FLASH NEWS
  • Loading...

पाकिस्तानकी एक महिलाले जन्माइन् सात बच्चा, सबै जीवित

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९७ पटक पढिएको
पाकिस्तानकी एक महिलाले जन्माइन् सात बच्चा, सबै जीवित

‘गर्भ रहनासाथ हामीलाई थाहा भइसकेको थियो, एकभन्दा धेरै बच्चा हुन्छ भन्ने। जुन क्लिनिकमा मेरी श्रीमती नियमित चेकअपमा जान्थिन्, अवस्था बिग्रिएपछि क्लिनिकका मान्छेलाई हामीलाई अस्पताल जाने सुझाव दिए।”

यो पाकिस्तानको पख्तूनख्वा ऐवटाबाद शहरका यार मोहम्मदको शब्द हो। उनी हालै मात्रै सात बच्चाका पिता बनेका छन्।

मोहम्मदले भने, “हामी निक्कै अप्ठेरो अवस्थामा ऐवटावादको जिन्ना इन्टरन्याशनल अस्पतालमा आई पुगेका हौँ। अल्लाहको कृपाले हामीलाई चार छोरा र तीन छोरी भए। हामी धेरै खुशी छौँ।”

मोहमम्द पाकिस्तानको बटग्राम जिल्लाका स्थायी बासिन्दा हुन्। उनकी श्रीमतिले निजी अस्पतालमा सात बच्चालाई जन्म दिएकी छन्।

यी सात बच्चाअघि मोहम्मदका पहिल्यै नै दुई छोरी छन्। उनी भन्छन्, “यी बच्चालाई पालन पोषण गर्न हामीलाई कुनै मुस्किल हुँदैन। संयुक्त परिवारमा बस्ने हुँदा परिवारका सबै सदस्यले यिनीहरूको भरणपोषणामा मद्दत गर्नेछन्।”

अप्रेशन गर्ने डाक्टर नै आश्चर्यचकित

ऐबटाबाद जिन्ना अस्पतालकी गायनोकोलोजिस्ट डाक्टर हिना फैंयाजका अनुसरा यी महिला पहिलो पटक शनिबार अस्पताल आएकी थिइन्। डाक्टर हिना भन्छिन्, “अल्ट्रासाउन्ड र अन्य रिपोर्टबाट हामीलाई यी महिलाको पेटमा पाँच बच्चा छन् भन्ने थाहा भयो। उनको गर्भ रहेको आठ महीना भइसकेको थियो।

डाक्टर हिना भन्छिन्, “म पहिला त रिपोर्ट देखेर आश्चर्यचकित भएँ।‍ यी महिलाको रक्तचाप खतराको स्तरभन्दा माथि पुगेको थियो। उनको पेट ज्यादै ठूलो थियो। यसभन्दा अघिका उनका दुई छोरी अप्रेशनबाट भएका थिए। पहिला अप्रेशन गरेको स्थानमा उनलाई ज्यादै दुखेको थियो। अप्रेशन गरेको टाँका र पेट फाट्ने अवस्थामा पुगेको थियो। यस्तो अवस्थामा बच्चा र आमा दुवैको ज्यानलाई जोखिम हुन्थ्यो।”

डाक्टर हिना थप्छिन्, “हामीसमक्ष अर्को पनि खतरा थियो। अप्रेसनपछि महिलाको शरिरबाट धेरै रगत बग्छ कि भन्नेमा हामी चिन्तित थियौँ। महिलाको रक्तचाप पहिला नै धेरै हुँदा खतरा झनै ज्यादा थियो।”

शनिबार आफ्नो ड्युटी ओपीडीमा रहेको बताउँदै डाक्टर हिना थप भन्छिन्, “मैले पूरा मामिलाका विषयमा आफ्नो विभागको प्रमुख डाक्टर रुबिना बशीरलाई भनें, उहाँले परिवारका सदस्याको सहमतिमा तुरुन्तै अप्रेसन गर्ने सल्लाह दिनुभयो। यो ठूलो अप्रेसन थियो, त्यसैले इमरजेन्सी अप्रेसनको तयारी गरियो। बालरोग विशेषज्ञ डाक्टरलाई पनि अप्रेसनमा सहभागी गराउने निर्णय भयो।”

उनले परिवारसँग रगतको जोहो नभएको बताउँदै आवश्यक पर्ने रगत आफूहरूले नै जुटाएको बताइन्।

अप्रेशनको कठिनपूर्ण चरण

यो अप्रेशनका लागि उनका तीन कनिष्ठ डाक्टर पनि सहभागी रहेको डाक्टर हिना बताउँछिन्।

उनले अप्रेशन एक घण्टासम्म चलेको बताइन्। पेट चिर्दा नसा, गर्भाशय र पिसाब थैली जोडिएको उनी बताउँछिन्। महिलाको पेट पहिला नै धेरै फुलेको हुँदा गर्भाशयसम्म पुग्न पनि मुश्लिक भएको उनी सम्झन्छिन्। “जब हामी अप्रेशनको सबै चरणमा सफल हुँदै गयौँ, एक–एक गर्दै बच्चालाई आमाबाट छुट्याउँदै गयौँ। ज्यादा रगत नबगोस् भन्नका लागि यो हामीले सर्तकसाथ गरेका थियौँ।”

सात बच्चा जीवित रहनु नै चमत्कार !

डाक्टर हिना भन्छिन्, “योभन्दा अघि मैले गरेको ठूलो अप्रेशन भनेको एक महिलाको पेटबाट तीन बच्चा निकाल्ने थियो। त्यसैले यो अप्रेसनमा मेरो केही अनुभव थियो। यद्यपि, तीनभन्दा बढी बच्चालाई जन्म दिन मद्दत गरेको यो मेरो पहिलो अनुभव हो।”

उनी भन्छिन्, “अल्ट्रासाउण्डमा पेटमा कति बच्चा छन् भन्ने यकिन त हुँदैन। त्यसैले यो अप्रेसनमा हामीले कम्तीमा ६ बच्चा होलान् भन्ने अनुमान गरेका थियौँ। त्यसैले हामीले ६ बच्चालाई आवश्यक पर्ने समग्री जुटाएका थियौँ। बच्चालाई आमाबाट छुट्टाउन थालेपछि मात्रै हामीलाई बच्चा ६ होइन ७ वटा छन् भन्ने थाहा भयो।”

अस्पतालमा बच्चाका लागि आवश्यक सामग्री थियो नै, त्यसैले अर्को बच्चालाई आवश्यक पर्ने सामग्री मगाइहालेको डाक्टर हिना भन्छिन्, “जब हामीले आमाको गर्भबाट सातौँ बच्चालाई पनि बाहिर निकाल्यौँ हाम्रो खुशीको सीमा नै रहेन।”

गर्भमा धेरै बच्चा रहेको अवस्थामा सबै बच्चा जीवित र स्वस्थ हुने सम्भावना एकदमै कम हुने उनी बताउँछिन्।

बच्चालाई अस्पतालको नर्सरीमा र आमालाई आईसीयू वाडमा सारिएको छ। अहिले आमासहित बच्चाको अवस्था स्थिर रहेको बताइएको छ। समयभन्दा अघि जन्मिएका कारण बच्चालाई केही समय अस्पतालकै राख्नुपर्ने बताइएको छ।

दबाईका कारण एकभन्दा बढी बच्चाको जन्म

डाक्टर हिनाका अनुसरा महिलाले गर्भधारण हुने दबाइ सेवन गरेकी थिइन्। “दबाइ प्रयोगका कारण महिलाको शरीरमा एकभन्दा बढी डिम्ब गर्भाधारण गर्नयोग्य हुन्छ। यस्तो हुँदा एकै समयमा एक वा एकभन्दा बढी बच्चा रहन जान्छ,” हिनाको तर्क छ।

आफूहरूको अनुसन्धानले यी महिलाले गर्भधारण गर्ने औषधिको सेवन गरेका कारण एकभन्दा बढी बच्चा रहेको पत्ता लागेको डाक्टर हिनाको दाबी छ। ती महिलाले कुनै डाक्टरको सल्लाहमा त्यो औषधिको सेवन गरेकी थिइन् वा आफै गरेकी हुन् त्यस विषयमा भने आफूहरू अनजान रहेको उनले बताइन्।

“यस्ता औषधि प्रयोगका विषयमा महिलाहरू ज्यादै होसियार हुनुपर्छ। कुनै विशेषज्ञ डाक्टरको सल्लाहमा मात्रै यस्तो औषधिको प्रयोग गर्नुपर्छ। यी महिला र बच्चाहरू भाग्यमानी हुन्। तर, सबै यिनीहरू जस्तै भाग्यमानी हुन्छन् भन्ने छैन।” *एजेन्सीहरू