- Loading...
नेपालले कार्बन बेचेर ३६ अर्ब ल्याउने
- पुनहिल डट कम
- ३ साल अघि
- १९३ पटक पढिएको
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका वनले हरितगृह ग्यास उत्सर्जन कटौतीमा योगदान गरेबापत ३० करोड अमेरिकी डलर (करिब ३६ अर्ब रुपैयाँ) प्राप्त गर्ने महत्त्वपूर्ण सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ । वनले सोसेर राखेको कार्बनडाइअक्साइड बिक्रीका लागि नेपालले गरेको यो दोस्रो सम्झौता हो ।
ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) को साइडलाइन बैठकमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले लीफ (लोअरिङ इमिसन बाई एक्सेलेरेटिङ फरेस्ट फाइनान्स) गठबन्धनको आशयपत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्बनडाइअक्साइड बेच्न विश्व बैंकसँग सम्झौता
अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु परिवर्तनसम्बन्धी दूत जोन केरीको उपस्थितिमा सचिव मरासिनीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा नेपालबाट वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलसहित अन्य अधिकारी पनि उपस्थित थिए ।
प्रस्ताव तयार गर्न खटिएका वनस्पति विभागका महानिर्देशक बुद्धिसागर पौडेल आशयपत्रमा हस्ताक्षरपछि कार्बन बिक्रीका लागि बाटो खुलेको बताउँछन् । ‘लीफ गठबन्धनले प्रतिटन १० डलरमा कार्बन खरिद गर्ने उल्लेख गरेको छ,’ उनले भने, ‘सन् २०२२ देखि २०२६ सम्म नेपालले त्यो मूल्यअनुसार रकम प्राप्त गर्छ ।’ सम्झौताअनुसार नेपालले ३० करोड अमेरिकी डलर पाउनेछ । नेपालसहित अन्य मुलुकले पनि कार्बनका लागि प्रस्ताव पेस गरेका थिए । कोप सम्मेलनकै दौरान नेपालसहित कोस्टारिका, इक्वेडर, घाना र भियतनामसँग पनि सम्झौता भएको छ ।
नेपालले गत फागुनमा ९० लाख टन कार्बनडाइअक्साइड बिक्रीका लागि विश्व बैंकसँग सम्झौता गरिसकेको छ । उक्त सम्झौता अनुसार करिब ५ अर्ब रुपैयाँ (४५ मिलियन अमेरिकी डलर) प्राप्त गर्नेछ । तराई भूपरिधि कार्यक्रम (ताल) लागू भएका वाग्मतीदेखि पश्चिमका तराईका १३ जिल्लामा सञ्चित हुने कार्बन नेपालले बिक्री गर्न लागेको हो । *इकान्तिपुरबाट