आज:  | Thu, 30, Jun, 2022

पूर्वानुमानका सकस

१० फाल्गुन २०७८, मंगलवार १३:५९ मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

खराब मौसमबाट हुने नोक्सानलाई कम गर्न र राम्रो मौसमबाट फाइदा लिन भरपर्दो मौसम पूर्वानुमानको ठूलो भूमिका हुन्छ । हाल जल तथा मौसम विज्ञान विभागले गर्ने मौसम पूर्वानुमानमा धेरै सुधार भएको छ । तर यसलाई भरपर्दो, समय सान्दर्भिक बनाउन चुनौती छन् ।

हालको मौसम अवस्थाको आधारमा गणितीय समीकरणको संग्रह मौसम मोडल प्रयोग गरी भविष्यको पूर्वानुमान गरिन्छ । त्यसैले जति धेरै संख्यामा मौसम मापन गरिन्छ, मौसम पूर्वानुमान त्यति नै भरपर्दो हुन्छ । नराम्रो वा कम तथ्यांकले मौसम पूर्वानुमान पनि कम भरपर्दो हुन्छ ।

नेपालमा जल तथा मौसम विज्ञान विभागले लगभग ५ सयको हाराहारीमा विभिन्न प्रकारका म्यानुयल र स्वचालित मौसम मापन केन्द्र जडान गरेको छ । यी केन्द्रमा जडित यन्त्रले पृथ्वीसँग जोडिएको तल्लो वायुमण्डलका विभिन्न मौसम अवयवको मापन गर्दछ । त्यसैले यसलाई सतही मौसम मापन केन्द्र पनि भनिन्छ । यी मापन यन्त्र पनि विभिन्न किसिमका छन् । एउटा वर्षाको मापन, अर्को तापक्रम, आर्द्रता र वर्षाको मापन गर्ने हावापानी केन्द्र पनि छन् ।

आधारभूत मौसम पूर्वानुमान प्रयोग हुने सिनोप्टिक र हवाई मौसमका लागि एरो–सिनोप्टिक केन्द्रमा तापक्रम, हावाको गति र दिशा, वर्षादेखि वायुको चाप, बादल, पारदर्शिता आदि मौसम अवयवको मापन गरिन्छ । 

मौसम पूर्वानुमानमा वायुको चापको ठूलो महत्त्व हुन्छ । न्यून चापीय प्रणालीले खराब मौसम ल्याउँछ भने उच्च चापीय प्रणालीले सफा मौसम दिन्छ । मौसम पूर्वानुमानलाई भरपर्दो बनाउन मौसम अवलोकनमा भू–उपग्रह, राडार, चट्याङ मापन केन्द्र तथा उपल्लो वायुमण्डल मापन गर्ने रेडियोसोन्ड केन्द्र पनि प्रयोग गरिन्छ । भरपर्दो मौसम पूर्वानुमान गर्न नेपालको मात्रै तथ्यांक भएर हुँदैन ।

विश्वव्यापी मौसम प्रणालीले नेपालको मौसमलाई असर गरिरहेको हुन्छ, त्यसैले तथ्यांक पनि त्यही किसिमको चाहिन्छ । नेपालको मौसम पूर्वानुमानको स्तर विश्वव्यापी र क्षेत्रीय तथ्यांकहरूको उपलब्धमा पनि भर पर्छ ।

 
 
 

तुलनात्मक रूपमा हाम्रोमा वर्षा मापन यन्त्र चार सयभन्दा बढी छन् । पहाडी भूगोलका कारण नेपालमा धेरै स्थानिक विविधता हुन्छ र वर्षा पर्ने दर पनि फरक–फरक हुन्छ । पहाडी क्षेत्र भएका मुलुकमा यस्ता मापन यन्त्र जति धेरै भए त्यति राम्रो आकलन गर्न सहयोग हुन्छ । 

तापक्रमको अवस्थामा केही थाहा पाउन सजिलो हुन्छ । वर्षा गराउने प्रणालीको प्रक्रिया अलि जटिल हुन्छ । सबै बादलले पानी पार्दैन । वर्षात्को प्रणाली र प्रक्रियामा नन–लिनियर विशेषता हुन्छ । तापक्रममा चाहिँ केही हदसम्म लिनियर विशेषता हुन्छ । यो धेरै हदमा अक्षांश र उचाइमा भर पर्छ । ३ हजार मिटरभन्दा माथिका स्थानमा मौसम अवलोकन निकै कम छ । यो नेपालको मात्र नभई विश्वव्यापी मौसम पूर्वानुमानका लागि महत्त्वपूर्ण चुनौती हो ।

नेपालको सिधा माथिको वायुमण्डलमा हावाको आर्द्रता, अवस्था, वायुको अवस्था/गति के छ भन्ने मापन भएको थिएन । सन् २०१९ देखि मात्रै अवलोकन गर्न थालिएको छ । कीर्तिपुरको रेडियोसेन्ड केन्द्रबाट दैनिक एक पटक बेलुन उडाएर तथ्यांक लिन्छौं । नेपालभरमा एक ठाउँमा मात्रै यसको तथ्यांक संकलन हुन्छ । निकै महँगो भएकाले अरू ठाउँमा यसको अध्ययन गर्न सम्भव भइरहेको छैन । अब्जर्भेसन ग्यापले गर्दा पनि मौसम पूर्वानुमान गर्दागर्दा हाम्रोमा गाह्रो भइरहेको छ ।

अर्को चुनौती भनेको मौसम अवयवहरूको विशेषता र अन्तरसम्बन्ध नन–लिनियर हुन्छ र पूर्वानुमानको समयसीमासँगै पूर्वानुमानको त्रुटि पनि बढ्दै जाने यसको विशेषता हुन्छ । त्यसैले मौसम पूर्वानुमान गर्दा जति लामो समयको आकलन गरिन्छ, त्यति नै एक्युरेसी घट्दै जान्छ । त्यसैले हाल नेपालमा नियमित रूपमा केही घण्टादेखि तीन दिनसम्मको मौसम पूर्वानुमान, साप्ताहिक गुणात्मक मौसम पूर्वानुमान र मनसुन तथा हिउँदको ऋतुगत पूर्वानुमान गरिन्छ ।

युरोप र अमेरिकामा मौसम र जलवायुका विविध पक्षको अध्ययन/अनुसन्धान भएका छन् । त्यसैले त्यहाँको मौसम पूर्वानुमान गर्ने मोडलले त्यहाँको मौसम विविधतालाई समेटेको हुन्छ । अर्थात्, मौसम पूर्वानुमान मोडल त्यस स्थानको लागि क्यालिब्रट र भेरिफाइ गरेको हुन्छ । त्यसैले ती देशमा भरपर्दो मात्रात्मक मौसम पूर्वानुमान हुन्छ र तीन–चार हप्तासम्मको मात्रात्मक र गुणात्मक साप्ताहिक मौसम पूर्वानुमान गरिन्छ । तर नेपालको सन्दर्भमा मौसमी विविधताको धेरै अध्ययन गर्न बाँकी छ ।

हामी अहिले नियमित रूपमा वर्षा र तापक्रमको पूर्वानुमान मात्र गर्छौं । तर, विकसित देशमा अरू मौसम प्रणाली (कुहिरो, हावाहुरी, असिना, घुम्रपात (टोर्नेडो), चक्रवात, चिसो लहर, तातोलहर, सुख्खा, अतिवृष्टी) को पनि पूर्वानुमान गरिन्छ । यसका लागि विभिन्न किसिमको मौसम प्रणालीका लागि फरकफरक मौसम मोडल प्रयोग गर्नुपर्ने हुन्छ । यी प्रणाली विकसित गर्ने मौसमका कारण उत्तरी अमेरिकामा भन्दा नेपालमा फरक हुन सक्छ । नेपालमा मुख्यतया वर्षा मनसुनी प्रणालीले गराउँछ भने अमेरिकामा फ्रन्टल सिस्टमले गराउँछ । त्यसैले यसका लागि नेपालमा मौसम प्रणालीको डाइनामिक्सको अध्ययन अनुसन्धान गरी सोहीअनुसारको मोडल क्यालिब्रेसन र विकास गर्न जरुरी छ । नेपालमा अहिले एकै किसिमको मोडल मात्र प्रयोग गर्छौं ।

मौसम पूर्वानुमानको एक्युरेसी कस्तो प्रकारको मौसम प्रणाली हो भन्ने कुरामा पनि सम्बन्ध छ । ठूलो क्षेत्रफलको मौसमी प्रणाली हो भने मोडलहरूले क्याप्चर गर्छ । अवलोकनमा भएको ग्याप मिलाउन पनि सजिलो हुन्छ तर स्थानीय स्तर वा सानो क्षेत्रफलको मौसम प्रणाली अनुमान गर्न गाह्रो हुन्छ । त्यही भएर प्रि–मनसुन र पोस्ट मनसुनमा कतिपय पूर्वानुमान नमिल्न पनि सक्छन् । मनसुन तथा हिउँदमा धेरै हदसम्म पूर्वानुमान मिल्छ । तर, जहाँ स्थानीय वायुको अवस्थाले भूमिका खेल्न थाल्छन् तब चुनौती थपिन्छन् ।

जलवायुको अध्ययन मौसम घण्टा–घण्टामा, दैनिक रूपमा परिवर्तन भइरहने वायुमण्डलीय अवस्था हो भने जलवायु भन्नाले कुनै पनि स्थानको औसत (कम्तीमा ३० वर्षको) वायुमण्डलीय अवस्था हो । त्यसैले भविष्यमा हुने मौसमी अवस्थाको आकलन गर्नेलाई मौसम पूर्वानुमान भनिन्छ । जलवायुको आकलन गर्नेलाई जलवायु प्रक्षेपण भनिन्छ ।

नेपालको विगतको तापक्रमको अवस्था हेर्दा देशभर तापक्रम बढिरहेको संकेत दिन्छ । अधिकतम तापक्रम (दिउँसो) बढ्ने दरमा वृद्धि भइरहेको छ । सन् १९७१ देखि २०१४ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा अधिकतम तापक्रम वृद्धिदर वार्षिक रूपमा ०.०५६ डिग्री सेल्सियसले बढ्दै गएको देखिन्छ । यो अवस्था तराईभन्दा उच्च हिमाली क्षेत्रमा धेरै छ । हिमनदी पग्लनु, हिमतालको क्षेत्रफल बढ्नुलाई पनि तापक्रम वृद्धिको संकेत र असरका रूपमा लिन सकिन्छ ।

हरित गृह ग्यासका कारण तापक्रम बढाइदिएको छ र त्यो सिधै देखिन्छ । अत्यधिक वर्षा हुने घटना पहिला नभएको ठाउँमा बढेको छ । जस्तैः पहिला हामीले सुन्दा पूर्वतिर बाढीले धेरै नोक्सान गरेको सुनिन्थ्यो, पश्चिमतिर कम हुन्थ्यो । अहिले बाढीबाट धेरै नोक्सान पश्चिमतिर देखिन थालेको छ । यस्ता जटिल मौसम परिस्थतिका लागि तयार हुन र क्षति न्यूनीकरण गर्न भर पर्दो मौसम पूर्वानुमानको ठूलो महत्त्व र आवश्यकता हुन्छ ।

जलवायु परिवर्तन भइरहेको छ र नेपालले पनि हरेक वर्ष धेरै नोक्सान व्यहोर्नुपरेको छ । तर यी विषम मानव सिर्जित जलवायु परिवर्तनका कारणले हो भनेर यकिन गर्न ‘क्लाइमेट चेन्ज एट्रिब्युसन’ विश्लेषण गर्न आवश्यक छ । यसका लागि राष्ट्रले लगानी गर्नुपर्छ ।