प्रलोभन देखाएर अफिमको ब्यवसायकी खेती गराउने गरेका छन ।
‘म्याग्दीका माथिल्लो क्षेत्रमा अफिम खेती फस्टाएको हुन सक्छ । १५–२० दिनमा मात्र तीन गाउँका लेकमा अफिम खेती लगाईएको भेटियो’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायवउपरिक्षक तिलक भारतीले भने, ‘स्थानीय तह निर्वाचन सकिएपछि प्रहरी शंकास्पद क्षेत्रको अफिम खेतीको खोजी गर्ने र नष्ट गर्ने अभियान थालेका छौ ।’
फोटो : मंगला गाउँपालिका, ५ अर्मनको चाङ्गामा लगाएको अफिम नष्ट गर्दै प्रहरी । फोटो : सौजन्य जिल्ला प्रहरी कार्यालय, म्याग्दी