FLASH NEWS
  • Loading...

बैंक ऋणको ब्याजदर बढ्दै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३१ पटक पढिएको
बैंक ऋणको ब्याजदर बढ्दै

 

 

बैंकहरूले आउँदा केही महिना निक्षेपको ब्याज स्थिर राख्न खोजे पनि कर्जाको ब्याजदर कम्तीमा एक प्रतिशत बढ्ने भएको छ । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर वृद्धि भएपछि बैंकहरूको आधार दर (बेस रेट) वृद्धि हुने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने बैंकहरूले बताएका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक तीन/तीन महिनामा आधार दर गणना गर्नुपर्छ । यसरी त्रैमासिक रूपमा आधार दरमा आएको परिवर्तनअनुसार कर्जाको (नयाँ पुराना सबै) ब्याजदर पनि परिमार्जन गर्नुपर्छ । चालु आर्थिक वर्षमा बैंकहरूले गत असोजमा आधार दर गणना गरेका थिए । अब पुसमा पुनः गणना गर्छन् । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढेकाले पुसमा आधार दर बढ्ने निश्चित छ । आधार दर बढेपछि बैंकहरूले कर्जाको ब्याजदर पनि बढाउँछन् ।

राष्ट्र बैंक स्रोतका अनुसार गत मंसिर दोस्रो सातासम्म बैंकहरूको कर्जाको औसत ब्याजदर ९.९९ प्रतिशत छ । अब माघदेखि १ प्रतिशत बिन्दुले मात्र पनि कर्जाको ब्याजदर बढे औसत १०.९९ प्रतिशत पुग्ने बैंकरहरूको अनुमान छ । 

गत कात्तिकदेखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अघिल्लो महिनामा आफ्नो वर्गका सबै बैंकको औसत ब्याजदरको अधिकमत १० प्रतिशतसम्म मात्र बढाउन पाउने व्यवस्था गरेको छ । सोही प्रावधानअनुसार मंसिरका लागि अधिकांश बैंकले एकवर्षे मुद्दती निक्षेपमा १०.०५ र साधारण बचतमा ५.०५ प्रतिशत ब्याजदर प्रकाशन गरेका थिए ।