FLASH NEWS
  • Loading...

एमाले अध्यक्षमा ओली र रावलकाे उम्मेदवारी दर्ता

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४७ पटक पढिएको
एमाले अध्यक्षमा ओली र रावलकाे उम्मेदवारी दर्ता

केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान उनले दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।

केपी शर्मा ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन असहमति राख्दै भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । रावलले सोमबार बिहान अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । रावलको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दूधकला विष्ट रहेका छन् । 

त्यसैगरी नेता घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो ।

प्रस्ताव अनुसार ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे रामबहादुर थापा विष्णु पौडेल र सुवास नेम्वाङ छन् । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली,पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल लाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा,लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।

सहमतिका लागि ल्याएको प्रस्तावमा पूर्व माओवादी पक्षका रामबाहादुर थापा उपाध्यक्ष सहित टोपबहादुर र लेखराज गरी ३ जना परेका छन् । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्बाङ र ईश्वर पोखरेल र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलमध्ये कसलाई बनाउने भन्नेबारे गलफत्ती परेको थियो । दुवैजना ओलीका विश्वासपात्र भएकाले उनीहरूमध्ये पौडेल उपाध्यक्षमा र पोखरेल महासचिवमा बस्न तयार भएका हुन् ।