आज:  | Sun, 03, Jul, 2022

नवसहर बन्दै गाउँपालिका मुकामहरु

११ जेष्ठ २०७९, बुधबार १५:३४ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

संघियताको कार्यान्वयनसँगै पुराना सहरले साख गुमाउँने र नयाँ वस्तीमा तिब्र सहरीकरण हुन थालेको छ ।
सिंहदरवार साँच्चै गाउँमै कार्यान्वयन हुन थालेपछि नगर/गाउँपालिकाका मुकाममा सहरीकरण सुरु भएको हो । गाउँपालिकाका केन्द्रमा नयाँ आरसिसि भवन वन्ने क्रम सुरु सुरु भएको छ ।
गाउँपालिका केन्द्र रहेका पोखरेबगर मात्र होईन, मंगला गाउँपालिकाको बाबियाचौर, रघुगंगा गाउँपालिकाको मौवाफाँट र मालिका गाउँपालिकाको मुकाम दरवाङ बजार नयाँ सहरको रुपमा उदाउन थालेका छन । राजनैतिक तथा प्रशासनीक कार्यालयहरु, वैंक तथा वित्तिय संस्था खुलेपछि ब्यापारिक चहल पहल पनि ह्वात्तै बढेको छ ।
‘गाउँपालिका केन्द्र तोकिएपछि राजनैतिक तथा प्रशासनीक कार्यालय, बैंक तथा वित्तिय संस्थाका कार्यालय खुलेपछि पोखरेबगरको रौनक नै फेरिएको छ । नयाँ घर थपिने र पुराना घरहरु भत्काएर आधुनिक घर बनाउने होड चलेको छ’ अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेका खड्ग गिरीले भने, ‘५ बर्ष अघि २०–२५ घर थिए, अहिले १ बढी पुगे । जग्गाको मुल्य हाईवे क्षेत्रमा हातको तीन लाख बढी पुगेको छ ।’
तिव्र सहरीकण भैरहेका पालिका मुकामहरुमा परम्परागत ढुङ्गामाटोका घर भत्काएर आरसिसि भवन बन्न थालेका छन । बर्षेनी १५–२० वटा नयाँ घर थपिनेक्रम बढेको छ
। घर घडेरी हातले नापेर महंगो मुल्यमा वेच्न थालिएको छ । होटल तथा सवै खाले पसलहरु थपिएका छन । ब्यापार शैली फेरिएका छन । गाउँले भट्टीपसल फेरिएर होटल/रेष्टुरेन्ट/फाष्टफुड बनका छन, कपडा पसल फेन्सी पसल भए । विकास तथा कर्मशियल वैंक थपिए, लघुवित्त र वचत तथा ऋण सहकारी थपिए ।
‘पालिका मुकाम बनेपछि घर थपिए, घोडेटा बाटा थिए, सडक बने त्यो पनि कालोपत्रे । इन्डोर गेम खेल्न कभर्ड हल बन्यो, वालबालिका तथा बृद्धबृद्धाकालागी पार्क बने, संग्राहलय बन्दैछन । हिजो पानी थाप्न बाटोका धारामा पुग्नु पथ्र्यौ, अहिले घरघरमै पानीका धारा जेडिएका छन’ उद्योग वाणिज्य संघ मंगला गाउँपालिका इकाइ समितका अध्यक्ष राजु पाण्डेले भने, ‘पालिका मुकाम रहेको बाबियाचौरले स्वरुप र स्वभाव फेरेको छ । सदरमुकाममा रहेको शक्ति गाउँमा आएको छ । ब्यापारको शैली फेरिएको छ । घरघरमा सवारी साधन हुन थालेका छन ।’
राज्य पुन:संरचना भएसँग गाउँपालिका मुकामहरु नव सहरमा रुपान्तरण हुनेक्रम तिव्र वन्न थालेपछि सदरमुकाम समेत पुराना र एतिहाँसिक सहरलाई भने विरासत जोगाउन धौ धौ भएको छ । प्रशासनीक तथा सेवा कार्यालयका भुमिका र प्रभाव कमजोर बनेका छन । ब्यावसायीक गातिविधी घटेको छ ।
‘राज्य शक्तिको विकेन्द्रीकरण भएपछि स्वाभाविक रुपमा केही असजिलो भएको छ । पुरानो विरासत जोगाउन नयाँ क्षेत्रहरु पहिचान गर्न आवश्यक भएको छ’ बेनी नगरपालिकाका नव निर्वाचित मेयर सुरत केसीले भने, ‘सदरमुकाम रहेको बेनीको विरासत जोगाउन अनुकुलनका योजना आवश्यक छ । ब्यवसायीक, पर्यटन वा अन्य नयाँ क्षेत्रको पहिचान र प्रर्वद्धन आवश्यक छ । हामी नयाँ क्षेत्र पहिचान गरी लगानी बढाउँछौं । लगानी मैत्री कानुन बनाउछौं, प्रोत्साहन गर्छौ ।’
ईतिहाँस जतिसुकै समृद्धशाली भए पनि समयचक्रले बेनी बजारलाई भोको–नाङ्गो र दुब्लो–पातलो बनाउँदै लगेको छ । अहिले फेरी उत्तर–दक्षिण भोट–मधेश (तिब्बत–भारत) जोड्ने बहुचर्चित अन्र्तदेशिय कालीगण्डकी करिडोर अन्र्तगतको बेनी–जोमसोम–कोरला सडकले बेनीको भविश्य निर्धारण गर्ने भएको छ । विद्यमान पोखरा–बेनी–जामसोम सडकमा चल्ने सोझो यातायातले नै बेनीको झण्डै ९० प्रतिशत ब्यापार र चहलपहललाई ओझेलमा पारेको छ ।
‘कालीगण्डकी करिडोरको सडक एलाईमेन्टले नै एतिहाँसिक सहर बेनीको भविश्य निर्धारण गर्ने छ । बेनी–जोमसोम–कोरला सडकबाट हुने ब्यापार र त्यहाँ आउने पर्यटकलाई आकर्षित नगरी बेनीको साख जोगिदैन’ म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले भने, ‘बेनीहुँदै पश्चिम ढोरपाटन छिचोलेर नेपालगंज पुग्ने नयाँ ब्यापार मार्गले मात्र हाम्रो भविश्य सुनिश्चित गर्छ । म्याग्दीको पश्चिमहुँदै बाग्लुङको पश्चिमहुँदै रुकुमबाट तल झर्ने सडक मार्ग र पर्यटन मार्ग पहिचान र प्रर्वद्धन आवश्यक छ ।’