- Loading...
प्रचण्ड र माधव नेपाल : दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले !
- पुनहिल डट कम
- ३ साल अघि
- ३५२ पटक पढिएको

हुन त शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई गुण र दोषको तुलोमा सँगसँगै राखेर जोख्ने हो भने नतिजामा खासै अन्तर नदेखिएला । तर व्यवहार, कार्यशैली र धरातलका पछिल्ला मापनमा देउवा र ओलीको भन्दा प्रचण्ड र नेपालको ओज घटेको देखिन्छ ।
प्रचण्ड : के सोचेँ मैले, के भयाे अहिले !
‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन’, प्रचण्डको चरित्रलाई सङ्केत गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेको टिप्पणी हो यो ।
प्रचण्डको असली चरित्र एउटै थालमा खाएर र एउटै ओछ्याउनमा सुतेर वर्षाैँसम्म सहयात्रा गरेका बाबुरामलाई जति अरू कसलाई पो थाहा होला र ! पछिल्लो पटक एमसीसी प्रकरणमा देखाएको द्वैध चरित्र सार्वजनिक भएपछि त प्रचण्डको भनाइ र गराइमा कतिसम्म फरक छ भन्ने कुरा भट्टराईबाहेक अरूलाई पनि घामजत्तिकै छर्लङ्ग भइसकेको छ ।
त्यसो त प्रचण्डको असली चरित्र देखाउने यो पछिल्लो प्रमाण मात्रै हो । शक्तिखोरको भिडियो सार्वजनिक भएपछि उनको दाहोरो चरित्र र विश्वसनीयता स्खलन हुन थालेको थियो । योभन्दा अघिका थुप्रै अभिव्यक्ति र व्यवहारले पार्टीभित्र र बाहिरसमेत प्रचण्डप्रतिको विश्वास घट्दै आएको छ । शान्ति प्रक्रियामा आएपछि कुशल रणनीतिकार मानिने प्रचण्ड केही वर्षदेखि बोलीको ठेगान नभएका नेताका रूपमा चिनिन थालेका छन् ।
पहिलो पटक प्रधानमन्त्री भएका बेला प्रधानसेनापति रुकमाङ्गद कटवाललाई खुल्ला मञ्चबाटै ‘को हो त्यो’ भनेर चुनौती दिए । पछि सेनापति र पशुपतिको पुजारी हटाउने निर्णय आफ्नो गलत काम भएको भन्दै पश्चाताप गरे । बोल्ने र विवादमा पर्ने प्रचण्डको चरित्रलाई कतिपयले कमजोरीको रूपमा बुझ्छन् भने प्रचण्ड चाहिँ यसलाई आफ्नो विशेषता ठान्छन् । संविधान सभाको चुनाव हुनु पहिले नै माओवादी सेना र हतियारको विषयमा बोलिएको शक्तिखोरको भाषणको भिडिओ सार्वजनिक भएदेखि प्रचण्डप्रतिको आमधारणा फरक हुन थालेको हो ।
पटक–पटकको विवादित अभिव्यक्ति र कामले प्रचण्डले विश्वसनीयता गुमाउँदै गएका छन् । पछिल्लो पटक अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा दोहोरो भूमिका खेलेको खुलासा भएपछि त प्रचण्डको बचेखुचेको साख झनै घटेको छ । प्रचण्ड अहिले पनि नेता र कार्यकर्तासँगको भेटमा एमसीसी संशोधन नगरि संसदबाट अनुमोदन हुनै सक्दैन भन्छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी मुख्यालयलाई लेखेको पत्रमा भने प्रचण्डले एमसीसी अनुमोदनको प्रतिबद्धता जनाएका छन् । प्रचण्डको दोहोरो चरित्र सार्वजनिक भएलगत्तै उनको सचिवालयले प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि मात्र पत्र लेखिएको भन्दै बचाउ गर्न खोजेको छ । तर यो विज्ञप्तिमा प्रचण्डको दोहोरो चरित्र झनै छताछुल्ल भएको छ । इमानदार भए प्रचण्डले विना ढाकछोप एमसीसी पास गर्नुपर्छ भन्नु पर्थ्याे, तर त्यसो भन्न प्रचण्डको दोधारे बोली र चरित्रले अहिले पनि दिएन ।
आफ्नो ‘हाइट’ आफैँ घटाउने गरी पटक–पटक प्रचण्डका विवादित अभिव्यक्ति किन सार्वजनिक भइरहेका छन् त ? एउटा कारण त मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवदेखि रामबहादुर थापा बादलसम्म जनयुद्धका सहयात्री नेताहरू आफूसँग नहुँदाको छटपटी पहिलेदेखि नै छँदैछ । अर्को माधव नेपाललगायतका गठबन्धनका नेताहरूको साथमा परैसम्म पुग्छु भन्ने पछिल्लो विश्वास पनि धरमराउन थालेको छ । आउँदो चुनावमा गठबन्धन नहुने हो भने पार्टीले सजिलै जित्ने ठाउँ पहिल्याउनै प्रचण्डलाई सकस छ । माओवादी केन्द्रसँग रुकुम, रोल्पा, कालीकोट, जाजरकोट जस्ता केही जिल्ला छोडेर एक्लै चुनाव जित्न पुग्ने स्थानीय सङ्गठन छैन । त्यसैले आउँदो चुनावको सम्भावित परिणामले प्रचण्डलाई भित्रभित्रै अत्याएको छ । केही निजी स्वभाव, व्यापारिक पृष्ठभूमिका व्यक्तिसँगको उठबस र युद्धमा गरिबका छोरा मारेको अपशाेस अपराधबोधले पनि प्रचण्डभित्र पीडा, कुण्ठा, निराशा, उग्रता र आक्रोश मडारिएको पाइन्छ । यी सबै कारण प्रचण्डका अभिव्यक्ति र कार्यशैली एकपछि अर्को विवादित भइरहेका छन् । एमसीसी प्रकरण त पछिल्लो उदाहरण मात्रै हो । प्रचण्ड भविष्यमा यस्ता समस्यामा झन् जेलिँदै जानेछन् । किनकि, अब प्रचण्डलाई न त ओली र देउवाले विश्वास गर्छन्, न त अमेरिका, चीन र भारतले नै । यो कुराको बोधले प्रचण्डलाई झन्–झन् अविश्वसनीय र दोधारे बनाउँदै लैजानेछ ।
कुण्ठैकुण्ठाको कुण्डमा माधव नेपाल
केपी ओलीको मेख मार्ने एउटै मात्र उद्देश्य बोकेर हिँडेका माधव नेपाललाई आफ्नो ‘हाइट’ कतिसम्म रहेछ भन्ने हिजो मात्रै थाहा भयो होला । एमसीसी सम्झौताबारे अमेरिकालाई पठाएको प्रतिबद्धता पत्र सार्वजनिक भएलगत्तै हिजो प्रधानमन्त्री देउवाले ओली र प्रचण्डलाई बालुवाटार बोलाए । यसअघि प्रचण्ड बालुवाटार जाँदा नेपाल पनि सँगै हुन्थे । आफू मुख्य दलको शीर्ष नेताभित्रै पर्छु र त्यसमा पनि ओलीको भन्दा बढ्ता महत्त्व आफ्नै छ भन्ने नेपाललाई लाग्थ्यो । तर एमसीसी, स्थानीय चुनाव लगायतका अरू समसामयिक विषयमा हुने छलफलमा माधव नेपालको उपस्थिति आवश्यक छैन भन्ने देउवाले पनि बुझिसके । हुन त माधव नेपाल भएको ठाउँमा ओली आउँदैनन् भनेर हिजोको बैठकमा देउवाले नबोलाएको हुन सक्छ । तर कारण त्यो मात्रै होइन, अहिलेका सबै राजनीतिक घटनाक्रमहरू देउवा, ओली र प्रचण्डकै वरपर घुमिरहेका छन् । यो ‘रिङ’ मा माधव नेपाल नसमेटिँदा पनि फरक पर्दैन । पछिल्लो पटक फेरिँदो घटनाक्रमबाट माधव नेपालले पनि यो कुरा छर्लङ्ग बुझेको हुनुपर्छ ।
माधव नेपाललाई नजिकबाट बुझेका सबैलाई थाहा छ, माधव नेपाल मान र पद भनेपछि हुरुक्कै हुने नेता हुन् । यसअघि दुई ठाउँबाट चुनाव हार्दासमेत सांसदबाट प्रधानमन्त्री बनेको र महाधिवेशनमा हार्दासमेत प्रचण्डकै हाराहारीको अध्यक्ष बन्न खोजेकोबाट त हरेक नागरिकले उनको पदप्रतिको आशक्तिलाई यसअघि नै बुझिसकेका हुन् ।
यही लोभ र आशक्तिले उनलाई अस्थिर बनायो । एमालेमा पनि उनी वरिष्ठ नेता नै थिए, माओवादीसँग एकता भएपछि पनि उनी त्यही वरिष्ठ पदमा कायम रहेकै थिए । ओलीका कमी–कमजोरी त पहिले एमालेमा हुँदा पनि देखिएको थियो । खटपट त उतिबेला पनि थियो । ओलीको व्यवहारले प्रचण्डलाई जस्तै नेपाललाई चित्त नबुझ्नु स्वाभाविक नै थियो तर प्रचण्डको लहलहैमा लागेर ओलीलाई कमजोर पार्न माधव नेपाल आफैँले बनाएको एमालेकै जग हल्लाउन थालेपछि कुरा जटिल भयो ।
यसअघि १५ वर्षसम्म पार्टीको नेतृत्व गरेर पनि एमालेलाई बलियो बनाउन नसकेको आरोप नेपालको टाउकोमा छँदै थियो । त्यसको अन्तिम रूप २०६४ सालको चुनावको नतिजाले पनि देखाएकै हो । पार्टीलाई उकास्न सकिएन भनेर उनले नैतिकताका आधारमा राजीनामा पनि दिएका थिए । त्यतिबेला उनले पार्टी नेता, कार्यकर्ताबाट टन्नै सहानुभूति पनि पाएका थिए । तर त्यो नैतिकता र सहानुभूतिलाई उनले टिकाउन सकेनन् । उनको समर्थनमा रहेका नेता, कार्यकर्ताले बिस्तारै छाड्न थाले । पार्टीभित्र सधैँ कचकच गरिरहने, आफ्नै समूहमा रहेका कार्यकर्ता र तल्लो तहका नेतालाई नचिन्ने, छुद्र वचन लाएर कार्यकर्तालाई चिढ्याउने, विदेश भ्रमण भनेपछि मरिहत्ते गर्ने नेता भनेर उनीमाथि आरोप लागिरहेकै हो । ‘होली वाइन’ प्रकरणले त उनलाई झन् तल गिरायो ।
एमालेभित्रै बसेर आफ्नो ‘हाइट’ बढाउने अवसर हुँदाहुँदै पनि उनले अध्यक्ष बन्नकै लागि अर्को पार्टी खोले । कांग्रेस र माओवादीले टेको छाड्नेबित्तिकै आफू उभिएको ठाउँ परालको कुन्यु झैँ गर्ल्यामगुर्लुम ढल्छ भन्ने उनलाई राम्रोसँग थाहा छ । त्यसैले गठबन्धनमा देउवाले भाउ दिन छाडे पनि कुण्ठा पोख्नुबाहेक अब नेपालसित विकल्पहरू सकिँदै गएका छन् ।
* याे समाचार टिप्पणी हामीले अनलाइर्न खवरबाट साभारगरी लिएका हाैं । – सम्पादक

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
