FLASH NEWS
  • Loading...

बेनी-जोमसोम सडककाे भौतिक प्रगति ६५ प्रतिशतमात्र

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९५ पटक पढिएको
बेनी-जोमसोम सडककाे भौतिक प्रगति ६५ प्रतिशतमात्र

२ वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने बेनी–जोमसोम–कोरोला सडकअन्तर्गत बेनी–जोमसोम सडकको भौतिक प्रगति जम्मा ६५ प्रतिशत मात्रै भएको छ । यसैगरी जोमसोम–कोरोला खण्डको काम ३ वर्षअघि नै सक्नुपर्नेमा अझै सकिएको छैन ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन १ सय ८६ किलोमिटर लामो बेनी–जोमसोम–कोरोला सडकको ग्लोबल टेन्डर गर्नुपर्नेमा ‘छिटोछरितो’ गर्ने भन्दै पुलबाहेक ११ प्याकेजमा काम गराइएको थियो । यी सबै प्याकेजको थपिएको म्याद पनि आगामी चैतमा सकिँदै छ ।

सडक आयोजनाका अनुसार मंसिर मसान्तसम्म शर्मा/युनाइटेड जेभी कम्पनी ठेकेदार रहेको पहिलो प्याकेज (गलेश्वर–तातोपानी) मा ६५ प्रतशित, शर्मा/गजुरमुखी जेभी ठेकेदार दोस्रो प्याकेजमा (तातोपानी–कैकुखोला) ६२ प्रतिशत, तेस्रो प्याकेज (कैकु–खन्ती) मा ८५ प्रतिशत र चौथो प्याकेज (खन्ती–जोमसोम) मा ६२ प्रतिशतमात्र भौतिक प्रगति छ । आयोजनाले बेनी–जोमसोम ७६ किलोमिटरलाई आव ०७३/७४ जेठमा सबै संरचना र ७ मिटर कालोपत्रसहित ११ मिटर चौडा सडक गर्न २ अर्ब ४९ करोडमा ठेक्का लगाएको थियो । ‘छिटोछरितो’ सम्पन्न गर्न प्रत्येक २० किमिको चार प्याकेज बनाइएको थियो ।

त्यसैगरी आयोजनाले ०७२/७३ जेठमा जोमसोम–कोरोला १ सय १० किलोमिटर लामो सडकलाई ११ मिटर चौडा र ग्राभेलस्तरमा बनाउने गरी ७ वटा प्याकेज बनाई २ अर्ब ५० करोडमा ठेक्का लगाएको हो । ०७५ कात्तिकभित्र सम्पन्न हुनुपर्ने यस खण्डको दसौं प्याकेजबाहेक अन्तिम अवस्थामा छन् । आयोजनाका अनुसार सबैभन्दा सजिलो १० औं प्याकेज (चराङ–छोसेर) मा ठेकेदार तामाङ–गौरीपार्वती/कोसी एन्ड न्यौपाने जेभी काममा अक्षम भएपछि सप्तकोसी निर्माण कम्पनी नियुक्त भएको हो । यो प्याकेजमा हालसम्म ६५ प्रतिशत भौतिक प्रगति छ । अधिक चिसो बढेपछि कम्पनीले कात्तिकदेखि नै काम रोकेको छ ।

‘आयोजनाले काम गर्ने दुई खण्डमध्ये जोमसोम–कोरोला उपल्लो खण्डमा एउटा प्याकेजबाहेक प्रायः काम सम्पन्न भइसकेको छ । मुस्ताङ र म्याग्दी समेटिएको तल्लो खण्डमा भने ढिलाइ भएको छ । ६५ प्रतिशतको हाराहारी भौतिक प्रगति छ,’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘तल्लो खण्ड भौगोलिक रूपमा अलि कठिन छ । व्यवसायीले पनि कार्यक्षमता देखाउन सकेनन् । बेनी–खण्डमा सडकको मापदण्ड र मोडेलमा पनि केही हेरफेर गर्दै छौं ।’

बेनी–जोमसोम–कोरोलासम्मको ५ अर्ब बढी लागतको सडकको ठेक्का मापदण्डअनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेका अनुभवी कम्पनीमार्फत गराउनुपर्नेमा सार्वजनिक खरिद ऐन ०६३ मा व्यवस्था भएको १ अर्बको ‘थ्रेसहोल्ड’ छल्न काम छिटोछरितो गरिसक्न भन्दै योजनालाई टुक्रा–टुक्रामा प्याकेजिङ गरिएको सरोकारवाला बताउँछन् ।

मिलेमतोमा सीमित ठेकेदारको धितो क्षमता बढाउन लाइसेन्सको पनि प्याकेजिङ गरी ज्वाइन्ट भेन्चरका कम्पनी बनाई ठेक्का हालिएको कारण कुनै खण्डमा काम हुने, कुनैमा नहुने भएको हो । ठूला ठेकेदारका सहयोगीको वार्षिक टर्नओभर वृद्धि गराउन ‘जोइन्ट भेन्चर’ मा ठेक्का लगाउँदा योजनाको गुणस्तर कमजोर हुने र समयमै काम नहुने समस्या देखिएको छ ।

सडकलाई प्याकेजिङ गरी ज्वोइन्ट भेन्चरका रूपमा काम गर्न आएको धेरै ठेकेदारले आफैंले काम गर्न नसकेपछि बीच–बीचमा अरू ठेकेदार खोजेर काम गराउने गरेका छन् । त्यसको ज्वलन्त प्रमाण हुन्, बेनी–जोमसोम खण्डको गलेश्वर–तातोपानी पहिलो प्याकेज र जोमसोम–कोरोला खण्डको छैटौं प्याकेजमा पर्ने चराङ–छोसेर सडक । दुवै प्याकेजमा पहिलो ठेकेदारले काम गर्न नसकेपछि दोस्रो, तेस्रो ठेकेदार खोजेर काम गराइएको छ । ‘ठूला’ ठेकेदारले साना ठेकेदारबाट बोलकबोल लागतको ५–१० प्रतिशत कमिसन लिएर पेटी ठेकेदारलाई बेचिएकाले राष्ट्रिय गौरवको यो सडक आयोजना ०७२ सालदेखि झुल्लिरहेको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगादेखि १३ किलोमिटर सडक पनि आयोजनामा जोडिएपछि बल्ल सडक विस्तार काम सुरु भएको छ । आयोजनाले ०७७ चैतमा ३० महिनाको निर्माण म्याद राखेर मालढुंगा–बेनी १३ किलोमिटर खण्डमा ठेक्का लगाएको थियो । तिहारपछि यस खण्डमा व्यवसायी परिचालन भएका छन् । त्यसैगरी गलेश्वर बजार क्षेत्रमा पर्ने १.२ किलोमिटर क्षेत्रमा काम गर्न छुट्टै ठेकेदार परिचालन गरिने भएको छ ।

बेनी–जोमसोम सडकको गलेश्वरसम्मको ३ किमि खण्ड अझै कालीगण्डकी करिडोरअन्तर्गत समावेश छैन । पूर्वाधार विकास कार्यालय मातहत रहेको यो सडक निर्माण गर्न कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण नभएकाले निर्माण अलपत्र परेको हो । स्थानीय बेनी नगरपालिकाले आफ्नो स्रोतबाट सडक मर्मत गरी यातायात सुचारु गराउँदै आएको छ ।

‘कालीगण्डकी करिडोरअन्तर्गत कसले, कसरी काम गर्ने अन्योलमा रहेको पर्वतको मालढुंगादेखि बेनीसम्मको १३ किमि क्षेत्रमा टुंगो भएर ठेकेदार परिचालन भइसके तर बेनी–गलेश्वर ३ किमि क्षेत्रमा कसले काम गर्ने भन्ने टुंगो छैन,’ बेनी–जोमसोम–कोरोला सडक आयोजनाका साइड हेर्ने ओभरसियर हरिकृष्ण केसीले भने, ‘सम्भवतः यो वर्ष टुंगो लाग्ला । गलेश्वरपारि राहुघाट जलविद्युत् आयोजनाको पावरहाउस रहने क्षेत्र सडक अतिक्रमण भएकाले डिजाइन परिवर्तन गर्नुपर्ने भएको छ ।’

मोटर पुल अझै डिजाइन चरणमै

एक सय ८६ किमि लामो सडकमा पर्ने नदी, खोला र खोल्सीमा निर्माण गर्नुपर्ने सानाठूला गरी ३२ मोटरेबल पुलमध्ये अहिलेसम्म ६ वटामात्र निर्माण भएका छन् । १४ निर्माणाधीन छन् भने १२ पुल डिजाइन चरणमै छन् । रुप्से छहरा र मुस्ताङको खहरे खोलामा निर्माणाधीन पुल गत मनसुनमा आएको बाढीले बगाएपछि त्यहाँ कस्तो पुल बनाउने रि–डिजाइन गर्न थालिएको आयोजनाले जनाएको छ । यो सडकमा डोलिडारले ३, पाल्पास्थित पुल सेक्टर आयोजनाले ३ र बाँकी २६ पुल सडक आयोजनाले बनाउने भएका हुन् ।

डोलिडारले जोमसोम र छुक्साङमा कालीगण्डकी नदीमाथि पुल निर्माण गरिरहेको छ । पुल सेक्टर आयोजनाले तिप्ल्याङ र पोखरेबगरस्थित कालीगण्डकीमाथि पुल निर्माण गरिरहेको छ । आयोजनाले बेग खोलामा निर्माण हुने पुलको डिजाइन एन्ड विल्ट मोडेलमा काम गर्न ठेक्का लगाए पनि काम सुरु भएको छैन । बेनी–जोमसोम–कोरोला सडकमा बेग खोलामाथि पुल नहुँदा सबैभन्दा बढी यात्रुलाई सास्ती दिने स्थान हो । *घनश्याम खड्का,  इ-कान्तिपुर ।