आज:  | Sun, 03, Jul, 2022

विश्वमा आर्थिक मन्दीको खतरा, यी हुन ५ कारण

५ जेष्ठ २०७९, बिहीबार १४:५५ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

विश्वभर फेरि आर्थिक मन्दीको खतरा बढेको छ। 

मन्दीको खतराका कारण अर्थशास्त्रीहरुको निद्रा हराम भइरहेको छ। विश्वकै धनीव्यक्ति एलोन मस्क पनि यसबाट चिन्तित छन्। मस्कलगायत धेरैले विश्व विशेषगरी अमेरिकाजस्ता विकसित मुलुक मन्दीको चपेटमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। 

त्यस्ता धेरै कारक छन्, जसका कारण विश्व अर्थतन्त्र फेरि एकपटक आर्थिक मन्दीको चपेटामा आउने लगभग निश्चित छ। 

आर्थिक मन्दी के हो ? 

यदि कुनै देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) केही महिना लगातार घट्दै गयो भने त्यस अवधिलाई अर्थशास्त्रमा आर्थिक मन्दी भनिन्छ। सामान्यतया दुई त्रैमास अर्थात् ६ महिनालाई मानक रुपमा लिइन्छ। एकै समयमा जीडीपी वृद्धि दरको निरन्तर घट्नुई आर्थिक मन्दी भनिन्छ। यीबाहेक अर्थशास्त्रमा ‘डिप्रेसन’ अर्थात महामन्दी भन्ने शब्द पनि हुन्छ। यो वास्तवमा मन्दीको सबैभन्दा खराब रुप हो। कुनै देशको जीडीपी १० प्रतिशतभन्दा बढी घट्यो भने त्यसलाई महामन्दी भनिन्छ। पहिलो विश्वयुद्धपछि १९३० को दशकमा महामन्दी आयो। जसलाई द ग्रेट डिप्रेसन भनिन्छ।

१. कोरोना महामारी

सन् २०१९ देखि सारा विश्व कोरोना महामारीको चपेटामा छ। यो महामारीले विश्वमा स्वास्थ्य संकटभन्दा पनि बढी आर्थिक संकट सिर्जना गरेको छ। अहिले फेरि एकपटक विश्वको ‘फ्याक्ट्री’ अर्थात् चीन महामारीको नयाँ लहरसँग लडिरहेको छ। सांघाईजस्ता ठूला औद्योगिक हब कडा लकडाउनबाट गुज्रिरहेका छन्। जसका कारण धेरै कम्पनीका प्लान्ट फेरि बन्द भएका छन्। पहिले नै आपूर्ति शृंखला समस्याहरुको सामना गरिरहेको विश्वका लागि यो नयाँ लहरले आपूर्ति पक्षको समस्यालाई झनै बढाएको छ।

२. रुस–युक्रेन युद्ध

गत फेब्रुअरीको अन्तिम सातादेखि रुस र युक्रेन युद्ध सुरु भएको थियो। लामो समयको द्वन्द्व र सैन्य तनावपछि रुसले फेब्रुअरीको अन्तिम दिनमा युक्रेनमा आक्रमण गरेको थियो। यसअघि यो युद्ध लामो समय नरहने र केही हप्तामा रुसले जित पाउने विश्वास गरिएको थियो। तर, सबै अनुमान गलत साबित भयो र महिनौँ बितिसक्दा पनि युद्ध जारी छ। यस युद्धका कारण विश्वमा धेरै अत्यावश्यक वस्तुको अभावको संकट उत्पन्न भएको छ। रुस र युक्रेन दुवै गहुँ र जौजस्ता धेरै अन्नका प्रमुख निर्यातकर्ता हुन्। युद्धका कारण उनीहरुको निर्यात प्रभावित भएको छ। अहिले अवस्था यस्तो छ कि धेरै देशसामु खाद्य संकटको अवस्था छ। श्रीलंकाले पनि यस्तै संकटको सामना गरिरहेको छ।

३. दशककै उच्च मुद्रास्फीति 

वर्षौंदेखि मुद्रास्फीति समाचारको हेडलाइन बन्न सकेन तर अहिले फेरि पुरानो जमाना फर्किएको छ। भारतको कुरा गर्दा गत महिनामा थोक मुद्रास्फीति र खुद्रा मुद्रास्फीति धेरै वर्षको उच्च स्तरमा पुगेको छ। वर्षौंपछि अप्रिलमा थोक मुद्रास्फीति १५ प्रतिशत नाघेको छ र नोभेम्बर १९९८ यताकै उच्च भएको छ। खुद्रा मुद्रास्फीति मे २०१४ पछि सबैभन्दा उच्च स्तरमा छ। अमेरिकामा खुद्रा मुद्रास्फीति अप्रिलमा थोरै घटेर ८.३ प्रतिशतमा पुगेको छ। तर, यो अझै दशककै उच्चमा छ। यसअघि मार्चमा अमेरिकामा मुद्रास्फीति दर ८.५ प्रतिशत थियो। जुन पछिल्लो ४१ वर्षयताकै उच्च थियो।

४. महँगो भयो कर्जा

मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरुले लगातार ब्याज दर बढाइरहेका छन्। अमेरिकामा फेडरल रिजर्भले आक्रामक रुपमा ब्याजदर बढाएको छ। फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले मंगलबार भने कि मुद्रास्फीति नियन्त्रणमा नआएसम्म ब्याज दर बढ्न जारी रहनेछ।

५. कच्च तेलको मूल्यमा उछाल

विगत केही महिनादेखि कच्चा तेलको मूल्यमा उछाल आइरहेको छ। अहिले प्रतिब्यारेल १०० डलरभन्दा माथि रहेको छ। ब्रेन्ट क्रुड ०१ प्रतिशतले बढेर प्रतिब्यारेल ११३.०८ डलर पुगेको छ। त्यस्तै वेस्ट टेक्सास इन्टरमिडिएट १.४ प्रतिशतले बढेर ११४.०२ डलर प्रति ब्यारेल पुगेको छ। 

युक्रेनमाथि आक्रमणपछि अमेरिका र अन्य युरोपेली देशहरुले कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकमध्ये एक रुसमाथि धेरै प्रतिबन्ध लगाएका छन्। जसमा रुसी तेल र ग्यासमाथिको प्रतिबन्ध समावेश छ। अप्रिलमा रुसको कच्चा तेल उत्पादन करिब ९ प्रतिशतले घटेको थियो। अर्कोतर्फ ओपेक राष्ट्रहरुले पनि तोकिएको मापदण्डभन्दा कम उत्पादन गरिरहेका छन्। महँगीले कच्चा तेलको आयातमा निर्भर विकासोन्मुख देशहरु मारमा परेको छ। –एजेन्सी