FLASH NEWS
  • Loading...

आम्दानी घटेपछि ‘दूध चिया’ प्रतिबन्धित !

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४४ पटक पढिएको
आम्दानी घटेपछि ‘दूध चिया’ प्रतिबन्धित !

बैंकहरुले खर्च कटौतिका नयाँ–नयाँ उपाय खोजी हुन थालेका छन् । यो क्रममा कतिपय बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी तथा सेवाग्राहीलाई खुवाउने चियामा समेत कटौति गर्न थालेका भेटिएको छ । 

अधिकांश वाणिज्य बैंक तथा विकास बैंकहरुले खर्च कटौति गर्ने भन्दै आफ्ना कर्मचारीहरुलाई दैनिक उपलब्ध गराउने केही कप चियामा समेत लगाम लगाउन थालेका हुन् । सो क्रममा कालोचिया निश्चित कप मात्र उपलब्ध गराउने र दूध चिया दिन बन्द गर्ने क्रम तीव्र बनेको छ । 

बैंकरहरुका अनुसार अहिले स्वास्थ्यलाई पनि राम्रो नगर्ने भन्ने तर्क अगाडि सार्दै अधिकांश बैंक तथा वित्तीय संस्थामा ‘दूध चिया’ दिन बन्द गरिएको छ । कुनै कर्मचारीलाई दूध चिया नै पिउने बानी छ भने उसले आफैं दूध ल्याउनुपर्ने वा बाहिर गएर चिया पिउनुपर्ने बाध्यात्मक अवस्था बनेको छ । 
बैंकहरुले खर्च कटौति गर्ने नाममा दूध चिया नै किन बन्द गरे त ? दूध चिया बन्द गर्दा कति खर्च कटौति होला ?  दूध चिया कर्मचारीलाई दिन बन्द गरेका केही बैंकका सीइओहरुसँगको कुराकानीको क्रममा निकै रोचक तथ्य समेत आएको छ । 

झट्ट सुन्दा दूध चिया नदिंदा कति नै बचत होला र ? भन्ने जस्तो लागे पनि निकै ठूलो रकम दूध चिया वितरण नगर्दा बचत हुने देखिएको छ ।  

एक बैंकका अनुसार एक हजार कर्मचारी भएको बैंकमा केहीले दूध चिया खाँदैनन् भन्ने मान्यता राखी हिसाब गर्ने हो भने मासिक ३ लाख रुपैयाँभन्दा बढीको दूध किन्नु पर्दैन । यसरी हेर्दा पनि एकहजार कर्मचारी हुने एउटा बैंकले दूध चिया बनाउनका लागि आवश्यक दूध खरीदमा वार्षिक ४० लाख हाराहारीमा खर्च गर्ने गर्छ । 

एउटा सानो उदाहरण हेरौं । हाल नेपालका वाणिज्य बैंकहरुमा मात्रै ३७ हजार बढी कर्मचारी कार्यरत छन् । यसलाई सोलोडोलो हिसाब गर्ने हो भने केही प्रतिशत कर्मचारीले दूध चिया नखाए पनि बैंकहरुले दूध नकिन्ने हो भने वार्षिक १३ करोड रुपैयाँभन्दा बढी बचत गर्न सक्ने देखिन्छ । यसमा विकास बैंकका कर्मचारीहरुको हिसाब संलग्न छैन । 

यसरी हेर्दा नेपालका बैंक तथा वित्तीय संस्थाले एक वर्ष दूध चिया मात्रै पनि कर्मचारीलाई खुवाएनन् भने पनि वार्षिक २० करोडभन्दा बढी बचत गर्नसक्ने रोचक अवस्था देखिन्छ । तर, कतिपय बैंकर भने खर्च कटौतिका नाममा दूध चिया नै नदिने निर्णय ठीक नभएको दाबी गर्र्छन् । 

‘हामीले त दूध चियामा कटौति गरेका छैनौं ।’ गरिमा विकास बैंकका सीइओ गोविन्द ढकाल भन्छन्–‘ग्याष्ट्रिक हुन्छ भन्ने ठान्नेले दूध चिया नखानु एउटा कुरा होला, तर खान चाहनेलाई दूध चिया नै दिन नसक्ने अवस्थामा नेपालमा बैंकहरु पुगेका छैनन्/होइनन् ।’ 

दूध चिया कटौति गर्ने बैंकका सीइओ भने यसले स्वास्थ्य पनि सुधार्ने र केही पैसा पनि जोगिने भएकोले यो निर्णय ठीक भएको तर्क गर्छन् । *विजशालामा समाचार छ ।