FLASH NEWS
  • Loading...

मौन अवधि सुरु, अाचारसंहिता विपरित सामाजिक संञ्जालबाट प्रचार राेकिएन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५९ पटक पढिएको
मौन अवधि सुरु, अाचारसंहिता विपरित सामाजिक संञ्जालबाट प्रचार राेकिएन

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला/गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत म्याग्दीमा भने मौन अवधिमा सामाजिक संञ्जालबाट मतदाता प्रभावित पार्ने गतिविधि राेकिएकाे छैन ।

आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, गोष्ठी गर्न पाइँदैन । मतदान स्थलको तीन सय मिटर वरिपरि राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न पाइने छैन । त्यस्तो सामग्री राखिएको भए मौन अवधि सुरु हुनुअघि हटाउन आयोगले निर्देशन दिएको छ ।

मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न/गराउन पाइने छैन ।

आयोगको निर्देशनअनुसार मतदानका दिन शुक्रबार राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन पाइने छैन । उम्मेदवारको पहिचान देखिने सांकेतिक पोसाक, वस्तु लगाउन, बोक्न र देखाउन पनि पाइँदैन । कुनै पनि सवारी प्रयोग गरी आउजाउ गर्न वा कसैलाई लैजान वा ल्याउन पाइने छैन । सात महिनाभन्दा बढीकी गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक जस्ता मतदाताका लागि भने निर्वाचन अधिकृतले अनुमति दिएको सवारी प्रयोग गर्न बाधा पुग्ने छैन ।

मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान पाइने छैन । नशालु पदार्थ, मादक पदार्थ सेवन गरेर मतदानमा जान पाइँदैन । मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झूटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्न वा गराउन नपाइने निर्देशिकामा उल्लेख छ । राजनीतिक दलहरूबाट आफ्नो प्रभाव बढाउन इतरमा मतदान हुन सक्ने आकलन गरेर मतदातालाई मतदान प्रक्रियामै अवरोध गर्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा निकायले सूक्ष्म निगरानी बढाएका छन् ।

मतदाता प्रभावित पार्न दल तथा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै संकेत अंकित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप भेस्ट, लोगो, म्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न रोक लगाइएको छ । मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित ट्याटु प्रदर्शन गर्न पाइने छैन । कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्रामलगायतका सञ्जाल प्रयोग गरी तथ्यहीन सामग्री सम्प्रेषण गर्न पनि नपाइने आयोगले जनाएको छ ।