FLASH NEWS
  • Loading...

नक्कली नोटको विगविगी, नक्कली नोटसहित चारजना पक्राउ

  • पुनहिल डट कम
  • २ साल अघि
  • २८२ पटक पढिएको
नक्कली नोटको विगविगी, नक्कली नोटसहित चारजना पक्राउ

नेपालको अर्थतन्त्रलाई डामाडोल पार्ने गरी नक्कली नोटको विगविगी बढेको छ । काठमाडौं लगायतका मूख्य शहरमा नक्कली नोटहरु भेटिन थालेका छन् ।

यही क्रममा काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार नक्कली नोट लिएर बजारमा हिडिरहेका चार जनालाई पक्राउ गरिएको हो । एसपी कोइरालाका अनुसार काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको हो । उनीहरुलाई नक्कली नोटको कारोबार गरेको आरोपमा कानुनी कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नक्कली नोटको कारोबार गर्ने, उत्पादन गर्नेलाई कडा कारबाहीको व्यवस्था कानुनमा गरिएको छ । मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा २५६ मा खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसअघि प्रहरीले यस ऐनअन्तर्गत कारबाही चलाउँदै आएको छ । *अन्य अनलाइनबाट