FLASH NEWS
  • Loading...

म्याग्दीमा पुँजीगत खर्च निरासाजनक, खर्च गर्ने क्षमता वर्सेनी गुमाउँदै कर्मचारीतन्त्र

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१९ पटक पढिएको
म्याग्दीमा पुँजीगत खर्च निरासाजनक, खर्च गर्ने क्षमता वर्सेनी गुमाउँदै कर्मचारीतन्त्र

म्याग्दीमा पुँजीगत खर्च निरासाजनक देखिएकाे छ । संघ तथा प्रदेश सरकार अर्न्तगत म्याग्दीमा रहेका कार्यालयहरूले विनियोजित बजेटमध्य कर्मचारीतन्त्र खर्च गर्ने क्षमता गुमाउँदा पुँजीगत शिर्षकमा  खर्च हुन नसकेकाे हाे। न्यून बजेट पर्ने म्याग्दीमा अाएकाे बजेट समेत खर्च हुन नसक्दा जनतामा निरासा थपिएकाे छ । 
संघ तथा प्रदेश सरकार मातहतका कार्यालय र कार्यक्रमहरुको बजेट निकासा गर्ने अख्तियारी पाएको कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैत १५ गतेसम्म संघ तर्फका कार्यालयहरुको पुँजीगत खर्च १२ दशमलव ६७ प्रतिशत र प्रदेश तर्फका कार्यालयहरुको पुँजीगत खर्च २८ दशमलव २३ प्रतिशत मात्र खर्च भएको छ ।
चालु आवमा संघ तर्फको विभिन्न कार्यालय र कार्यक्रममा पुँजीगत बजेट ५३ करोड १६ लाख ९२ हजारमध्य जम्मा ६ करोड ७३ लाख ७० हजार (१२ दशमलव ६७ प्रतिशत) मात्र खर्च भएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारको पुँजीगत तर्फको कुल ६२ करोड ६८ लाख ५० हजार रुपैयाँमध्य १७ करोड ७० लाख ६ हजार २ सय ७५ (२८ दशमलव २३ प्रतिशत) रुपैयाँ खर्च भएको छ ।
‘संघ तथा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च निराशाजनक छ । तथ्याङ्कले सरकारहरु काम गर्न सक्ने क्षमता गुमाउँदै गएको देखाउँछ’ कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले भने, ‘स्थानीय तह निर्वाचन संघारमा रहेकोले काम गर्न सकिने अवस्था पनि छैन । काममा पनि र खर्च गर्ने स्वभावमा पनि असार मसान्त कुर्ने प्रवृती विस्तारै सरकारी निकायमा संस्कृति नै बन्ने जोखिम बढेको छ ।’
कोष नियन्त्रक शर्माका अनुसार संघ तर्फको पुँजीगत तर्फको ५३ करोडमधय सवैभन्दाबढी संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना एक्लैको ५० करोडबढी बजेट रहेको छ । तर यही आयोजना अर्न्तगत संञ्चालित विभिन्न खानेपानीका योजनाहरु समयमा संञ्चालन हुन नसक्दा भुक्तानी हुन नसकेको हो । बाँकी रकम नापी, कोलेनिका, प्रहरी, हुलाक समेतका कार्यालयको पुँजीगत बजेट हो ।
त्यस्तै, प्रदेश पुँजीगत तर्फको कुल ६२ करोड ६८ लाख ५० हजार रुपैयाँमध्य पूर्वाधार विकास कार्यालयको ३८ करोड ४२ लाख ३० हजार रुपैयाँ बजेट रहेको छ । सडक, पुल, झोलुङ्गे लगातए पूर्वाधार निर्माण कार्यक्रम संञ्चालन गर्ने पूर्वाधार कार्यालयले १२ करोड १९ लाख ४१ हजार (३२ प्रतिशत) खर्च गरेको छ ।
सामान्यतया दोस्रो चौमासिकसम्म पूँजीगत तर्फको कम्तीमा ४० प्रतिशत बजेट खर्च भैसक्नु पर्ने हो । तर संघ तथा प्रदेश अर्न्तगतका कार्यालयले चाडपर्व, चिसो र कोरोनाको कारण समयमा काम गर्न नसक्दा अपेक्षित बजेट खर्च हुन नसकेको बताएका छन ।
त्यस्तै, आन्तरिक आय र राजश्व बाँडफाँड बाहेक जिल्लाका ६ वटा पालिकाहरुको बजेट निकासा पनि न्यून देखिएको छ । मालिकाहरुमध्य चाचु आवको पछिल्लो ८ महिनामा बेनी नगरपालिकाको कुल ५० करोड ३१ लाखमध्य २६ करोड ८५ लाख ६४ हजार, मंगला गाउँपालिकाको ३१ करोड ९१ लाख १२ हजार बजेटमध्य १८ करोड १३ लाख मात्र बजेट पालिकाको खातामा निकासा गएको छ ।
संघ तथा प्रदेश तर्फबाट पालिका खातामा बजेट पठाउने कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आवको ८ महिनामा रघुगंगा गापाको ३२ करोड ८१ लाख ७१ हजारमभ्य १७ करोड ४३ लाख २९ हजार, अन्नपूर्ण गापाको ३२ करोड ४ लाख ६८ हजार बजेटमधय १८ करोड ६३ लाख ४२ हजार, धवलागिरी गापाको २९ करोड ९७ लाख ७८ हजारको बजेटमध्य १५ करोड ५० लाख ३४ हजार र मालिका गापाको ३३ करोड ३४ लाख २६ हजारमधय १६ करोड ४२ हजार २८ रुपैयाँ मात्र निकासा गएको छ । संघ तथा प्रदेश सरकार मार्फत पालिकामा आउने अनुदान रकममध्य पालिकाले खर्च गरेको क्षमताको आधारमा निकासा दिने चलन छ ।
‘गाउँपालिकामा भौतिक प्रगती ७० प्रतिशतबढी भएपनि आर्थिक प्रगती ४५ प्रतिशत सेरोफेरो छ । उपभोक्त समिति मार्फत गरिने कामको डोर हाँजिर, विलभरपाई मिलाउन समस्या भैरहेकोले वित्तिय प्रगति न्युन देखिएको हो’ रघुगंगा गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीले भने, ‘स्थानीय निर्वाचन संघारमा भएकोले पनि यस वर्ष पूर्वाधार निर्माण छिटो सक्नु पर्ने उपभोक्ता र जनप्रतिनिधीहरु सवै तिरबाट प्रेसर छ । काम गरिरहेका छौं । चैत मसान्तसम्म वित्तिय प्रगती ७० प्रतिशत नाघ्ने ठानेका छौं ।’