आज:  | Fri, 01, Jul, 2022

‘पालिकामा एेनकानुन समेत संरचनात्मक जग बनाउनु उपलब्धि’

१२ फाल्गुन २०७८, बिहीबार २०:५४ मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

मालिका गाउँपालिका अध्यक्ष निर्वाचित हुँदा श्रीप्रसाद रोका २५ बर्षका र उपाध्यक्ष खरमायाँ विटालु ३२ बर्षकी ।
मगर समुदायका श्रीप्रसाद काँग्रेसबाट निर्वाचित भएका थिए । दलित समुदायकी खरमायाँ एमालेबाट निर्वाचित हुँदा आलाकाँचा जस्ता देखिएपनि ५ बर्षे कार्यकामा निक्कै परिपक्कता देखाए । दुई पार्टीबाट निर्वाचित भएपनि पालिकाको काममा मतान्तररहीत सँधै हल गोरु झै खटिएको स्थानीयले प्रशंसा नै गरेका छन । दुई पार्टीबाट विजयी भएका अध्यक्ष र उपाध्यक्ष विच कार्यक्रमका विषयमा कहिल्यै मतान्तर भएन । अध्यक्ष र उपाध्यक्षले कार्यक्रम बाँडेर बजेट निर्माण गरे । तर युवा नेतृत्व भएपनि जनअपेक्षा अनुरुप काम नभएको स्थानीयले गुनासा गर्ने गरेका छन ।


‘सिंहदरवार गाउँमा आयो भन्थे । अव सवै काम गाउँमै हुन्छ भन्थे तर त्यस्तो खासै भएको जस्तो लागेन । संस्कार उस्तै, कार्यालयको काममा उस्तै ढिलासुस्ती, अल्झन मात्र । नयाँ ब्यवस्था र सरकार आएपछि के के नै ह्वात्तै फेरिन्छ भन्ने, गरिवकालागी सँधै उस्तै भो, जुन सरकार आएपनि हुनेखानेका मात्र बने’ मालिका गापा, ६ उपल्लोदुखुका पूर्खजीत रोकाले गुनासो गरे, ‘नेता मात्र धेरै भए, गाडी चढे, हाईहुई गरे, तलवभत्ता मात्र खाए । गरिवका दु:ख जहाँको त्यहीं ।’
जनताका सवै आकांक्ष पुरा गर्न नसकेपनि पालिकालाई आवश्यक पर्ने दर्जनबढी ऐन, कानुन निर्माण गर्दै पालिकाको भौतिक, साँगठनिक तथा विधीको संरचनात्मक जग राख्ने काम भएको दावी गरे । पालिकालाई स्थानीय सरकार भने पनि देशकै नयाँ अभ्यास भएकोले पालिकाले प्रदान गर्ने धेरै काम र शैली भने परम्परागत रह्यो ।
‘जनताको आकांक्षा धेरै थिए । हामी युवा र अनुभवहीन थियौं । ब्यवस्था आफैमा नयाँ प्रयोग थियो । त्यसैले पहिलाको दुई वर्ष अलमलमै विते । विस्तारै अनुभव र अध्ययनले पालिकाको संरचनात्मक स्वरुपहरु वन्दै गए, जानीनजानी आवश्यक ऐन, कानुन बनायौं । अहिले एउटा जग वसालेका छौं’ मालिका गापा अध्यक्ष श्रीप्रसाद रोकाले भने, ‘हाम्रो चेतनास्तर, आर्थिक क्षमता, भौगोलिक विकटता, कानुनी सीमा, सूचनाप्रविधीको तिब्र विकास र राजनैतिक आन्दोलनले बाँडेका सपनाहरु विच तालमेल मिलाउनै हम्मे पऱ्यो । विभिन्न कठिनाई विच केही अवश्य गरेका छौं ।’
मालिका गाउँपालिकाले निर्वाहमुखी परम्परागत कृषी पेशा अपनाईरहेका कृषकलाई प्रविधी प्रयोग मार्फत ब्यवसायीक प्रयत्नको थालनी भएको, सवै वस्तीसम्मै कच्ची सडकको पहुँच, सवै घरमा खानेपानी र विजुली पुऱ्याईएको, मालिका धुरी समेत प्रमुख पर्यटकीय स्थहरु पहिचान र प्रर्वद्धन गराएको, ०४५ सालदेखी बन्द ओखरवोट स्थित तामाखानी पुन: संञ्चालन गर्न खानी तथा भुगर्भ विभाग माफर्त अध्ययन गराइ उत्खनन प्रकृयामा लगिनुुलाई मुख्य उपलब्ध मानेको छ ।
‘म महिला र दलित पनि भएकोले स्वभाविक रुपमा महिलाको अपेक्षा धेरै थिए । सोंचे जस्तो, भाषण गरे जस्तो सजिलो आफै कुर्चीमा बसेर काम गर्दा कहाँ सजिलो हुन्थ्यो र ? संघियता कार्यान्वयन चरण भएकोले जनप्रतिनिधी मात्र होईन, स्थाई सरकार मानिने कर्मचारीतन्त्र पनि अन्यौलग्रस्त थियो । अप्ठ्यारोका वावजुत हामीले केही गऱ्यौं भन्ने लाग्छ’ मालिका गापा उपाध्यक्ष खरमायाँ विटालुले थपिन, ‘पालिकाले पीछडिएका वर्ग र समुदायलाई तालिमगोष्ठीमा सिमित गरेनौं, ब्यवहारिक रुपमै उपभोक्ता समित, दलका समितिहरुमा सहभागिता बढायौं । अहिले हरेक काममा महिला तथा दलितको सहभागीता बढेको छ ।’
त्यति मात्र होईन, स्थानीय सरकार गठनपछि न्यायिक समिति मार्फत विभिन्न मुद्धाका खासगरी घरेलुहिंसाका पीडितले गाउँमै न्याय पाएको विषयलाई पनि उपलब्धी मानिएको छ । जिल्लामा पहिलो इजलास निर्माणगरी न्यायीक निरुपण थालेको मालिका गाउँपालिका न्यायिक समितिले ५ बर्षे कार्यकालमा १ सय ६२ थान मुद्धाको न्यायीक निरुपण गऱ्यो ।
‘पालिका उपाध्यक्ष निर्वाचितपछिका पाँच वर्षे कार्यकालमा मैले न्यायिक निरुपण गरेका कुनै पनि मुद्धामा पुनरावेदन भएन । त्यसैमा म सन्तुष्ट छु । कानुन अधिकृतको अभावमा पनि कानुनी साक्षरता, मध्यस्थता तालिम र कानुन ब्यवसायीसँग निरन्तर समन्वयबाट न्यायिक निरुपण गरें’ मालिका गापा उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘समितिमा दर्ता भएका मुद्धामा मध्यस्थता गर्न र प्रकृया पुरा गर्नुभन्दा ज्यादै धेरै अप्ठ्यारो र कठिनाई कानुनी शब्दको प्रयोग र भाषामा निर्णय लेख्नु र रह्यो ।’
पालिका उपाध्यक्ष विटालुले महिला र दलितका मुद्धालाई सम्बोधन गर्न परम्परागत पेशालाई यान्त्रीकरण गर्ने, ब्यवसायीक स्वरुपमा उकास्न प्रविधी तथा शिप प्रदान गरेको र महिलालाई लघुउद्यम मार्फत आयमुलक क्षेत्रमा जोडेको दावी गरेपनि स्थानीय भने टुक्रे योजना, तालिम गोष्ठीमा मात्र रमाउने गरेको आरोप लगाउने गरेका छन ।


‘उपाध्यक्ष महिला भएपनि महिलाका समस्यामा उत्ति उठाएको लागेन । बरु भत्ता आउने तालिम गोष्ठीमा धेरै ध्यान दिएको भेट्यौं । ठ्याक्कै आर्थिक लाभ लिएको नसुनिएको भएपनि सुविधाभोगी भएको देखियो । विकास भनेको वाटो मात्र हो भन्ने कुरा युवा जनप्रतिनिधीमा पनि उस्तै भए’ मालिका गापा, ६ दरवाङकी मनकुमारी पुनले भनिन, ‘सवैले अध्यक्ष र उपाध्यक्ष मिलेर कार्यक्रम बाँडेर आफ्नो अनुकुल बजेट चलाए भन्छन ।’

‘जनप्रतिनिधीले फाष्टट्रयाक खोज्ने र कर्मचारीले विधी खोज्दा विवाद हुने हो तर यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै युवा भैकन भद्र ब्यवहार भएकोले कहिल्यै अप्ठ्यारो महसुस भएन’ मालिका गापाका प्रमुख प्रशासकीय अधिकृत विष्ण पौडेलले भने, ‘यो चुनावी वर्ष हो । चुनावी वर्ष भएपनि यहाँ बजेट बनाउने र कार्यान्वयनमा पनि कुनै हानथाप भएको र प्रेसर सहनु परेको छैन । वरु हामीबाट नै जनअपेक्षा अनुसार काम गर्न सकिरहेका छैनौं ।’