FLASH NEWS
  • Loading...

अन्नपूर्ण आधार शिविर पुग्ने मौरिज हर्गोज पदमार्ग तीन दिन छोटियो

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३३ पटक पढिएको
अन्नपूर्ण आधार शिविर पुग्ने मौरिज हर्गोज पदमार्ग तीन दिन छोटियो

म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ ।

३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजनाले दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँच मार्ग निर्माण गरेपछि मौरिज हर्गोज पदमार्गमा पदयात्रा दिन छाेटिएकाे हाे । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले बताए ।

“नारच्याङबाट छोटेपा र छोटेपाबाट हुमखोला दुई दिन हिँड्नुपर्ने बाटो अहिले गाडीमा दुई घण्टामा पार गर्न सकिन्छ”, उनले भने, “सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ ।”

 विसं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्गको पहिचान गरेका थिए । पर्यटन विभागकाे दुई करोड ५० लाखभन्दा बढीको लागतमा आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गरेको छ ।

यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।