- Loading...
जव सिडिओ जुवाघरमा छापा मार्न गए…………..
- पुनहिल डट कम
- ३ साल अघि
- १७२ पटक पढिएको
म्याग्दीको नव आगन्तुक प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी राना मगर सुरक्षा अधिकारीलाई लिएर भाईटिकाको राती बेनीका जुवाघरमा छापा मार्न निक्लेपनि हात भने खाली रह्यो ।
श्रोतका अनुसार शनिवार भाईटिकाको दिनभर सुरक्षाअधिकारीहरु अथुङ्गे स्थित सेनाको ब्यारेकमा तिहार मनाएको थियो । साँझ ७ बजेतिर बेनी फर्केको प्रजिअ समेतका सुरक्षा अधिकारीहरु वेनी स्थित एक अधिकारीको आवासमा तिहार मनाईरहेको थियो । सोही अवस्थामा कोही कुनै जुवाडेकी पीडित श्रीमतिको (सुराकी?)खवर आएपछि सुरक्षा अधिकारी राती १० बजेपछि जुवाघरमा छापा मार्न निक्लेको थियो ।
प्रजिअ राना, जिल्ला प्रहरी प्रमुख समेत सुरक्षा अधिकारीहरु राती १०.११ बजे क्याम्पसचोकको एक जुवाघरमा छापा मार्न पुगेको थियो । प्रहरी छापा मार्न आएको थाहा पाएपछि कौडा खेल्न भेला भएका जुवाडेहरु होटलको छतमा पुगेर लुकेका थिए । हस्पिटलचोकको जुवाघरमा १० बजेसम्म बास बसेका पाहुनाबाहेक अन्यलाई निकाल्न लगाएर छापा मार्न गएको सुरक्षा अधिकारीको टोली त्यहाँ कुनै जुवाखाल फेला नपारेपछि क्याम्पसचोकको अर्को एक होटलमा पुगेको थियो । हस्पिटलचोकको एउटा होटलमा प्रहरीले छापा मार्दा अर्को छिमेकको होटलमा भने कौडा भैरहेको जानकारहरुले बताउँछन ।
‘म भर्खर त्यहाँ पुगेको थिएँ । कौडा जमेको थियो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वको प्रहरी टोली हस्पिटलचोकबाट सो होटलममा छापा मार्न आउन लागेको सुचना आएपछि सवै छतमा गै वत्ति निभाएर बस्यौं । प्रहरीले रेष्टुरेन्ट र तत्लो तलाको हलमा हेऱ्यो र फर्केपछि हामी झरेर खाल जमाईयो’ जुवामा सहभागी एक जुवाडेले भने, ‘हामीलाई सव सेटिङ छ, ढुक्क हुनुस भनिएको थियो । अचानक सिडिओ नै जुवाघर खोज्दै हिंडेको देख्यौं । यस अघिका सिडिओ आफै कहिल्यै यसरी हिंडेको देखेका थिएनौं ।’
जानकार श्रोतका अनुसार यस वर्ष हस्पिटलचोक, क्याम्पसचोक र कोटभण्डारटोलका ठूला जुवाका अखडा रहे । श्रोतले दिएको विवरण अनुसार यस वर्षको तिहारको अन्तिम बाजीमा रकमका विटा भने पर्वतको जलजला गाउँपालिका तर्फ पुगेको थियो ।