आज:  | Sat, 02, Jul, 2022

कामदारदेखी मालिकसम्म–२

२ फाल्गुन २०७८, सोमबार १७:१८ मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउँछ । सपना देख्नेहरु कहिल्यै थाक्दैनन, निरन्तर कर्म गरिरहन्छन । तिनै भुईमान्छे मध्य एक हुन, राजन लामा ।
भाँडा धुने मजदुरका रुपमा  अाएका लामा म्याग्दीमा आ–आफ्नो क्षेत्रका कहलियका होटल ब्यवसायी बनेका छन । म्याग्दी सदरमुकाम बेनीमा मासिक एक लाख ७० हजार भाडा तिरेर ‘लामा रेष्टुरेन्ट एण्ड भान्सा घर’ र छुट्टै ‘लामा कुदाप लज एण्ड रेष्टुरेन्ट’ संञ्चालन गर्ने राजन लामाको होटल रेष्टुरेन्टमा नेपाली, इण्डियन र कन्टिनेन्टल खानाकालागी लोकप्रिय छ ।

लजमा ३० जना पाहुना बास बस्न सक्छन । ३० जनाले एक साथ खाना सक्छन । रेष्टुरेन्टमा ७० जनाले एकसाथ खाना/खाजा खान सक्छन । होटल र रेष्टुरेन्ट पनि फरक र आर्कषक शैलीमा सजाएका छन । ग्राहकले शान्त वातावरण र फरक लुक्स पाउँछन । घडेरी खरिद गरिसके अर्को होटल पनि थप्ने तयारीमा छन, राजन । होटल मजदुरको रुपमा १६ बर्ष अघि ०६२ सालमा राजन बेनी भित्रिएका हुन । अहिले उनी मजदुरबाट सफल होटल ब्यवसायी बन्न सफल भएका छन ।


नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, ३ मझुवाका राजन लामा घरको आर्थिक अवस्था कमजोर भएपछि कक्षा ८ पढ्दै घरबाट भागेर काठमाण्डौ झरेका थिए । काठमाण्डौमा एक बर्ष होटलमा भाँडा धोएपछि अझ राम्रो कामको खोजीमा ०५९ जेठ १५ गते काठमाण्डौबाट बाग्लुङ हानिए । बाग्लुङमा तीन वर्ष भाँडाधुने, खाना पकाउने र होटल सरसफाई गर्ने मजदुरी गरे । त्यसपछि ०६२ असारमा बाग्लुङबाट बेनी पुगे । र बेनी स्थित होटल डल्फिनमा मजदुरी सुरु गरे । होटलमा पनि भाँडा माझ्ने, कोठा सफा गर्ने, खाना पकाउने सवै काम गर्थे । होटल संञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी श्रेष्ठले लामाको काम र मेहिनतबाट प्रभावित थिए ।
यही होटल डल्फिन नै लामाको जीवनमा टनिङ पोईन्ट बन्यो । श्रेष्ठ दम्पत्तिले लामालाई विहान–बेलुका होटलको काम हेर्नेगरी नजिकको प्रकाश माध्यामिक विद्यालयमा भर्ना गरिदिए । त्यहींबाट एसएलसी र कक्षा ब्यवस्थापन विषयमा १२ सम्मको अध्ययन पुरा गरे । लामाले यही होटल डल्फिनमा काम गर्दै सारिका थापा मगरसँग प्रेमपछि विवाह गरे । डल्फिन हाेटलले लामाकाे धुमधामसँग विवाह गरिदियो ।
लामाले होटल डल्फिनमा मजदुरी मात्र गरेनन, सफल हुन काममा सर्मपण हुनु पर्छ भन्ने बुझे । भान्सा ब्यवस्थापन, अतिथि सत्कार र कर्मचारी ब्यवस्थापनको सीप आर्जे । १६ बर्ष अघि होटल मजदुरको रुपमा बेनी भित्रिउका राजन अहिले आधुनिक होटल र रेष्टुरेन्टका सफल ब्यवसायी बनेका छन । कुनै काम सानो वा ठूलो हुँदैन भन्ने बुझेका राजनले अहिले कर्मको फल टिपिरहेका छन । ब्यवसाय राम्रो चलेको छ । कमाई राम्रै छ ।

‘डल्फिन होटल र नानुकुमारी श्रेष्ठले कर्मसँगै भाग्य दिनु भयो । त्यहाँ मैले पाहुनाको सत्कार गर्न सिकें । निरन्तर लगनशिल, इमान्दारी र धर्य भै कर्म गर्न सिकायो’ राजन लामाले भने, ‘जीवनमा प्रगति गर्न शिक्षा चाहिन्छ । अझ पढेर भन्दा परेर सिकिने रहेछ । सिक्ने इच्छाशक्ति र लगनशिलता आवशयक रहेछ ।’ लामाले थपे, ‘ब्यवसायमा निरन्तर खटन नै महत्वपूर्ण छ । काम ठूलो सानो हुँदैन । ठुलो नाक गरेर ब्यवसाय चल्दैन ।’
जीवन संघर्षलाई नजिकबाट चिनेका राजन म्याग्दीमा मिहिनत गरे कुनै पनि ब्यवसायमा सफल भइन्छ भन्ने राम्रो प्रेरणाका श्रोत बनेका छन । यहाँका सञ्चार माध्यमहरुमा विज्ञापन बज्छन, छापिन्छन, ‘स्वदेशमै केही गर्छु भन्ने लाग्छ भने एक पटक लामा रेष्टुरेन्ट हेर्न र राजनलाई भेट ।’