धर्र्म, जाति र भाषाको अलमलमा खस क्षत्री र पुन मगर ?

१४ कार्तिक २०७८, आईतवार १७:४३ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

–चन्द्रप्रकाश बानियाँ ।

जनगणना नजिकैै आइसक्यो । एकथरी खसहरुले सकिन्छ भने धर्मं मष्ट लेखाऔं नभए पनि जाति त खस लेखाउन नबिर्सौ भन्दै छन् । एकथरी पुनमगरहरुले हाम्रो जाति मगर होइन भन्न थालेका छन् । खस समाजमा जस्तै मगर समाजभित्र पनि धर्मको रडाको सुरु भएको छ । हिन्दू हुँ भन्ने भ्रम पाल्नेहरु पनि छन् । बुद्धधर्म मान्ने पनि छन् । होइन, हाम्रो धर्मविशेष छैन । मगरजातिको संस्कृति मात्र छ । धर्म लेख्नै पर्ने हो भने प्राकृत लेखाउँदा हुन्छ भन्नेहरु पनि छन् । पितृ मान्ने परम्परा नै मगरको धर्म हो भन्नेहरु पनि छन् । बाहिर सतहमा देखा नपरे पनि खस र मगर दुबै जातिमा धर्म, संस्कृति र जातिको रडाको भित्र भित्रै सल्किएको छ । परिणाम कस्तो आउला भन्न त सकिन्न । मानिसले समाजबाट सिकेको मान्यता र रीतिरिवाज उति सजिलै त्यागिहाल्न गाह्रो मान्छ । विषयसंग सैद्धान्तिक सहमति भए पनि परिवर्तन आत्मसात गरिहाल्न हिच्किचाउँछ । समाजले के भन्ला भनेर डराउँछ । अरुले मानेछन् भने देखाजाला भनेर आफूले पहल लिदैन । सबैले मानेपछि मैले पनि मान्नै त प¥यो भनेर उम्कने बाटो खोज्छ । पानीमाथिको ओभानो हुन रुचाउँछ ।
सन्दर्भ हो पुन मगर र खस क्षत्रीहरुको 
पुनहरु मगर होइनन् भने के हुन् त ? पहाडी क्षत्रीहरु आर्य होइनन् के हुन् त ? पुनहरुलाई परम्परागत जाति आफ्नो होइनजस्तो लागिरहेका छ । खसहरुलाई आफू आर्य वंशी नै हुँ कि भन्ने लागिरहेको छ । विपरित कित्ता जस्तो देखिए पनि पुनहरु र खसहरुमा यतिखेर देखिएको द्विविधा र अन्योलको कारण भने एउटै हो । आफ्नै जाति, धर्म, संस्कृति, भाषा, रीतिरिवाज र पम्पराप्रतिको अविश्वास हो । अज्ञानता हो । यी दुबैथरी लामो समयदेखि भूलभुलैमा रम्दै आएका हुन् । त्यसैले यतिखेर दुबै समाजभित्र बहस भित्रिएको हो । त्यो बहसलाई निरन्तरता दिनु जरुरी छ । वादे वादे जायते तत्वबोध । त्यसैले धर्म, जाति र भाषाको अन्तर्सम्बन्धको बारेमा चर्चा गर्नु समचीन नै मानिने छ । आउनुहोस् सम्बाद सुरु गरौं । एकै बैठक वा लेखोटमा सबै कुरा नआउला, नअटाउला । तैपनि सुरु गरौं । आजै सबै कुराको छिनोफानो भैहाल्ने होइन । त्यसैले धर्मलाई अलग राखेर जाति र भाषाको बारेमा अलिकता कुरा कोट्याउँ ।
जाति भनेको के हो ? जातिको पहिचान कसरी गरिन्छ ? जातिको नस्ल वंशसंग कस्तो सम्बन्ध रहन्छ ? मानिसको पुर्खा एउटौ हो तर संसारमा हजारौं जाति छन् भने ती कसरी बने ? एउटा नस्ल वंशको मानिस अर्को जातिको सदस्य बन्न सक्छ कि सक्दैन ? यति प्रश्नहरुको जवाफ प्राप्त हुने हो भने जातिको बारेमा मानिसको धारणा प्रष्ट हुन्छ जस्तो लाग्छ ।
साँचै जाति भनेको के हो त ? फरक जाति भन्नाले अलगै वंश हो त ? त्यसो होइन । वंशको लहरो पछ्याउँदै जाने हो भने पुगिने ठाउँ एउटै हुन्छ । यतिखेर यो पृथ्वीमा रहेका करिब आठ अरब मानिसको पुर्खा एउटै हो । सबैको साझा बाजे होमोसेपियन्स हो । नरबानरबाट मानिसमा विकसित भएको अफ्किी जन्तु होमोसेपियन्स आजको मानवजातिको साझा पुर्खा हो । अर्कोतिर यो धर्तीमा हजारौं जातिहरु छन् । मानिसहरु अलमलिने कारण त्यही हो । सबै मानिस एउटै पुर्खाका सन्तति हुन् भने जातिहरु अनेक कसरी हुनसकछन् भन्ने प्रश्नको जवाफमा मानिस अलमलिन्छ । त्यसैले सबभन्दा पहिले जातिको निर्माण कसरी हुन्छ अथवा भएको हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ ।
नेपालमा मात्रै पनि सयभन्दा बढी जातिको अस्तित्व छ भनेर मानिन्छ । ती सबै जातिको नस्ल विल्कुल अलग हो भन्ने बुझाई गलत हो । तिनीहरुको समूह छुट्याउँदै जाने हो भने जातिको संख्या कम हुनसक्छ । एउटा जाति वंशानुगत रुपमा अर्को जातिसंग नजिक हुनसक्छ, भाषा संस्कृतिका दृष्टिले दोश्रो जातिसंग नजिक हुनसक्छ । त्यस्तो किन हुन्छ त ? किनकि मानिस मूलत एउटै जाति हो । एउटै नस्ल वंश हो भने कोही कालो र कोही गोरो रङ्गका किन छन् ? कोही अग्ला र कोही पुड्का किन छन् । कोही चुच्चे र कोही बुच्चे किन छन् ? शारीरिक ढाँचा, छालाको रङ्ग, धर्म संस्कृति र भाषाको आधारमा जाति फरक हुन्छ भन्ने भ्रम पनि मानिसमा हुन्छ । मगर भाषा नबोल्ने हुनाले मगर होइनौं कि भन्ने आशंका पुनमगरहरुमा उत्पन्न हुनु र धर्म संस्कृति र जीउडाल दूरुस्तै मिल्ने भएकोले खस र आर्यहरु एउटै जातिका हुनन् भनेर सोच्ने खसहरुको अज्ञानता एकै प्रकारको हो ।
मानिस घुमन्ते युग पार गरेर आजको अवस्थामा आइपुगेको हो । जीविकाको खोजीमा अफ्रिकाबाट निस्केको होमोसेपियन्सहरु संसारभर फैलिए । मानिसको जनसंख्या अहिलेजस्तो ठूलो थिएन । त्यसैले एक ठाउँ छोडेर अर्को ठाउँमा बसाई सरेको मानव समुदायसंग लामो समय देखभेट, हिमचिम, लेनदेन, आवतजावत बन्द भयो । नयाँ ठाउँमा बस्दा घुम्दा नयाँ कुराहरु सिक्यो, नयाँ बोली बनायो, नयाँँ रीतिस्थिति बसाल्यो । पुरानो समाजसंग उसका धेरै व्यवहारहरु भिन्न हुँदै गए । स्थानविशेषको हावापानी र खानपिनका कारणले मानिसको रंग, अनुहार र जीउडाल पनि फरक बन्दै गयो । कुनै जातिको शारीरिक बनोट अग्लो, कुनैको होचो पुड्को । कसैको नाक चुच्चो, कसैको थ्याप्चो, कोही कालो, कोही गोरो, कसैको अनुहार चिल्लो, कसैको जुङ्गादारीभएको झुसे बन्यो । मानिसहरुको शारीरिक बनोट मात्र फरक बनेको होइन, रीतिरिवाजहरु फरक बने, संस्कार संस्कृति फरक बने, अलग भाषाको विकास भयो । बसोबास गर्ने भूगोल त फरक हुने नै भो । त्यसैको समष्टिरुपलाई जाति भनियो । राष्ट्रियता भनियो । जाति भनेको जात होइन । राष्ट्रियता हो ।
जाति कसरी बन्छ भन्ने कुराको गतिलो उदाहरण काठमाडौंको नेवार समाजबाट बुझ्न सजिलो हुन्छ । काठडमौंमा पहिले किराँतहरु आए, पछिपछि लिच्छवि आए, मिथिलातिरबाट तिरहुतिया बाहुनहरु उक्ले, वैशालीका मल्लहरु आए, उत्तरबाट तामाङहरु झरे, पश्चिमबाट खस, मगर र गुरुङ पनि भित्रिए । सबैले आफ्ना पूर्ववंश वा जातिसँग सम्बन्ध तोडे । सबै एउटै भाषा बोल्न थाले, सबैले एउटै रीतिरिवाज र संस्कार संस्कृति मान्न थाले । यसरी त्यो खिचडी समुदाय नयाँ जातिको रुपमा विकसित भयो । जसलाई नेवार भनियो । सायद ती सबैलाई जोड्ने नेवाः भाषा थियो । त्यसैले जातिको नाम नेवार रहन गयो । त्यसैले नेवार एउटा सभ्यता बन्यो, संस्कृति बन्यो, राष्ट्रियता बन्यो । त्यसैलाई जाति भनियो । निश्चित भूगोलमा बस्दै आएको, स्वतन्त्र भाषा भएको, आफ्नै रीतिसंस्कृति मान्ने मानवसमूहलाई एउटा जाति मानिने हो । काठमाडौंका नेवारको इतिहास बुझ्यो भने जाति के रहेछ भन्ने बुझ्न कठिन पर्दैन ।
अलिकता कुरा खसको गरौं । खस जातिको विकासको इतिहास निकै लामो छ । यो जाति प्राचीन युनान, ककेसस, मध्यपूर्व, पश्चिम एशिया, इरान, इराक, अफगानिस्तान, तिब्बत, कास्मिर, कुमाउ गढवाल हुँदै नेपाल छिरेर पूर्वमा आसाम वर्मासम्म पुगेको देखिन्छ । खसहरु चर्चेको भूगोल निकै ठूलो छ । कुनै जमानामा दक्षिण एशियाकै सबभन्दा ठूलो साम्राज्य खसहरुकै थियो । खसको अलग सभ्यता थियो, भाषा थियो, भूगोल थियो, संस्कृति र रीतिरिवाज थिए । सम्भवतः धर्म पनि अलग थियो । एउटा जाति विकासका लागि चाहिने सबै कुरा खस जातिसंग छन् । खस लामो इतिहास भएको जाति हो । खस एउटा अलग जाति थियो होइन कि आज पनि छ । खसको मौलिक भषा थियो, छ । अनेक उपभाषा अर्थात भाषिकाहरु छन् । नेपाली भाषाको जननी खस भाषा नै हो । नेपालीको मूल खस भाषा हो ।
फेरि अलिकता कुरा गरौं पुन मगरहरुको । पुन मगरको जाति कुन हो भन्ने प्रश्न उठाउन थालिएको छ । सबभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने जाति भनेको नस्ल होइन । जात पनि होइन । जाति भनेको एउटा समुदायले लामो कालखण्डमा विकास गरेको राष्ट्रियता हो । फरक भूगोल, फरक भाषा, फरक इतिहास, फरक परम्परा, फरक रीतिरिवाजहरु, फरक चाडपर्व, फरक संस्कृति भएको मानवसमुदायलाई एउटा जाति मानिन्छ । म्याग्दीमा पुन मगरहरुको बसोबास ठूलो छ । मगर भाषाहरु बोलिदैनन् । फरक जाति हुनका लागि फरक भाषामा पनि चाहिन्छ । मौलिक भाषा नभएको जाति हुदैन । म्याग्दीका मगरहरुको मौलिक भाषा अहिले छैन तर इतिहासमा थियो भन्ने कुरा त्यहाँको वनजङ्गल, वनस्पति, ढुङ्गा पहरा, नदीनाला, बस्ती र डाँडा थुम्काहरुले चिच्चाई चिच्चाई भन्दै छन् । म्याग्दी जिल्ला भनेर निचाउने नदीको नाम नै मगर भाषामा छ । कुनै कारणवश त्यस क्षेत्रमा बसोबास गर्दै आएको मगर समुदायको भाषा मेटियो । भाषा बिर्से पनि रीति संस्कृतिहरु मौलिक छन् । पुरानो पर्वतराज्यभित्र मगर भाषा मेटिएको देखिन्छ, पर्वत बाहिर काइके र ढुट नामले भाषा जीवित छन् । चौबीसी राज्य पर्वतमा बसोबास गर्ने मगरहरुको भाषा हरायो भन्दैमा उनीहरु मगरजातिका होइनन् भन्न मिल्दैन ।
मानिसहरुलाई के लाग्न सक्छ भने अस्तित्व समाप्त भैसकेको सानो जाति कुसुण्डाको भाषा जीवित थियो । जाति उन्मूलनको अवस्थामा पुगिसकेका राउटेहरुको पनि मौलिक भाषा छ । म्याग्दी बाल्गुलङमा रहेको अपेक्षाकृति सानो जातिसमूह छन्त्याल र थकालीहरुको भाषा बच्ने, विशाल भूभाग ओगटेर बसेको पुन मगरहरुको भाषा मात्र मेटिने कसरी हुनसक्छ ? अवश्य, पुनहरु मगरइतर जातिकै हुनुपर्छ भन्ने लाग्न सक्छ । त्यसो हो भने पुनहरुको मौलिक भाषा कुन हो त ? खस त अवश्य होइन । खस जातिमा जनै नलगाउनेहरु शूद्र मानिन्छन् । मगरहरु शूद्र हुन् त ? कर्णालीक्षेत्रमा जनै नलगाउने पावइ खसहरु पनि छन् । तर उनीहरुलाई क्षत्री ठकुरी भनिन्छ । पुन भनिदैन । मुस्ताङतिरबाट झरेका अलग जाति हुन् भने पनि त्यति ठूलो संख्यामा रहेका पुनहरुको भाषा मेटिने थिएन ।
सानो संख्यामा अन्यत्र सरीजानेहरुले नयाँ समाजमा घुलमिल हुनुपर्ने हुन्छ र पुरानो भाषा बिर्सन्छ । प्रयोग गर्दैन । गुर्जामा बसाई सरीजाने छन्त्यालहरुले भाषा बिर्सेको देखिन्छ । तर अलि ठूलो संख्यामा बसाई सर्ने जातिले आफ्नो भाषा बिर्सदैन । त्यसैले पुनहरुको अर्को भाषा थियो भन्न सकिन्न । त्यसो भन्न त म्याग्दीको ठाउँवस्ती र खोलानालाको मगर नामले पनि दिंदैन । त्यस क्षेत्रमा मगर बस्ती थियो । मगरभाषा पनि प्रचलनमा थियो । पहिलो बस्ती पनि मगरकै थियो । कुनै खण्डखातिरवश भाषा मासियो । मास्न वाध्य पारियो । केबल भाषा मासिएकै कारणले पुनहरुको जाति मगर होइन भन्न मिल्दैन । वरपरका मगरहरुसंग केही रीतिरिवाजहरु मिलेनन् भन्दैमा पुनहरु मगर होइनन् भन्न मिल्दैन । बाह््र मगरात र अठार मगरातमा भाषा नै फरक छ । कैयौं रीतिसंस्कृतिहरु फरक छन् । ओल्लो डाँडो र पल्लो डाँडाको बस्तीमा भाषिका फरक हुन्छ । सिखका, राखु र मल्लाजका खसहरुको बोलीको लवज फरक हुन्छ । त्यसो भन्दै ती फरक जाति हुन् भन्न मिल्छ र ?
जाति बन्ने एउटा सर्त भाषा अवश्य हो । मौलिक भाषा नहुँदैमा मानिस निर्जातीय हुदैन । बरु सबै तत्व पुग्छन् भने सानो समुदाय भए पनि अलग जातिको मान्यता पाउन सक्छ भन्ने उदाहरण मुस्ताङका चारगाउँले थकाली समुदायबाट लिन सकिन्छ । एउटै भाषा बोल्ने, एउटै रीति संस्कृति मान्ने, एउटा निश्चित भूगोलमा बसोबास गर्दै आएका, निकै लामो इतिहास भएको समुदायले जातिको नाम पाउँछ । जाति भनेको एउटै बाबुका सन्तान होइन ।
आजलाई यत्ति नै । अर्को अंशमा धर्म संस्कृतिको बारेमा चर्चा गरौैंला ।