फ्याँकिएका मास्क वातावरणलागी अभिसाप बन्दै

५ मंसिर २०७८, आईतवार १९:१५ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

विश्वमा कोरोना कहरले पिरोलेको दुई वर्ष बित्न लाग्यो । अझै पनि यसले विश्व आक्रान्त छ । खोपको आबिष्कार भएपनि सबै नागरिकले खोप पाइसकेको अवस्था छैन । त्यसो त सामाजिक दुरी र मास्कको पहिरन नै कोरोनाबाट बच्ने अचुक उपाय बनेको छ ।

यद्यपि, मास्कको उपयोगिता र यसले वातावरणमा पार्ने दुरगामी प्रभावबारे भने हामी अनभिज्ञ छौँ । त्यही कोरोनाको भुमरीले आज विश्वमा मास्क अनिवार्य पहिरन बनेको छ । कोरोनाबाट बच्न यसलाई हामीले प्रयोग गर्छौँ । तर, यसको उचित व्यवस्थापनमा ध्यान नदिँदा वातावरण, जल तथा भूमिमा प्रत्यक्ष ठूलो हानी हुने लगभग पक्का छ ।

त्यसैले यसभन्दा अघि हामीले मास्क के बाट बन्छ भन्ने कुरा बुझ्न जरुरी छ । प्राय : सबै प्रकारका डिस्पोजेवल मास्क पोलिप्रोपेलिन प्लास्टिकबाट बन्छ । एउटा आलेख अनुसार कोरोनाको प्रकोप पश्चात हरेक एक मिनेटमा विश्वमा करिब ३० लाख थान मास्क फालिन्छन् । मास्क माटोमा बिलय नहुने भएकाले ठूला मात्रामा जमिनको उर्बरतामा ह्रास आउने निश्चित छ । जमिनको मात्र नभई जलका जीव पनि यसबाट निकै प्रभावित हुन्छन् । खोला–नाला,ताल–तलैयामा हुने मास्क बिसर्जनबाट पानी नै विषाक्त भई अर्को महामारी नआउला भन्न सकिन्न ।

यसैपनि मास्कको उचित बिसर्जन नभए सात दिनसम्म कोरोनाका भाइरस रहने तथ्य हामीले सुन्दै आएका छौं । यदि मास्ककाे उचित व्यवस्थापन भएन भने वातावरणीय दुर्घटना हुन सक्छ । किनभने मास्क आफैमा एउटा सुक्ष्म स्वरुपको प्लास्टिक फाइबर (माइक्रो साइज्ड प्लास्टिक )बाट बनेको हुन्छ । जसको थिक्नेस १ देखि १० माइक्रोमिटर हुन्छ । जब वातावरणमा यो फालिन्छ त्यसपछि यो अझै सानो रुपमा विभाजित हुन्छ । हरेक मिनेट ३० लाख मास्क वातावरणमा फ्याकिँरहेको अवस्थामा यसको असर कति होला आफैं अनुमान लगाउन सकिन्छ ।

त्यसैले नेपाल जस्तो देशमा चेतनाको स्तर बाटोमा फालिएको फोहोरबाटै आँकलन गरिन्छ । त्यसैले फोहोर व्यवस्थापनका लागि राज्यबाटै प्राथमिकतामा नराखिएको जस्तो लाग्ने तर,करौडौं रुपियाँ खर्च हुने देशमा हामी पनि पर्छौँ । जस्तोसुकै स्तर वा अवस्था भएपनि प्लास्टिकका मास्कलाई जथाभावी फालेर भोलिका पुस्तालाई अभिसाप सिर्जना गर्नु पनि उचित हुँदैन । तसर्थ केहि गर्न सकिने उपाय रोज्नु अनिवार्य हुन्छ ।

उपाय के त ?

जहाँ चुनौति त्यहाँ समाधानका उपाय पनि सँगसँगै आउँछन् । त्यसैले डिस्पोजेवल मास्कले वातावरणीय प्रणालीमा पार्ने नकारात्मक असरका बारेमा मानवजाती समयमै सजग बने भने भोलिका दिनमा यसबाट हुनसक्ने नकारात्मक असरबाट बच्न/बचाउन सकिन्छ । त्यसैले यहाँ तिनै उपायहरुलाई प्रस्तुत गरिएको छ :

  • सकेसम्म पुनः प्रयोग गर्न मिल्ने कपडा को मास्कको प्रयोग गर्ने ।
  •  डिस्पोजेवल मास्कलाई सकेसम्म छुट्टै बिनमा जम्मा गर्ने ।
  • राज्यले धेरै भन्दा धेरै मास्क कलेक्सन बिन को व्यवस्थापन गर्ने ।
  • कानूनी कडाई तथा सचेतनाको कार्य गर्ने ।
  • स्कुल, कलेजमा अनिवार्य मास्क कलेक्सन बिन अनि मास्क इन्सिनेटर को प्रयोग गर्ने ।