आज:  | Tue, 05, Jul, 2022

मानिसको टाउको र खुट्टा जेब्रा झोलाभित्र भेटियो

५ फाल्गुन २०७८, बिहीबार ११:२० मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

सुनसरीको धरान उपमहानगरपालिकामा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । बुधबार दिउँसो धरान–४ नौकिलोस्थित धरान–भेडेटार सडक खण्डनजिक मानिसको टाउको र खुट्टा भेटिएको हो ।

खुट्टा र टाउको भेटिए पनि शरीर फेला परेको छैन । हत्या गरेर पुरुषको शवको टाउको र खुट्टा झोलाभित्र हालेर फ्यालेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार विभिन्न कोणबाट घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय धरानले गरिरहेको छ । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको प्रयोग पनि गरिएको छ ।

टाउको र खुट्टा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुसन्धान थालिएको उनको भनाइ छ । स्थानीय खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जङ्गल गएका बेला जेब्रा झोलाभित्र खुट्टा र टाउको देखेर प्रहरीलाई खबर गरेका हुन् ।

शव भेटिएका मानिसको उमेर करिब ४० देखि ४२ वर्ष भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थल धरान–१३ को जिरोपोइन्टबाट लगभग ९ किलोमिटर उत्तरमा पर्छ ।