FLASH NEWS
  • Loading...

ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७२ पटक पढिएको
ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ?

खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरिअन्टहरूभन्दा सङ्क्रामक छ।

सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुने सम्भावना भने नाटकीय रूपमा कम देखिएको छ।

दुई मात्राको खोप लगाएका र बूस्टर मात्रा खोप लगाएका व्यक्तिहरूमा यो सङ्क्रमण भए पनि अस्पताल भर्ना हुने सम्भावना कम रहेको प्रमाण छन्। यसले अमेरिका र युकेसहित धेरै देशहरूलाई सङ्क्रमितहरू एकान्तवास बस्ने समय छोट्याएर पाँच दिन राख्न प्रेरित गरेको छ।

तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ओमिक्रोनसँग निर्धक्क नहुन चेतावनी दिएको छ। उसले खोप नलगाएका मानिसहरूमा यो भेरिअन्ट अझै पनि घातक रहेको बताएको छ।

ओमिक्रोन अन्यको तुलनामा कमजोर मात्रै देखाएको छैन, भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ। ओमिक्रोनबाट सङ्क्रमण भएको अवस्था दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्ने गरेका छन्।

ओमिक्रोनको हकमा लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म यो भाइरस अरूलाई सर्न सक्ने ठानिएको छ। 

“तर यो चिकित्सा हो, गणित होइन, त्यसैले यसमा त्यसैले केही तलमाथि हुनसक्छ,” डाक्टरहरूले भनेका छन।

कुनै व्यक्ति सङ्क्रामक छ वा छैन भनेर ढुक्क हुनका लागि छिटो नतिजा देखाउने एन्टिजन परीक्षण गरिनु सबैभन्दा उत्तम हुने विज्ञहरूको सुझाव छ।

अमेरिकाको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडीसीले कोभिड-१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई पाँच दिनको एकान्तवासपछि अरूसँग घुलमिल हुन मिल्ने निर्देशिका प्रकाशित गरेको छ।

तर यसमा सर्तहरू छन्।

यदि लक्षण छ भने पाँच दिन अलग्गै बस्नुहोस्। पाँच दिनको गणनाका लागि परीक्षण गरिएको दिनलाई शून्य दिन मान्नुपर्छ। पाँच दिनपछि कुनै लक्षण छैन वा सुधार हुँदै छ भने एकान्तवास अन्त्य गर्दा हुन्छ। अन्य मानिसहरूसँग भेट्दा थप पाँच दिन मास्कको प्रयोग गर्नु पर्छ। लक्षण देखिएको पहिलो दिनबाट १० दिनसम्म सकेसम्म यात्रामा ननिस्कनुहोस्। ज्वरो छ भने ज्वरो रहँदासम्म अलग्गै बस्नु पर्छ।

कोभिड भएका धेरै मानिसहरूमा सङ्क्रमण भएको अवधिभर लक्षण नदेखिएको अनुभव पनि छ। अध्ययनहरूले कोभिडबाट सङ्क्रमित भएका व्यक्तिहरूमा लक्षण नदेखिए पनि अरूलाई सङ्क्रमण सार्न सक्ने देखाएका छन्।

उनीहरू छुट्टै पनि नबस्ने र अन्य सावधानीहरू पनि नअपनाउने सम्भावनाका कारण उनीहरूले अरूलाई सङ्क्रमण सार्न सक्ने थप जोखिम हुने गर्छ।

अनुसन्धानले हरेक चारमा एउटा सङ्क्रमण लक्षण नभएका मानिसबाट हुने देखाएको छ। यसअघिका भेरिअन्टको तुलनामा ओमिक्रोन भेरिअन्टमा लक्षण नभएकाबाट अझै बढी सङ्क्रमण फैलिन सक्ने ठानिएको छ। *विविसी नेपालीबाट