FLASH NEWS
  • Loading...

गण्डकीमा सत्ता गठबन्धनभित्रै मनमुटाव

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८६ पटक पढिएको
गण्डकीमा सत्ता गठबन्धनभित्रै मनमुटाव

गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । माओवादी र जनता समाजवादी पार्टीले मन्त्री नियुक्तीमा असहमति जनाएका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको सहमति भन्दै डोबाटे विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरेपछि कांग्रेस बाहेकका दलहरू असन्तुष्ट बनेका छन् । शपथ ग्रहण कार्यक्रममा सत्ता साझेदार दल माओवादी, जसपा र सरकारको समर्थक दल जनमोर्चा उपस्थित भएन ।

‘हाम्रो सहमति नै छैन । त्यसैले शपथमा पनि गइएन । कुरा चाहिँ केन्द्रमै भएको भन्नु भएको छ, मुख्यमन्त्रीले । केन्द्रमा कुरा भएको भए हामीलाई पनि जानकारी हुनुपर्ने हो । पार्टीले केही भनेको छैन,’ माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘यसो बुझ्दा व्यवस्थापन माधव नेपाल पक्षको पनि गर्नुपर्ने हुन्छ । हाम्रो पनि व्यवस्थापन गर्नुपर्‍यो । मन्त्री थप्न १२ भन्दा पाइन्न । अब माओवादी र माधव पक्षको व्यवस्थापन मिलाउनुपर्ने भएकोले हतार नगर्न भनेको थिँए । पटक-पटक भने । मुख्यमन्त्रीले सुन्नुभएन ।’

माओवादी प्रमुख सत्ता साझेदार दल हो । ‘यो नियुक्तीमा हाम्रो सहमति छैन । केन्द्रले मिलाएको हो भने, खबर गरोस् । अध्यक्षले मलाई सिधै भन्नुपर्ने हो,’ चुमानले थपे, ‘हामीलाई कांग्रेसले मिचेर गएको महशुस भयो । यसरी नै जाने हो भने, के-के हुन्छ के-के । गठबन्धन भएपछि सहमतिमा गर्नुपर्‍यो नि त । भोलि के गर्ने भन्ने निर्णय लिएको छैन । हामी पनि बुझ्दै छौं ।’

गण्डकीमा सत्तारुढ कांग्रेसको १५, माओवादीको १२, जसपा दुई, जनमोर्चा तीन (एक कारवाही) र एक स्वतन्त्र सांसद गठबन्धनमा छन् । एमालेका २७ सांसद प्रतिपक्षमा छन् ।