FLASH NEWS
  • Loading...

म्याग्दीमा निर्माण मजदुरले पाएनन कोरोना विरुद्धको खोप

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२१ पटक पढिएको
म्याग्दीमा निर्माण मजदुरले पाएनन कोरोना विरुद्धको खोप

त्रिवेणी गाउँपालिका, ५ का कुलबहादुर वली, मोहनलाल वली, अमर केसीसमेत १५ जना मजदुर एउटा टोलीे बेनी नगरपालिका, ६ डम्बराखण्डमा बेनी–दरवाङ सडक स्तरवृद्धी गर्ने काम गरिरहेका छन । बेनी–दरवाङ २४ किलोमिटर सडकको विभिन्न खण्डमा छुट्टाछुट्टै ठेकदार, नाईके मातहत मजदुरहरु काम गरिरहेका छन । ति मजदुरमध्य केहीले हालसम्म कोरोना विरुद्धको एउटै खोप पाएका छैनन । केहीले पहिलो डोज, सिमितले दोस्रो डोज पाएका छन । बुस्टर डोज त कसैले पनि पाएका छैनन ।
‘हामीले अहिलेसम्म कोरोनाको खोप पाएका छैनौं । हामी काम गर्ने मान्छे । ठेकदारले जता काम पाउँछन, त्यतै लैजान्छन । दिनभरी काम गऱ्यो, राती क्याम्प गयो घुप्लुक्क सुत्यो । खोप लगाउन नागरिकता चाहिन्छ रे, नागरिकता नभएकोले हामी पनि गएका छैनौं’ त्रिवेणी गाउँपालिका, ५ का कुलबहादुर वलीले भने, ‘दिनभरको काम रोकेर हामी गरिव मजदुरलाई खोप लगाउन कस्लै लैदिन्छ र ? निमेक छोडेर खोप लगाउन जाँउ, नयाँ हौं, खोप लगाउने ठाउँ पनि थाहा छैन ।’
बर्दियाका सोनु विक र दीपक परियार सदरमुकाम बेनीको कालीपुल स्थित कालीगण्डकी नदी किनारामा सदरमुकाम संरक्षण गर्न तटवन्ध निर्माणमा संलग्न छन । दुवै जनाले एक वर्ष अघि भारतको कर्नाटक राज्यको म्याङ्थुर भन्ने स्थानमा कोभिशिल्ड भ्याक्सीन लगाएका हुन । त्यसपछि कोरोना विरुद्धको कुनै खोप पाएका छैनन । यहाँ कम्तीमा २५ जना मजदुर कार्यरत छन । यीमध्य केहीले पहिलो र केहीले दुवै मात्रा खोप पाएका छन । वुस्टर डोज खोप यी मजदुरसम्म पुगेको छैन ।
‘भारतमा छँदा कम्पनीले नै खोप लगाई दिएको थियो । घर फर्केपछि खोप लगाउने मेसो परेको छैन । मजदुरी गरी खाने भएकोले कहिले कहाँ कहिले कहाँ पुग्नु पर्ने भएकोले पनि खोप लगाउने मेसो भएन । गाउँ छोडेर हिंडेपछि अर्काको ठाउँमा कस्ले खोप लगाई दिन्छ र ?’ भारतमा लगाएको खोप कार्ड साथमै बोकेका दीपक परियारले भने, ‘काम रोकिन्छ भनेर पनि ठेकदारले हामी मजदुरलाई खोप लगाउन लैजान्नन । सरकारले मजदुर खोज्दै खोप लगाउन आएको छैन ।’
कोभिड–१९ रोग विरुद्धको खोपको वितरण, रेकडिङ र रिपोटिङ प्रणाली पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन/युएनडिपीको सहयोगमा ‘कोभिड–१९ विधुतिय खोप प्रणाली’मा लागु गरिएको र कोरोना विरुद्धको खोप प्राप्त गर्न अनलाईनबाट पूर्वआवेदन (प्रि रजिष्ट्रेसन) फारम भर्नु पर्ने र अनलाईन फारम भर्दा नागरिकता नम्बर र सम्पर्क नम्बर अनिवार्य गरेकोले भारतिय तथा बाहिर जिल्लावाट आएका वा नागरिकता नभएका मदजुरबढी खोप पाउनबाट वन्चित छन ।
‘क्यूआर कोडसहितको अभिलेख राख्न बेनी नगरपालिका क्षेत्रमा कारोनाविरुद्धको खोप लगाउन नागरिकता र सम्पर्क नम्बर अनिवार्य छ । नागरिकता नभए उमेर खुल्ने परिचय पत्र अनिवार्य छ’ बेनी नगरपालिकाकी स्वास्थय संयोजक लिलादेवी गौतमले भनिन, ‘भारतीय समेत केही मजदुर क्षेत्रमा अनलाईन फारम भर्दा समस्या आएको छ । अहिले सम्बन्धीत आयोजना/योजनाले मजदुरको विवरण सहित सिफारिस गरेको आधारमा खोप लगाउने ब्यवस्था मिलाएका छौं ।’
बेनी–दरवाङ सडक र बेनी तटवन्ध निर्माणमा संलग्न मजदुरहरु मात्र होईन, बेनी–जोसमसोम सडक र अन्य ठूला पूर्वाधार निर्माणमा संलग्न मजदुरहरुले पनि कोरोना विरुद्धको पूर्ण खोप पाएका छैनन । केहीले खोप नै पाएका छैनन । आयोजनामा कार्यरत मजदुरहरु मात्र होईन बेनी क्षेत्रका औधोगिक क्षेत्रमा कार्यरत भारतिय मजदुरले पनि नागरिकता नभएको कारण खोप नपाएको गुनासा छन ।
‘नागरिकताको बाहनामा मजदुरहरुलाई कोरोना विरुद्धको खोप बाट वन्चित गरिएको छ । विभिन्न योजनाका निर्माण ब्यवसायीले पनि काममा प्रभाव पर्ने भन्दै मजदुरहरुलाई खोप लगाउने चासो नराख्ने गरेको भेटेका छौं’ जिफन्ट म्याग्दीकी अध्यक्ष वलदेवी बरुवाल राईले भनिन, ‘हामीले निर्माण खोप नपाएका मजदुरहरुको विवरण संकलन गरिरहेका छौं र ब्यवसायीलाई पनि सवै मदजुरलाई कोरोना विरुद्धको सवै मात्रा खोप अनिवार्य लगाउ दवाव दिईरहेका छौं ।’
अधिकांश मजदुरहरु आयोजना/योजनाका पेटीठेकदार/मजदुर नाईकेले निश्चित समयकालागी मात्र ल्याउने र काम सकेपछि अर्को साईटमा लैजाने भएकोले कोरोना विरुद्धको खोप लगाउने तालिका नमिल्दा मजदुरहरु छुटेको स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मीले बताएका छन ।
‘सडक, विधुत आयोजना समेत निर्माण क्षेत्रका मजदुरको उपस्थिती स्थीर नहुने रहेछ । उपलब्धताको आधारमा कोरोना विरुद्धको खोप तालिका बनाएर लगाईयो । एक चरणमा खोप लगाएका मजदुरलाई दोस्रो चरणमा खोप लगाउन जाँदा नपाईने । त्यसोहुँदा खोप छुट्ने भएको होला । तर पालिकाले आयोजनाबाट मजदुरको विवरण लिएरै खोप लगाउने गरेका छौं’ अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य संयोजक समुद्र बरुवालले भने, ‘पहिलो कोरोना विरुद्धको खोप तालिका अनुसार लगाईन्थ्यो, खोपको पनि नाम अनुसार लगाउनु पथ्र्यो त्यसैले समस्या थियो । अहिले आयोजना/योजनाबाट वा समुदायबाट माग अनुसार खोप लगाउने गरेका छौं ।’ संयोजक वरुवालले थपे, ‘हाम्रो पालिकामा धेरै जलविधुत र सडक आयोजनाहरु संञ्चालित भएकोले कम्पनीबाट विवरण मगाई सोही अनुसार स्वास्थ्य केन्द्रबाट खोप लगाउने ब्यवस्था मिलाएका छौं ।’