मुस्ताङका जंगलबाट कस्तुरीको बिना तस्करी बढ्दै

१ मंसिर २०७८, बुधबार १०:३० मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याम्प) अन्र्तगत हिमालपारीको मुस्ताङका जंगलबाट वहुमुल्य कस्तुरीको बिना तस्करी हुने गरेको छ ।
मुस्ताङको वाह्गाउँ–मुक्तिक्षेत्र गाउँपालिका, १ मा पर्ने पाण्डाखोलाको सिरानमा अवस्थित निज्जा जंगलबाट कस्तुरीको बिना तस्करी भैरहेको सूचना पाँच दिनसम्म संञ्चालन गरिएको बृहत वनगस्ती गर्दा बिना झिकेको मृत अवस्थामा २ वटा भाले र तीन पोथी कस्तुरी फेला परेको थियो । भाले कस्तुरीको मात्र बिना हुन्छ । तर पासोमा पोथी कस्तुरी पनि परेका थिए । पासोमा फरेको अर्को एक पोथी कस्तुरीलाई उद्धार गरी सोही वनमा छोडिएको थियो । कस्तुरीलाई थापेको पासोमा परि २ वटा रातो स्याल मृत फेला परेका थिए । मृत सवै कस्तुरी र स्यालको शव ताजा नै थियो ।
एक्यापका वन सुराकीको सूचनाको आधारमा एक्याम्पका कर्मचारी, संरक्षण ब्यवस्थापन समिति मुक्तिनाथका पदाधिकारी, प्रहरी र शसस्त्र समेतको टोलीले ५ दिन सञ्चालन गरेको वन गस्ती क्रममा तस्करले थापेका एक सय ७१ वटा पासो फेला पारेको थियो ।
‘कस्तुरीको बिना तस्करले पुरै भरी पासोको जालोले ढाकेको रहेछ । दुई वटा कस्तुरीबाट बिना झिकी सकेको पनि पाईयो । यति धेरै पासो थापेको अवस्थामा फेला पर्नुले संरक्षण क्षेत्रबाट कस्तुरीको बिनाबाहेक वन्यजन्तुको सिकार र तस्करीको गम्भीर अवस्था देखाएको छ’ एक्याप जोमसोमका प्रमुख ऋषी बरालले भने, ‘स्थानीय सिकारीको संलग्नता विना यती धेरै पासो थाप्न, वन्यजन्तु मार्न र अङ्गहरु झिकेर तस्करी गर्न असंभव हुने भएकोले गहिरो अनुसन्धान सुरु गरेका छौं ।’
एक्याप इलाका प्रहरी कार्यालय मुस्ताङका अनुसार संयुक्त वन गस्तीटोलीले कात्तिक १५ गते १८ वटा, १६ गते २३ वटा, १७ गते १०० वटा, १८ गते २८ वटा तथा कात्तिक २२ घरपझोङ गाउँपालिकाको नेपाली सेनाको कैसाङ क्याम्प क्षेत्रको जंगल एवं टिकीलुङ जंगलमा पासोको खोजी गर्दा २ वटा कस्तुरी मार्न थापेका वाण्डिङ तार, मोटरसाईकलको व्रेक तार र प्लास्टिकका डोरी प्रयोग गरिएका पासो फेला परेको एक्याप मुस्ताङले जनाएको छ ।


‘लुप्रामाथी र खम्पाक्याम्पदेखी उत्तरपूर्वी जंगलबाट पासोमा पारेर वन्यजन्तु कस्तुरी मार्ने र बहुमुल्य बिनाको तस्करी भैरहेको सुचनाको आधारमा एक्यापसँगको सहकार्यमा चलाईउको वन गस्ती गरी पासो खोज्ने र नष्ट गर्ने अभियानमा धेरै पासो फेला परे । पासोमा परी मृत वन्य जन्तु फेला परेकोले एक्यापलाई बुझाएका छौं’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आषिस अधिकारीले भने, ‘मुस्ताङ संरक्षण क्षेत्र पर्ने भएकोले यसका सवै प्रकृया एक्यापले गर्ने हो । वन्यजन्तुको अङग तस्करी भैरहेको पुष्टी भएकोले प्रहरी पनि सतर्क भै अनुसन्धानमा लागेको छ ।’
बन्यजन्तुको अङ्ग तस्करहरुले एक्याप हटाउनु पर्ने भन्दै विरोध गर्ने गरेको चर्चा भएपनि बिनाको तस्करीकालागी यतिठूलो परिणाममा पासो फेला परेको र बिना झिकेको अवस्थामा मृत कस्तुरी फेला परेको यो पहिलो घट्ना हो ।
बहुमुल्य बिना झिक्न तस्करले कस्तुरी पार्न जंगलभरी पासोको जालो विच्छ्याएको भेटेपछि कात्तिक २३ गते प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेनाको उच्च शिखर तालिम केन्द्र रहेको कैसाङ तालिम केन्द्र वरपरको जंगल, टिकीलुङ जंगलसमेत तल्लो मुस्ताङमा पर्ने वारागुङमुक्तिक्षेत्र, घरपझोङ र थासाङ तीन वटै गाउँपालिका भित्रका सवै जंगलमा प्रहरी, एक्याप कर्मचारी र स्थानीय परिचालन गरी पासो खोज्ने र नष्ट गर्ने अभियान चलाईएको पनि एक्याप मुस्ताङले जनाएको छ ।
कस्तुरी, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डा लगाएतका लोपुन्मुख बन्यजन्तुको भने सिकार गर्न निषेध छ । तस्करहरुले पित्तकोलागी भालु, विनाकोलागी कस्तुरी, छाला, दाहको लागी बाघ र रंगिन कल्की तथा प्वाख र माशुकोलागी डाँफे चराको बढी चोरी शिकार गर्ने गरेका छन ।
एक्यापका अनुसार वन्यजन्तु संरक्षण ऐनमा कस्तुरी मार्नेलाई ५ देखी १० लाख जरिवाना, १० देखी १५ वर्ष कैद वा दुवै सँजाय हुने ब्यवस्था रहेको छ । सरकारले एक्याप राख्ने नराख्ने विवादमा समयमै ठोस निर्णय नगर्दा एक्याप मातहतका निकाय र संरक्षण समितिहरुको सकृयता कमजोर बन्दै गैरहेको छ ।
नेपाल पक्ष राष्ट्र रहेको लोपोन्मुख प्रजातिका वन्यजन्तुको व्यापारमा प्रतिवन्ध लगाउने साइटिस महासन्धिले संरक्षण गर्न भनेर अनुसूची १ मा कस्तुरीमृगलाई सूचीकृत गरेको छ । भाले कस्तुरीको नाभीमा हुने विशेष किसिमको ग्रन्थी हो । एक भाले कस्तुरीबाट जीवनभर १४ पटक बिना संकलन गर्न सकिन्छ ।
गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा आव ०७७/०७८ को बार्षिक बजेट, नीति तथा कार्यक्रममा यस प्रदेशको हिमाली क्षेत्र मुस्ताङ र मनाङमा कस्तुरी पालन गर्ने योजना ल्याईएको थियो । जसकालागी कस्तुरी गणना योजना कार्यान्वयन चरणमा छ । एक्यापको सन २०१० को रिपोर्टमा मुस्ताङमा २ सयको हाराहारी कस्तुरी रहेको उल्लेख छ । त्यसयता कस्तुरीको गणना भएको छैन ।
‘मुस्ताङको सवै क्षेत्रमा कस्तुरी पाईएको छ । तर गणना भएको छैन । त्यसैले कति संख्यामा कस्तुरी छन भन्न सकिन्न’ एक्याप मुस्ताङ प्रमुख वरालले भने, ‘कस्तुरीको वासस्थान हस र चोरी शिकारी प्रमुख चुनौती हुन । तस्करहरु बिनाकालागी गोलीबाट भन्दा पासोबाट शिकार गर्छन । गोली भन्दा पासो बढी खतरनाक हुन्छ । पासोमा पोथी कस्तुरी तथा अन्य प्रजातिका वन्यजन्तु समेत पर्ने भएकोले बढी खतरनाक भएको हो ।’