FLASH NEWS
  • Loading...

४४ पैसाले घट्यो मोबाइल कलको शुल्क

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३९ पटक पढिएको
४४ पैसाले घट्यो मोबाइल कलको शुल्क

माघ १ अर्थात शनिवारदेखि मोबाइल कलको शुल्क ४४ पैसाले घटेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्नेगरी कार्यान्वयनमा ल्याएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ शनिवारबाट लागू भएको हो ।

योसँगै एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा सेवाप्रदायकले हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो भएको छ । यसको अर्थ एउटा नेटवर्कबाट अर्को नेटवर्कमा (उदाहरणका लागि एनसेलबाट नेपाल टेलिकमको नम्बरमा) कल गर्दा लाग्ने शुल्क ४४ पैसाले घटेको हो ।

 

यसअघि सेवाप्रदायकले अन्तरआवद्धता शुल्कबापत प्रतिमिनेट ५४ पैसा थप लिँदै आएका छन् । निर्देशिकाले त्यसमा परिवर्तन गर्दै त्यस्तो शुल्क बढीमा १० पैसा कायम गरेको छ ।

सो निर्देशिका माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउन गएको कात्तिक २९ गते बसेको प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको थियो । तत्कालका लागि आन्तरिक कलमा मात्रै यो व्यवस्था लागू हुने गरी गरिएको यो व्यवस्थाले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्कलाई कम गर्नेछ ।

यसअघि नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० लाग्दै आएको थियो ।

शनिवारदेखि भने प्रिपेडबाट प्रतिमिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ । त्यस्तै, एनसेलबाट अन्य सेवाप्रदायकको नम्बरमा कल गर्दा प्रतिमिनेट कर बाहेक एक रुपैयाँ ९९ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ५५ पैसामा सीमित भएको छ ।

यस्तै, स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ९२ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ४८ पैसामात्रै लाग्नेछ ।