आज:  | Tue, 05, Jul, 2022

कमल थापाले ब्युँताए राप्रपा नेपाल

१ फाल्गुन २०७८, आईतवार १४:३२ मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन्। 

थापाले आफ्नै नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरेका हुन्। यसअघि राप्रपासँग एकीकरण गर्दा पनि उनी राप्रपा नेपालको अध्यक्ष थिए।

“देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौं,” थापाले भने।

थापाले ७ फागुनमा काठमाडौंमा कार्यक्रम गरी राप्रपा नेपालको घोषणा गर्ने बताए। उनले भने, “केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौं। यस कार्यलाई सम्भव तुल्याई दिनुहुने तथा अन्तरिम र संक्रमणकालिन अवस्थामा राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न महत्त्वपूर्ण योगदान दिनुहुने राप्रपा नेपालका नेता लाक्पा तामाङप्रति म हार्दिक आभार व्यक्त गर्दछु।”

उनले २३ माघमा राप्रपा छाडेको घोषणा गरेका थिए। त्यससँगै उनले नयाँ पार्टी खोल्ने तयारीमा जुटेका थिए।