FLASH NEWS
  • Loading...

एमाले महाधिवेशनका चर्चित नेता भीम रावल हार्ने चुनाव किन राेजे ? 

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९२ पटक पढिएको
एमाले महाधिवेशनका चर्चित नेता भीम रावल हार्ने चुनाव किन राेजे ? 

एमालेको दशौं महाधिवेशन शुरू भएयता सबैभन्दा चर्चामा रहेका पात्र हुन, नेता भीम रावल। चर्चाको मुख्य कारण हो– केपी शर्मा ओलीलाई चुनौती दिंदै पार्टी अध्यक्षमा उनको दाबेदारी। 

बन्द सत्रले ओलीलाई सर्वसम्मत नेतृत्व चयनको जिम्मेवारी दिंदा विरोधमा उत्रँदै रावलले निर्वाचनमा जानुपर्ने अडान लिए। सर्वसम्मत रूपमा गरिने नेतृत्व छनोट गुट र टिके प्रथा भएको तर्क गर्दै उनले आफ्नो एकै भोट मात्र आए पनि निर्वाचनबाटै पराजित हुने बताइरहे। 
आफू ओलीसँग पराजित हुने थाहा भए पनि रावलले किन चुनावकै रटान लगाइरहे त? यसमा उनका केही स्वार्थ छन्। रावलको पहिलो उद्देश्य वरिष्ठ उपाध्यक्ष हुने थियो। यसका लागि शुरूमै ओलीसँग सहमति कायम गरेर उक्त पद सुरक्षित गर्न चाहन्थे। तर, ओलीले ‘रेस्पोन्स’ नगरेपछि उनले अध्यक्षमै उम्मेदवारी घोषणा गरे। उम्मेदवारी घोषणाभित्रको उनको रणनीति पनि वरिष्ठ उपाध्यक्ष पदको ‘बार्गेनिङ’ नै हो। त्यही रणनीतिलाई बल दिन उनले अध्यक्ष मण्डलको बैठकमा समेत ‘अलोकतान्त्रिक विधि’ बाट नेतृत्व चयन गर्ने विषय मान्य नहुने तर्क गरिरहे। 

यो उम्मेदवारी घोषणाको दोस्रो कारण– रावल कुनै न कुनै रूपमा आफूलाई सधैंभरि चर्चाको शिखरमा राखिरहन चाहन्छन्। यसअघि पनि उनी ओली नेतृत्वको सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोध गरेर चर्चामा रहे। यसपालि पनि ओलीलाई टक्कर दिने नेताका रूपमा चर्चा बनाइरहनकै लागि उनले नजितिने चुनावमा उम्मेदवारी दिएका हुन्। 

एमाले विधान अनुसार ७० वर्षे उमेर हदका कारण रावलको यो अन्तिम कार्यकाल हो। उनी ११औं महाधिवेशनबाट कार्यकारी पदमा रहनेछैनन्। यो अवस्थामा ओलीसँग प्रतिस्पर्धा गर्दा चर्चामा रहिने र त्यसले राजनीतिमा धेरथोर लाभ प्राप्त हुने उनको बुझाइ छ। 

एमाले विभाजन पूर्व रावल माधव नेपाल र झलनाथ खनाल समूहमा थिए। १० बुँदे सहमतिपछि एमालेमै रोकिएका उनले फेरिएको परिस्थितिमा आफूलाई ओलीले महत्त्व दिने ठानेका थिए। तर, रावलले सोचे जस्तो भएन। ओली उनीप्रति नरम देखिएनन्। यसमा रावलको पृष्ठभूमि कारण थियो। ओली नेतृत्वको सरकारको सबैभन्दा विरोध गर्ने उनै थिए। तत्कालीन नेकपामा पुष्पकमल दाहाल, माधव नेपाललाई ओली विरुद्ध उचाल्न रावलले भूमिका खेलेको ओलीपक्षको बुझाइ छ।

नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको भनाइमा पनि एमाले विभाजनका सूत्रधार रावल नै हुन्। त्यसका लागि विधान मस्यौदादेखि सम्पूर्ण कागजी प्रक्रियासम्मका काममा उनी खटिएका थिए। त्यस क्रममा उनले नेपाल पक्षलाई ओलीसँग छलफलमा नबस्न खबरदारी समेत गरेका थिए।

ओली नेतृत्वको सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने, सर्वोच्च अदालतमा निवेदन दिनेसम्मका काममा रावल अघि सरेका थिए। यिनै कारण ओली उनीप्रति अनुदार बन्दै गए।*हिमालखवरबाट