FLASH NEWS
  • Loading...

नदी किनार र भीरजरोका बस्तीमा सँधै त्रास : दर्जनबढी वस्ती उच्च जोखिममा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३७१ पटक पढिएको
नदी किनार र भीरजरोका बस्तीमा सँधै त्रास : दर्जनबढी वस्ती उच्च जोखिममा

मुस्ताङ्गको लेतेबाट तल म्याग्दी सदरमुकाम बेनी नपुग्दासम्मको ४४ किलोमिटर कालीगण्डकी नदीले बनाएको खोंचका प्राय:सवै पहाडहरु ९० डिग्रीभन्दा बढी भीराला छन । र यीनै पहाडको फेदीका कालीगण्डकी नदीले बनाएको बगरमा अवस्थित दर्जनबढी बस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा छन ।

कालीगण्डकी नदी मात्र होईन धौलागिरी हिमालबाट झर्ने पश्चिमभेगबाट बग्ने म्याग्दी खोला र मध्यभागबाट झर्ने राहुघाट खोलामा पनी पहाडको संरचना उस्तै छन । म्याग्दी बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला हो । भुकम्पले चट्टानी पहाडलाई थप बढी मक्काई दिएको र फाटेका पहाडमा बर्षाको पानी भासिने (सिपेज)हुँदा झन ठूला पहिरो गै मानविय क्षति पुर्‍याउने पहिरोको खतरा बढेको छ । कालीगण्डकी, म्याग्दी खोला र राहुघाट जलाधार क्षेत्रका ३८ वटा वस्ती अद्यावधी पहिरोको उच्च जोखिममा छन ।
भुकम्पपछि बाढी र पहिरोबाट अन्रपुर्ण गापकाे काप्रे, रुप्सेछहरा, तितर, घट्टेखोला, फगाम,  कोप्चेपानी, गाडपार, नारच्याङ्ग, भूरुङ्ग तातोपानी, ठूलोबगर,  पोखरे, रातोपानी, पाउद्धार, महभीर, दोसल्ले, रघुगंगा गापाकाे तिप्ल्याङ्ग, बेगखोला, घुमाउनेताल, पारीगलेश्वर,  दग्नाम,  मंगलेखानी, पाखापानी, घुमाउनेताल,  बेनी नगरपालिकाकाे बेनी र पवर्घतानको गलेश्वर, सदरमुकाम बेनीबजार मुस्ताङ्ग जिल्लाको लेते, घाँसा, उत्तरी पर्वतको बाँसखर्क, मल्लाजको बेनी र बगरफाँट उच्च जोखिमा छन । त्यस्तै कुइनेकाे चौरखानी पहिरो, पुलाचौरको चिप्लेटी, ओखरवोट, पात्लेखेतको बान्द्रखाल्टी, पाखापानीको रायोखोर, पाखापानीकै बेंशी, भकिम्लीको तोराखेत, चीलवस्ने डाँडो, बरंजाको खस्रुपानी, झिंको घ्याङग्रीखोला, शिखको घट्टेखोलाको पहिरो बर्षेनी बग्ने पहिरा हुन ।
कालीगण्डकीमा अहिले म्याग्दी–मुस्ताङ्ग सिमा क्षेत्रको बाँदरजुङ्ग भीर, दानाको गुईठे क्षेत्रको भीर, भुरुङ्गको तातोपानीको भीर, घारखोलाको नेपाने भिर, घारको टिमुरेभिर, राम्चेको यही काफलडाँडा भिरहुँदै बेनीसम्मका अग्ला पहाडहरु चर्किएकोले बर्खायामको जोखिम टरेको छैन ।
कुनै प्राविधिक योजना र भौगर्भिक बनोटलाई पहिचान गर्न नसक्दा हाम्रो सडक पूर्वाधार विकासले पनि बर्षेनी ठूलो जनधनको क्षति भैरहेको छ । भौतिक संरचनाका इन्जिनियरिङ डिजाईन पनी फरक चट्टान अनुसार गर्नु पर्ने हो तर त्यसे विलकुल भएका छैनन । पूर्वाधारबाट क्षतिग्रस्त क्षेत्रको ट्रिटमेन्ट पनि भएको छैन ।
कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा यस अगाडी पनि पटक–पटक पहिरो झर्ने र थुनिने गरेका छन । कालीगण्डकी नदी २०१४ सालमा ठूलो पहिरोले थुनिएको थियो । ०५५ साल असोज १० गते अन्धगल्छीको तातोपानी बजारमा शिख गाविसको गोगनपानी भिर खस्दा कालीगण्डकी १० घन्टा थुनिएको थियो । पछिल्लो पटक ०७२ जेठ १० गते राम्चे गाविसको काफलडाँडा मुनीको महभीर खस्दा १६ घन्टा कालीगण्डकी थुनिएको हो । ०४४ सालमा हिमालपारीको मुस्ताङ्गको हिमताल फुटेर आएको बाढीले कालीगण्डकी तटिय क्षेत्रमा ब्यापक धनजनको क्षति पुर्‍याएको थियो ।
अर्को जोखिमयुक्त म्याग्दी नदीमा ०४५ साल असोज २ गते साँझ निस्कोटको छरछरेको भीर भत्कदा दरवाङ्ग बजार पुर्दा एक सय ९ जनाको मृत्यु भएको थियो । त्यसैगरी तीन बर्ष अघि जिल्लाको मध्य जलाधार क्षेत्रको पाखापानीको बेंशीबाट पहिरो झर्दा राहुघाट खोला ८ घन्टा थुनिएको थियो ।