आज:  | Thu, 19, May, 2022

४ पुसदेखि ५८ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिईदै (सूची सहित)

२३ मंसिर २०७८, बिहीबार २०:१४ मा प्रकाशित (5 महिना अघि)
पुनहिल संवाददाता

सरकारले आगामी ४ पुस देखि ५८ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले यसअघि बालबालिकाहरुलाई खोप नचलाएका जिल्ला छनौट गरी मोडर्ना खोप चलाउने तयारी गरेको हो ।

‘मोडर्ना खोप १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई दिईदै छ । यो खोप यसअघि फाइजर खोप चलाएका १९ जिल्ला बाहेकका बाँकी सबै जिल्लामा चलाइदैछ,’ महाशाखा अन्तरगतका खोप शाखा प्रमुख सागर दाहालले भने ।

उनले मोडर्ना खोप ५८ वटा जिल्लाका स्कुल स्कुलमा लगेर दिन लागिएको बताइए ।

माइनस १५ देखि माइनस २५ डिग्री तापक्रममा भण्डारण गरिने यो खोप एक महिनासम्म २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने विज्ञहरु बताउँछन् । आगामी आइतबारसम्म कोभ्याक्स सुविधा र सरकारी खरीद प्रक्रियाबाट गरी करीव ३६ लाख डोज मोडर्ना नेपाल भित्रिदैछ । सोही आधारमा खोप बालबालिकाहरुमा दिन लागिएको हो ।

कुन कुन जिल्लामा दिइदै छ खोप ?

मोडर्ना खोप यसअघि फाइजर खोप सञ्चालन गरेका १९ जिल्ला बाहेक सबैमा सञ्चालन गरिने बताइएको छ । यसअघि फाइजर खोपहरु सञ्चालन गरेका जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुसा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेल्धुरा रहेका छन् ।

यी बाहेक सबै जिल्लामा ४ पुस देखि मोडर्ना खोप अभियान सञ्चालन गरिने भएको हो ।