खेतमै उम्रियो धान‚ किसानलाई परिवार पाल्ने चिन्ता

६ कार्तिक २०७८, शनिबार ०८:३२ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता
लगातारको चार दिन वर्षाले किसानले काटेर खेतमा राखेका धान उम्रिन शुरु भएको छ। पानी सुक्न नपाएको खेतमा धानको परालसहितका बाला कुहिएका छन्। लालझाडी गाउँपालिकाको कञ्जका किसान नन्दला राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित छन्। ‘लगातार चार दिनको वर्षाले खेतमा काटेर राखेको आधाभन्दा बढी धान बगाएर लग्यो,’ उनले भने, ‘बग्नबाट बचेको धान उम्रिन शुरु भएको छ। केही धान बालासहित कुहिएको छ।’ दुई बिघा क्षेत्रफलमा लगाएको धान वर्षभरि खानका लागि राखेर रानाले बेच्न समेत भ्याउँथे। बेचेको धानबाट परिवारको खर्च धानिँदै आएको थियो। यस वर्ष समयमै रोपेकाले विगतका भन्दा राम्रो पनि फलेको थियो। तर, बेमैसमी पानीले सबै सखाप बनाएको रानाले बताए। ‘समयमै वर्षा हुँदा धान समयमै रोप्न पाएका थियौं। खेतमा धानका बाला विगतको तुलनामा निकै राम्रो थियो,’ उनले भने, ‘बाली भित्र्याउने बेला परेको पानीले सबै सखाप पार्‍यो। बेच्दै आएको धान अब खरिद गरेर खानुपर्ने अवस्था आइलागेको छ।’ उनी जस्तै लालझाडी गाउँपालिकाका अधिकांश किसानको खेतमा काटेको धान दोदा नदीमा बगेको छ। बचेको धान पनि कुहिएर कामै नलाग्ने भएको छ। शुक्लाफाँटा नगरपालिका-२ रानीपुरका किसान भोला चौधरीले पानी पर्नुअगावै खेतबाट धानका मुठा बाँधेर थ्रेसिङ गर्नका लागि थ्रेसर मेसिनको खोजी गर्दै थिए। थ्रेसर मेसिन नपाउँदै पानी पर्‍यो। एक बिघा क्षेत्रफलमा अधिया लगाएको पूरै धान खेतमै भिज्यो। ‘खेतबाट धान उठाउनै पाएनौं‚’ उनले भने, ‘पानीले सबै धान भिज्यो। पानी पर्दै गरेका बेला खेतकै आलीमा लगेर धान राखे पनि बालामै धान उम्रिएको छ।’ धान लगाउनका लागि गरेको मिहिनेत खेर गयो। जोताइ, बीउ, मलखाद, सिँचाइ गर्दा र खेताला लगाउँदाको खर्च समेत नउठ्ने भयो। परिवार पाल्नकै लागि मजदुरीमा जानुपर्ने अवस्था आइलाग्यो। कोरोनाको महामारी रहेकै बेला मजदुरी पनि पाउन मुश्किल भएको उनको भनाइ रहेको छ।   धान रोप्नका लागि महँगोमा मलखाद र बीउ खरिद गर्नुपर्ने, जोताइ, सिँचाइ र खेताला लगाउँदा समेत सहकारी र समूहबाट कर्जा निकाल्नु पर्ने अवस्थामा वर्षाले पूरै बालीमा नोक्सानी पुर्‍याएपछि किसान बिचल्लीमा परेको नेपाल किसान संघका केन्द्रीय सदस्य शेरबहादुर साउदले बताए। ‘वर्षाका कारण धानबालीमा नोक्सानी व्यहोरेका किसानलाई सरकारले तत्काल क्षतिपूर्ति रकमको व्यवस्था गर्नु पर्छ‚’ उनले भने, ‘किसान अन्नदाता हो। सबैको पेट पाल्दछ। किसान अप्ठ्यारोमा परेका बेला सरकारले हेर्नु पर्दछ। किसानले अन्न उत्पादन नगरे भोक भोकै बस्ने बेला आउन सक्छ।’ त्यसैले किसानको मार्कालाई बुझेर सरकारले मालपोत, सिँचाइको विद्युत् महशुल मिनाहासँगै अनुदानमा बीउविजन उपलव्ध गराउने व्यवस्था गर्नु पर्दछ। वर्षाको पानीले खेतको धान नोक्सान भएकै बेला जंगली हात्तीले समेत बाँकी रहेको धानमा क्षति गर्न थालेकाले किसानलाई त्यसको समेत क्षतिपूर्ति दिइनु पर्ने उनले बताए। मौसमविद्हरुले पहिलानै भीषण वर्षा हुने बताए पनि त्यो कुरा किसानसम्म पुग्न नसक्दा धानबाली, तरकारी बालीमा ठूलो क्षति भएको उनको भनाइ रहेको छ। स्थानीय तहले समेत डुबान र बाढीबाट प्रभावित भएका किसानको तथ्यांक संकलनको कार्य अगाडि बढाएका छन्। धान, तरकारी बाली र उखु बालीको क्षतिको विवरण संकलनको कार्य वडा कार्यालयमार्फत स्थानीय तहले कार्य अगाडि बढाएका छन्। शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिलबहादुर ऐरले सात दिनभित्र वर्षाका कारण क्षति व्यहोरेका किसानको विवरण संकलन गरी पठाउनका लागि वडा कार्यालयलाई निर्देशन दिइएको बताए। वडाले संकलन गरेको विवरण नगर विपद् समितिमार्फत कार्यपालिकामा लगेर क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरिने उनले बताए। ‘नगरको बजेटले सबै किसानलाई क्षतिपूर्ति दिन भ्याउँदैन‚’ उनले भने, ‘प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्छौं। प्रधानमन्त्रीलाई भेटेरै यसबारे कुरा पनि राखेको छु।’ बेलौरी, पुनर्वास, कृष्णपुर नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाँउपालिकाले समेत वर्षाले धानबालीमा क्षति गरेको विवरण संकलनको कार्य अगाडि बढाएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत डा. दिलबहादुर विष्ट स्थानीय तहका कृषि शाखामार्फत धानलगायतका बालीको क्षतिको विवरण संकलनको कार्य भैरहेको बताए। ‘जिल्लाका नौ वटै स्थानीय तहका कृषि शाखामार्फत क्षतिको विवरण संकलनको कार्य भैरहेको छ‚’ उनले भने, ‘एक दुई दिनभित्रै क्षतिको यकिन विवरण उपलव्ध गराउन सकिन्छ।’ उनका अनुसार जिल्लाका २५ प्रतिशत किसानले मात्रै धान बाली भित्र्याउन पाएका छन्। ७५ प्रतिशत किसानको धान बालीमा वर्षाले क्षति गरेको छ। तरकारी बालीमा २५ प्रतिशत, तेलहन र उखु खेतीमा वर्षाले पाँच प्रतिशत नोक्सानी पुर्‍याएको छ।   *थाहाखवरबाट