FLASH NEWS
  • Loading...

बेनी संरक्षणको काममा ढिलाइ

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५६ पटक पढिएको
बेनी संरक्षणको काममा ढिलाइ

बाढीपहिरोको उच्च जोखिमयुक्त सहर बेनीबजार नदी कटानबाट बचाउन संरक्षणको काम मध्य हिउँद पुराहुँदा सुरु हुन सकेको छैन ।
मुस्ताङ र हिमाली भेगमा हिउँ पग्लन थालेपछि कालीगण्डकी नदीमा फागुनबाट जलसतह बढ्न थाल्छ तर बेनी संरक्षण जिम्मा पाएको पोखराको रुपाताल संरक्षण परियोजनाले पुस अन्तिमसम्म पनि तटवन्धको काम सुरु गरेको छैन ।
सदरमुकाम बेनी संरक्षण कार्यक्रमको जिम्मा पाएको पोखरा स्थित रुपाताल संरक्षण एकिकृत परियोजनाले काउण्टर फाेर वाल सिस्टमकाे तटवन्ध गर्न भर्खर ठेक्का प्रकृयामा रहेको जनाएको छ । परियोजनाले फागुन सूरुमै ठेकदार परिचालन गर्नेगरी काम भैरहेको जनाएको छ ।
कालीगण्डकी नदी र म्याग्दीखोला तर्फ पक्की आरसिसि तटवन्ध लगाउन रुपाताल संरक्षण एकिकृत परियोजनाले १४ करोड लागत अनुमानगरी ठेक्का आह्वान गरेकोमा रौताह कन्ट्रक्सनले ४२ प्रतिशत न्यून अङ्क ठेक्का पारेपछि समयमै, गुणस्तरीय तटवन्ध हुने कुरामा शंका गर्न थालिएको छ ।
‘बेनी संरक्षणकालागी १४ करोड बढी लागतको ठेक्का भएको छ । ४२ प्रतिशत विलोमा रौताह कन्ट्रक्सनले ठेक्का पाएका छन । तर विभागबाढी स्वीकृत भै ठेकदारसँग सम्झौता हुन बाँकी छ’ रुपाताल संरक्षण एकिकृत परियोजनाका ओभरसियर अशोक तिमिल्सिनाले भने, ‘ठेक्का स्वीकृत भै सम्झौता गर्दासम्म सवै कागजी प्रकृयाहरु पुरा गर्न एक महिना लाग्छ । संभवत फागुन सुरुबाट निर्माण सुरु होला ।’
साविक जलउत्पन्न प्रकोक कार्यालयले लगाईएको पक्की तटवन्ध कालीगण्डकी नदीमा आएको बाढीले गत मनसुनमा बगाएपछि स्थानीयले अस्थाई सुरक्षाकालागी ग्याभिन जालीमा भरेका थिए ।
फागुनलागेपछि जलसतह बढ्ने हुँदा पुस अन्तिमसम्म ठेक्का प्रकृयामा नै अल्झिदा बेनीबासी असारसम्म पनि तटवन्ध नबन्ला भन्ने त्रासमा छन । बेनी संरक्षणमा बर्षेनी स–सानो बजेटमा तटवन्धको काम हुने गरेपनि गुणस्तरीय नहुँदा बर्षेनी बाढीले बगाउने गर्छ । दुई बर्ष अघि असारमा लगाएको पक्की आरसिसि तटवन्ध साउनमा बगाएपछि अहिलेसम्म तटवन्धको काम भएको छैन ।
‘हाम्रा देशका नितीनिर्माता र प्राविधिकहरुले कालीगण्डकीको स्वभावलाई चिन्नै प्रयास गर्दैनन । फागुनबाट नदीमा पानी बढ्छ असार देखी कालीगण्डकीमा काम गर्न सकिन्न । यस्तै ढिलासुस्ती भए आउने बर्खा बेनीबजार बगाउने खतरा हुन्छ’ बेनी नगरपालिका, ८ कालीपुलका स्थानीय उत्तमकुमार कर्माचार्यले भने, ‘कालीगण्डकीमा तटवन्ध लगाउने भएपनि एक टुक्रा ढुङ्गा र एक वेल्चा वालुवा झिक्न मिल्ने ठाउँछैन, सवै किन्नु पर्छ तर । न्यून अङ्कमा ठेक्का लिएको सुनेपछि समयमा र गुणस्तरीय काम हुने कुरामा शंका छ ।’
जति उच्च हिमाल तथा पहाड उत्ति बाढीपहिरोको जोखिम हुन्छ । हिमाली जिल्ला म्याग्दीमा चुरेन, गुर्जा, धवलागिरी श्रृखला, निलगिरी, अन्नपूर्णसमेत करिव दर्जन हिमाल अवस्थित छन । र यी ९० डिग्रीबढी भिराला छन । यीनै हिमालबाट झर्ने थुप्रै सहायक खोला मिसिने म्याग्दी र कालीगण्डकी नदीको संगमस्थलमा अवस्थित छ, बेनीबजार । त्यसैले दायाँबग्ने कालीगण्डकी र बाँयाको म्याग्दी खोलाको कटानबाट बेनी बढी जोखिममा छ ।
ठेकदार छनौटमै ढिलाईले कालीगण्डकी र म्याग्दी खोलामा समयमै काम नहुने र आउँदो वर्खा बाढीको उच्च जोखिममा रहने आंकलन गरी स्थानीय प्रशासनले पनि चासो देखाउन थालेको छ ।
‘हामीले सरोकारवाला कार्यालय रुपाताल संरक्षण एकिकृत परियोजनालाई टेलिफोन र पत्राचार गरी छिटो काममा परिचालन हुन दवाव दिईरहेका छौं’ जिल्ला समन्वय समितिका संयोजक देवेन्द्रबहादुर केसीले भने, ‘यस्तै ढिला सुस्ती रहे, असार–भदौमा जोखिम झन बढ्छ’, ‘पुरानो अस्थाई तटवन्ध पनि हट्ने, नयाँ पनि नवन्ने जोखिम देखेका छौं ।’
सदरमुकामको कालीपुलदेखी खुल्ला मञ्च सम्मको करिव दुई किलो मिटर लामो कालीगण्डकी किनारामा नागरिक सक्रियतामा ०५५देखी नै सदरमुकाम संरक्षण अभियान शुरु भएको थियो । ग्याभिन जाली र ठूला ढुङ्गा राखेर कालीगण्डकी र म्याग्दी नदी किनारामा अस्थाई तटवन्ध लगाईएकोमा अघिल्लो बर्षदेखी पक्की आरसिसी वाल लगाउन थालिएको हो । आरसिसी फाउण्डेसन सहित तटवन्धपछि नदी नियन्त्रणसँगै सदरमुकामको ट्राफिक चाप पनि कम बनाउने लक्ष्य छ ।
कालीगण्डकी नदी २०१४ सालमा ठूलो पहिरोले थुनिएको थियो । ०५५ साल असोज १० गते अन्धगल्छीको तातोपानी बजारमा शिख गाविसको गोगनपानी भिर खस्दा कालीगण्डकी १० घन्टा थुनिएको थियो । पछिल्लो पटक ०७२ जेठ १० गते राम्चे गाविसको काफलडाँडा मुनीको महभीर खस्दा १६ घन्टा कालीगण्डकी थुनिएको हो । ०४४ सालमा आएको बाढीले कालीगण्डकी तटिय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । म्याग्दी नदीमा ०४५ साल असोज २ गते साँझ निस्कोट गाविसको छरछरेको भीर भत्कदा दरवाङ्ग बजार पुर्दा एक सय ९ जनाको मृत्यु भएको थियो ।