- Loading...
एमाले दशौं महाधिवेशनमा पदाधिकारीमा क-कसको हुँदैछ रस्साकस्सी
- पुनहिल डट कम
- ३ साल अघि
- १०३ पटक पढिएको
नेकपा एमालले पार्टीको दशौँ महाधिवेशनबाट १५ जना पदाधिकारी चयन गर्दैछ । सो पदमा जानका लागि अहिले पहिलो र दोस्रो पुस्ताको रस्साकस्सी शुरु भइसकेको छ । पार्टी अध्यक्षमा केपी शर्मा ओली निर्विकल्प देखिएका छन । तर भीम रावल बरिष्ठ उपाध्यक्षमा दावेदारी गरेका छन । बरिष्ठ उपाध्यक्षमा नभए अध्यक्ष ओलीलाई चुनौती दिन अध्यक्षमा उम्मेदवारी दिने सोचमा देखिएका छन ।
समावेशी सहभागितासहित पार्टीको पदाधिकारी चयन गर्नुपर्ने भएकाले सहमति हुन नसके अध्यक्ष बाहेकका पदाधिकारीमा चुनाव हुने देखिन्छ । एमाले अध्यक्ष ओलीले सकभर सबै पदमा सर्वसम्मत गराउने साेचमा छन । यसो हुदाँ एमाले एक ढिक्का भएको सन्देश समेत प्रवाह हुनेछ ।
१० मंसिरदेखि १३ सम्म चितवनमा तय भएको महाधिवेशन प्रतिस्पर्धात्मकभन्दा पनि सहमति उन्मुख देखेपछि पदाधिकारीका आकांक्षीहरु अध्यक्ष ओलीसँग नजिक भइरहेका छन् । सचिव योगेश भट्टराई पुन एक पटक सोही पदमा रहने वा माथि जाने भन्ने सोचमा छन । माधव नेपाललाई छाडेर अध्यक्ष ओलीलाई साथ दिएकाले एक पटक पुन सचिवको दौडमा भट्टराईले आफ्नो पहलकदमी थालेका छन ।
भट्टराईसँगै विद्यार्थी राजनीति गर्नुभएका भानुभक्त ढकाल पनि यस पटक सचिवको दौडमा हुनुहुन्छ । आफूसँगको सहयात्री भट्टराई सचिव भइसकेकोले सचिव पदमा उम्मेद्वारी दिने तयारीमा छन । सचिव पदमा यसअघि नवौ महाधिवेशनमा पराजित प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार समेत भएका रिमाल अहिले सचिव पदका लागि दौडधुपमा देखिएका छन । महेश बस्नेतदेखि गोकुल बाँस्कोटासम्मले पदाधिकारीमा आश गरेका छन् । सचिव भीम आचार्य र गोर्कण विष्ट भने अहिलेकै पदको निरन्तरतामा छन् ।
यस्तै एमाले सचिव पृथ्वीसुब्बा गुरुङले पदाधिकारीको दाबेदारीमा मुख खाेलेका छन । सचिव भन्दा तल झरेर काम गर्न नसक्ने नेता गुरुङले बताएका छन । दलितबाट छविलाल विश्वकर्माको पनि पदाधिकारीमा दावेदारी छ । समावेशीको आधारमा पदाधिकारी चयन भए विश्वकर्मा पर्ने निश्चित छ । प्रदिप ज्ञवाली पनि पर्ख र हेरको रणनितीमा छन् ।
पदाधिकारीका आकांक्षीहरूको लामो सूचीमा सुवास नेम्वाङ, विन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, रघुवीर महासेठदेखि छविलाल विश्वकर्मासम्म देखिएका छन् । आफू निकट मानिएका यी नेतालाई पदाधिकारीभित्र समेट्नुपर्ने बाध्यता ओलीलाई छ । यता, माधव नेपाल छोडेर बसेका १० नेतामध्ये भीम रावल, अष्टलक्ष्मी शाक्यर युवराज ज्ञवाली पदाधिकारीमै बस्न चाहन्छन् । उपमहासचिव घनश्याम भुसाल पनि उपमहासचिव पदबाट माथि जाने सोचमा छन।
नवौँ महाधिवेशनमा महासचिवमा पराजित सुरेन्द्र पाण्डे पनि पदाधिकारीका दाबेदार हुन् । एमालेको बलियो दावेदारको रुपमा शंकर पोखरेल देखिएका छन । विष्णु पौडेललाई उपाध्यक्ष बनाएर पोखरेललाई महासचिव पदमा अगाडी बढाउने तयारीमा अध्यक्ष ओली छन।
त्यस्तै पूर्व माओवादीबाट आएका रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी पनि पदाधिकारीका दावेदार हुन् । पदाधिकारीमा निर्वाचन हुने अबस्था आयो भने तीन नेतालाई भारी पर्न सक्छ । सहमतिको आधारमा पदाधिकारी चयन हुदाँ सुदुरपश्चिमबाट लेखराज भट्टलाई पदाधिकारीको कुनै एउटा पद मिल्न सक्ने देखिन्छ । सुदुरपश्चिममा भीम रावलको विकल्पका रुपमा अध्यक्ष ओलीले हेरिरहेको चर्चा छ । थापा उपाध्यक्ष र रायमाझीकाे सचिवमा दावेदारी छ । माओवादीमा हुँदा सचिव रहेका रायमाझी सोही पदमा रहने सोच छ ।