FLASH NEWS
  • Loading...

झुसिलकिरा प्रकोपले कृषक हैरान

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३५ पटक पढिएको
झुसिलकिरा प्रकोपले कृषक हैरान

मध्य पहाडी भेगका वस्तीका उत्तिस र गुराँसे जंगलमा झुसिलकिराको प्रकोप फैलिएपछि समस्या भएको छ ।
घाँसदाउरा, सोतर, सुकेका स्याउला संकलन गर्न जंगल पुगेका स्थानियको शरिरमा लार्भा अवस्थाको झुसिलकिराको भुवा परेपछि आँखा तथा शरिरमा चिलाउने, डाबर आउने, एलर्जी हुने गरेको स्थानियले बताए । झुसिलकिरा उत्तिस तथा गुराँसको रुखमा बढी फैलिने गरेका छन ।
झुसिल कीरा धेरै बर्ष अघिदेखी यो सिजनमा उत्तिस र गुराँसका रुखमा मात्र लाग्ने भएपनि पछिल्ला बर्षमा अन्य जातका बोटविरुवामा पनि लाग्न थालेको र मानव तथा पशुको स्वास्थ्यमा समेत विषालु र घातक रुपमा देखिन थालेको छ ।
‘वनजंगलमा मात्र होईन वस्ती नजिकका खोतवारीका खोल्साहरुमा पनि झुसिल कीरा फैलिएकोले घाँसदाउरा र खेतीकालागी दैनिक वन जानु पर्ने कृषक र गोठाला बढी प्रभावित छौं’ धवलागिरी गाउँपालकिा, ७ ताकमका गोपाल आचार्यले भने, ‘अघिल्ला बर्षको तुलनामा यो बर्ष झुसिलकिराको प्रकोप अधिक भएको छ । जंगलको सवै हरियो रुखविरुवा सखाप नै पारेका छन ।’
खुल्ला चरनमा गएका भेडाबाख्रा र तथा गाईगोरुले घाँससँगै झुसिलकिरा खाँदा पेट ढाडिने र शरिरमा विझेका झुसिल किराको भुवाले पशु चौपायको शरिर रातो हुने, सुन्निने र अन्त्यमा मर्ने गरेका छन । जिल्लाको प्राय: गाउँपालिका क्षेत्रका एक हजार दुई सयदेखी २ हजार दुई सय मिटर उचाई क्षेत्रको उत्तिस, गुराँस भएको जंगलमा लार्भा अवस्थाका झुसिलकिराको प्रकोप फैलिएको छ ।
‘उत्तिस र गुराँसको जंगलबाट फैलिएको झुसिलकिराको प्रकोप वस्तीसम्म पुगेको छ । झुसिलकिराको भुवा सल्किएर स्थानिय र पशुचौपाया घाईते भएका छन’ रघुगंगा गाउँपालिका, ७ चिमखोलाका सतदेवी पुनले भनिन, ‘दुई बर्ष अघि पनि यसरी नै फैलिएको झुसिलकीराको प्रकोपबाट चिमखोलामा २० भेडाबाख्रा र पाखापानीमा ५ वटा गाईगोरु मरेका थिए ।’
झुसिलकीराहरु समुह–समुहमा लाईन लागेर फैलिएका लार्भा अवस्थाका झुसिलकिराले उत्तिस र गुराँसको हरियो पात खाएर वन नै उजाड बनाउने गर्छन । लामो खडेरी पर्दा केही बर्ष यतादेखी झुसिलकिरा फैलन्छन । जंगलका हरियो पात आएर सखाप पारेपछि वस्तीतिर प्रवेश गर्न गरेका झुसिलकीराबाट चौपाया र गाउँले प्रभावित भएका हुन ।