FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकमा घन्टाैं जाम, रमाइलाे गर्न अाएका यात्रुलाइ सास्ती

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२६ पटक पढिएको
Post Thumbnail

बेनी–जोमसोम सडकको म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा खण्डमा पर्ने पहिरोग्रस्त रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सवारी जाम हुँदा हजारौं यात्रु कम्तीमा १५ घन्टादेखी अलपत्र छन ।पहिरोले साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दोहोरो गाडी पास हुन नसक्दा तीन दिनदेखीको दर्के झरीमा यात्रु अलपत्र पर्ने गरेका छन । तल कालीगण्डकी छ्याङ्ग देखिने भीरको साँघुरा र हिलाम्मे सडकमा गाडी चिप्लिएर दुर्घटनामा उस्तै छ ।
‘हामी हिजो सोमबार तीन बजेदेखी काप्रे–बाँदरजुंग भीर क्षेत्रको पहिरोग्रस्त क्षेत्रको जाममा फसेका छौं । हामी भन्दा घन्टौं अघिदेखी जाममा पर्ने पनि छन । यो झरीमा मुस्ताङ भ्रमण जाने र फर्केने हजारौं यात्रु अनकन्टार भीर क्षेत्रमा अलपत्र छन’ १६ घन्टादेखी जाममा फसेका कान्तिपुर दैनिकका दिनेस रेग्मीले भने, ‘राज्यको कमजोर उपस्थितीमा ट्राफिक ब्यवस्थापन नहुँदा सवारी साधनको उछिनापाछिनले झन साँघुरो र जोखिमपूर्ण सडकमा यातायात झन अस्तब्यस्त भएको छ ।’
स्तरवृद्धी गर्न निर्माणाधिन बेनी–जोमसोम सडकको सवै भन्दा जटिल भाग मानिने दाना–घाँसा ५ किमी सडक खण्डमा मनसुन रोकिएपछि यातायात केही सहज भएको थियो । सडकमा यातायात सहज भएपछि मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाईकलमा आउने यात्रुको दैनिक भीड लाग्ने गरेको थियो ।
‘दशैंको विदामा रमाईलो गर्न आएको कहिल्यै नपाएको दुख पाईयो । विचको भीरमा १२–१५ घन्टासम्म जाममा फस्दाको पीडा मुस्ताङ उक्लेपछि भने विर्सने रहेछ’ वुटवलबाट आएका यात्रु मुकेश शाक्यले भने, ‘मनसुन सफा नभै मुस्ताङ आउने हतारो नगरौं । अति कष्टकर मात्र होईन उस्तै जोखिम पनि छ, सडक ।’


बेनी–घाँसा खण्डको चमेरे, महभीर, गुईठे, काप्रे र बाँदरजुँगभीरमा सडक बढी हिलाम्मे छ । सडक विस्तार गर्ने क्रममा पुरानो ‘सेट’ भएको भित्तो डोजरले खनेर छोडेकोले माथीबाट जंगलसहित खसेको सडक हिलाम्मे भएको हो । केही स्थानमा भित्ता काटेर निक्लेको माटो अब्यवस्थित तरिकाले डिलमुनी फालेकोले पहिरो बनेर बग्दा समस्या बनेको हो ।
‘म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको रुप्से, काप्रे र बाँदरजुंग भीर खण्डमा पहिरोले सडक वान वे छ, हिलाम्मे पनि । त्यहीं ठूला वस, ट्रक जस्ता गाडी फसेपछि ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुन्छ । हजारौं यात्रुको विजोग नै हुन्छ’ घट्नास्थल पुगेर फर्केका जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार राईले भने, ‘केही जना प्रहरी र स्थानीयले मात्र जाम खुलाउन समस्या हुने गरेको छ । बर्षा नरोकिंदासम्म मुस्ताङ जान रोक लगाउने र रातीको समयमा तल झर्ने र माथी उक्लने बन्द गर्न मुस्ताङसँग सहकार्य भैरहेको छ ।’


बेनी–जोमसोम–कोरला सडक आयोजनाको तल्लो बेनी–जोमसोम ७६ किमी खण्डलाई ४ प्याकेज बनाई नाली, ७ मिटर पीच सहित १० मिटर चौडा सडक निर्माण गर्न २ अर्व ४९ करोड लागतमा सडक विस्तार काम भैरहेको छ ।
‘साँघुरो, हिलाम्मे र भिरालो सडकमा गुडेको गाडी भित्र बस्दा त मुटु नै हल्लिन्थ्यो । गाडी दायाँबायाँ पुरै झुकेर कोल्टे पर्दा परिवार सम्झाउने रहेछ’ मुक्तिनाथ दर्शनगरी फर्केका काठमाण्डौ कलंकीका अंकित अधिकारीले भने, ‘पहिरोग्रस्त सडक अझै जोखिमपूर्ण छ ।’