याे जाडाेमा कहाँ गए चौरीगाई, हिमाल काटेर ?

६ मंसिर २०७८, सोमबार ११:२७ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

हिउँदका चिसा दिनमा हिमाली वस्तीबाट मान्छे मात्र होईन चरन खर्कमा लगिएको चौरी र भेडा गोठ न्यानो क्षेत्रमा ओर्लन्छन । तर उपल्लो हिमालपारीको जिल्ला मुस्ताङ्गको उपल्लो भेग लोमन्थाङ क्षेत्रका गोठाला भने झन माथी र टाढाको चरन क्षेत्रमा पुग्ने गरेका छन ।
हिउँदका चार महिला उपल्लो भेगका चौरीगोठ स्थानीय वोलिचालीको केके हिमालपारी अवस्थित केक्याप उपत्यकाको चरन क्षेत्रमा लग्ने गर्छन । केक्याप लोमन्थाङबाट चुम्जुङ्ग गाउँहुँदै दक्षिण डोल्पा जाने वाटोमा अवस्थित छ । तुलतान्त्मक पारिलो केक्याप चरन उपत्यका पुग्न लोमन्थाङबाट तीन दिन लाग्छ ।
हिंउद यामको चिसो र हिउँले ढाकिलने मौषममा चौरीगाई धपाउँदै छोसेर, चुम्जुङ, छोनुप र लोमन्थाङ क्षेत्रका चौरी गोठ भने झन माथीको केक्याप चरन उपत्यका पुगेका छन । चार महिनालाई पुग्ने खर्च (रासन) बोकेर चौरीगाई धपाउँदै केक्याप पुग्ने १२ गोठालामध्यका एक हुन, लोमन्थाङ गाउँपालिका, ४ चुम्जुङका शरदसिं घ्याप्चो गुरुङ ।
‘लोमन्थाङसमेत केकेहिमालवारीका चरन क्षेत्रमा वर्खाभरी चौरी, भेडा/च्याङ्ग्रा, घोडा, खच्चड र स्थानीय गाई चरे । हिउँदमा बाक्लो हिउँले चरन ढाक्छ । भेडा/च्याङ्ग्रा, घोडा हिउँमा टाढा चरनमा जान सक्दैनन । चौरीलाई धेरै घाँस चाहिन्छ, घरको घाँसले पुग्दैन । त्यसैले चौरीलाई हिउँदमा धेरै टाढा र झन माथिको चरनमा लग्नु परेको हो’ चार महिनाकालागी चौरी धपाउँदै गोठ हिंडेका लोमन्थाङ गापा, ४ चुम्जुङका शरदसिं घ्याप्चो गुरुङले भने, ‘माथी केक्याम्पमा बर्खाभरीको घाँस संग्रह छ, चरन क्षेत्र पनि ठूलो छ । फेरी हिउँ पनि यताभन्दा उता छिटो पग्लन्छ ।’
चौरीलाई बढी चरन चाहिन्छ । केक्याप उपत्यका धेरै टाढा भएकोले बर्खायाममा पनि चेलुक, च्याङ्ग्रा, स्थानीय गाई र चौरी पुगेका छैनन । वर्खाभरीको घाँस सुरक्षित रहेकोले हिउँका याममा चौरीलाई चरनकालागी करिव ६ हजार मिटर अग्लो हिमाल काटेर गोठाला चौरी धपाउँदै केक्याप क्षेत्र पुग्ने गरेका हुन । पारिलो क्षेत्र भएकोले छिटो हिउँ पग्लने भएकोले चौरीलाई चरन तयार भैरहन्छ ।
त्यसैगरी उपल्लो मुस्ताङका चौरीगोठ झन माथी उकालिएको भएपनि तल्लो भेगका हिमाली जनावर चौरीलाई भने हिमाली क्षेत्रबाट तल पहाडको फेदीमा ओरालिएको छ ।
निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरी हिमाल फेदीको मुलीखर्क, टुक्चेपीक मुनीको वतासे र अन्नपूर्ण साउथ मुनीको खोप्रा/खयर लेकका चौरीलाइ तुलनात्मक न्यानो क्षेत्रमा झारिएको हो ।
‘हिमाली जनावर भएपनि हिमालमुनी अव बाक्लो हिउँ पर्ने र तीन/चार महिनासम्मै नपग्लनेहुँदा चौरीलाई केही न्यानो र चरन क्षेत्र भएको पहाडका फेदीमा झारेका छौं’ थासाङ गाउँपालिका, ४ कोवाङका चौरी पालक कृषक गौतम शेरचनले भने, ‘केही दिन अघिको हिमपहिरोले पनि तर्सायो । माथी हिउँ पनि पर्ने वेला भएकोले तल वस्ती वरपरको जंगलमा चौरी झारेका छौं । अव घरबाटै रेखदेख गर्न पनि सकिन्छ ।’
मुली, बतासे क्षेत्रका चौरी तल नाउरीकोट, बोक्सीखोला क्षेत्रमा झारिएको छ भने निलगिरी फेदीका चौरी तल चोखोपानी, सौरु, टिटी र अन्नपूर्णको खोप्राका चौरी तल लरेनी क्षेरमा ओरालिएको छ । अव चौरी बैशाखपछि मात्र माथी बुकी पठाईने चौरी कृषकले बताए ।
‘अहिले तल फेदी झारिएका चौरी अव एकै पटक वैशाख पहिलो पटक रगत काटेर माथी हिमाल तिर पठाईन्छ’ अर्का कृषक सकेन्द्र गौचनले भने, ‘तल्लो क्षेत्रका चरन क्षेत्रमा वन संरक्षण गर्न थालेपछि चौरीलाई चरन समस्या हुन थालेको छ ।’
क्याप्सन : हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेगमा पर्ने तिब्बत सीमावर्ती लोमन्थाङ गापा, ४ चुम्जुङको कृषक हिउँदका चार महिना आफ्ना गौरी धपाउँदै अर्को केकेहिमाल काटेर पारीको केक्याप क्षेत्र लैजादै । तस्वीर सौजन्य : पेमा गुरुङ, चुम्जुङ ।