FLASH NEWS
  • Loading...

डाक्टरहरूकाे एमडी-एमएसको प्रवेश परीक्षामा सहभागी ‘नक्कली परीक्षार्थी’ तथा ‘बिचौलिया’ पक्राउ

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३३ पटक पढिएको
डाक्टरहरूकाे एमडी-एमएसको प्रवेश परीक्षामा सहभागी ‘नक्कली परीक्षार्थी’ तथा ‘बिचौलिया’ पक्राउ

चिकित्सा शिक्षा आयोगले शनिवार (हिजो) सञ्चालन गरेको एमडीएमएसको प्रवेश परीक्षामा सहभागी ‘नक्कली परीक्षार्थी’ र ‘बिचौलिया’  गरी तीन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने तिनै जना भारतीय नागरिक हुन् ।

सीआईवीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार नक्कली परीक्षार्थीको रुपमा सहभागी भएका भारतको उत्तरप्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्रकुमार मिश्रालाई कलंकीस्थित एलआरआई परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो । यस्तै सिक्टा विहार भारत घर भएका ३४ वषीय शशी भुषण सिंहलाई पनि सोही परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो । उनी नक्कली परीक्षार्थीलाई सहयोग गर्ने बिचौलियको रुपमा क्रियाशिल भएको सीआईवीले जनाएको छ ।

यस्तै खगरिया, विहार भारत घर भएका ३२ वर्षीय कृष्ण मुरारीलाई नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पक्राउ परेका हुन् । उनलाई परीक्षामा अमर्यादित कार्य गरेको आरोप लगाएको छ ।

त्यसो त एमडीएमएसको प्रवेश परीक्षाको अघिल्लो दिननै केही व्यक्तिहरुले नक्कली परीक्षार्थी बनेर सेटिङ मिलाउँदै गरेको समाचार सार्वजनिक भएको थियो । कतिपय विद्यार्थीहरुले प्रश्नपत्र नै लिक भएको भन्दै परीक्षा स्थगित गर्न समेत माग गरेका थिए । तर आयोगले परीक्षालाई निरन्तरता दिएको थियो ।

शनिबारको परीक्षा अनुगमन गर्न गएका अनुगमनकर्ताले उपत्यकाका अरु परीक्षाकेन्द्रको गतिविधि समेत शंकास्पद भएको बताएका छन् । उनीहरुले आयोगले परीक्षामा हुने अमर्यादित गतिविधिलाई आँखा चिम्लेको आरोप समेत लगाएका छन् ।

‘केही परीक्षा केन्द्रमा फितलो चेकिङ थियो । परीक्षार्थीहरुले डिभाईस प्रयोग गर्न मिल्ने बाताबरण थियो । परीक्षाकै अघिल्लो दिन नै सेटिङ भएको खवर सार्वजनिक भएपछि जुन सतर्कता गर्नुपर्ने थियो । त्यो पटक्कै भएन,’ ती अनुगमन कर्ताले भने ।