FLASH NEWS
  • Loading...

कोरोनाको विद्युतीय खोप प्रणाली प्रभावकारी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७६ पटक पढिएको
कोरोनाको विद्युतीय खोप प्रणाली प्रभावकारी

सदरमुकाम बेनी बजारवासी कोरोनाविरुद्धको खोप पाउन ‘कोभिड–१९ विद्युतीय खोप प्रणाली’ मा आबद्ध हुन थालेका छन् ।

कोभिड–१९ विरुद्धको खोपको वितरण, रेकर्डिङ र रिपोर्टिङ प्रणाली पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन र यूएनडीपीको सहयोगमा स्वास्थ्य मन्त्रालयले सुरु गरेको उक्त प्रणालीमा खोप नलगाएका १२ हजार ७ सय ९१ जनाले अनलाइनबाट पूर्वआवेदन (प्रि–रजिस्ट्रेसन) फारम भरेका छन् । नमुनाका रूपमा बेनी नगरपालिकामा मात्र चार महिनादेखि यस्तो प्रणाली लागू गरिएको हो ।

बेनीका १८ वर्षमाथि खोप लगाउन योग्य २२ हजार ७ सय २३ जनसंख्यामध्ये हालसम्म १५ हजार ६ सय ६९ जनाले खोप पाएका छन् । खोप पाएकामा ५ हजार ४ सय २० जना प्रणालीमा आबद्ध छन् । प्रणालीमा प्रविष्ट भएर खोप पाएकाको विवरण जुनसुकै देशमा पुग्दा पनि हेर्न सकिने भएकाले विदेश यात्रामा जानेका लागि बढी उपयोगी छ । ‘बेनीका कोभिड–१९ विरुद्धको खोप पाउनयोग्यमध्ये ९५ प्रतिशत विद्युतीय खोप प्रणालीमा आबद्ध भई प्रि–रजिस्ट्रेसन गरेका र खोप पाएका छन्,’ नगरको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज आचार्यले भने, ‘कोरोनाविरुद्धको खोप पाउन अनलाइन रजिस्ट्रेसन गर्नेमा अधिकांश ग्रामीण भेगका र कम पढेलेखेका छन् । विद्यार्थी, प्राध्यापक, शिक्षक र कर्मचारीसमेत डिजिटल डिभाइसमा बढी पहुँच राख्ने शिक्षित समुदाय नै अनलाइन फारम भर्न तयार भएनन् । उनीहरू भनसुन र पहुँच देखाएरै कोरोनाविरुद्धको खोप लगाउन प्रयत्न गरे ।’

प्रि–रजिस्ट्रेसन गरेकामध्ये ५ हजार ४ सय २० जनाले पहिलो चरणको भेरोसेल, कोभ्याक्स कम्पनीका खोप लगाएका छन् । बेनीमा १८ वर्षमाथिका हरेक व्यक्तिले अनिवार्य विद्युतीय खोप प्रणालीमा अनलाइन फारम भर्नुपर्छ । एपबाट प्रि–रजिस्ट्रेसन फारम भरेपछि प्राप्त ‘कोड’ लिएर मात्र खोप लगाउने गरिन्छ । खोप पाएपछि सोही कोड प्रणालीमा प्रविष्ट गर्ने गरिन्छ । ‘नेपालमा अहिले कोभिड–१९ विरुद्धको खोपको वितरण प्रणाली पारदर्शी भएन । पहुँच र दबाबमा केही क्षेत्रमा मात्र खोप केन्द्रित छ । प्राथमिकतामा पर्नुपर्ने नागरिक छुट्याइएको छ ।

विद्युतीय प्रणालीले यो अपारदर्शी वितरण प्रणालीलाई रोक्ने विश्वास छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कोभिड–१९ एकीकृत सूचना इकाइका प्राविधिक प्रमुख राजेन्द्र पौडेलले भने, ‘विश्वभर र नेपालमा पनि खोप व्यवसायको ठूलो राजनीति चलेको छ । सम्भावित वुस्टर डोजको मात्रा आकलन गर्न हामीसँग यकिन तथ्यांक आवश्यक हुन्छ ।’ विद्युतीय प्रणालीले भविष्यमा कुन कम्पनीको, कहाँ कति वुस्टर खोप आवश्यक पर्छ भन्ने योजना बनाउन सहज हुनेछ ।