FLASH NEWS
  • Loading...

इतिहास रच्ने अवसर

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८८ पटक पढिएको
इतिहास रच्ने अवसर

साफ च्याम्पियनसिप दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता हो ।

सन् १९९३ बाट सार्क गोल्डको नामबाट सुरु प्रतियोगिताले २८ वर्ष पार गरिसकेको छ । तर, नेपालले साफ च्याम्पियनसिपमा अहिलेसम्म च्याम्पियन हुने अवसर पाएको छैन्।

माल्दिभ्समा जारी १३ संस्करणको साफमा भने नेपाललाई इतिहास रच्ने अवसर छ । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको छ । र, नेपालले आज शनिबार भारतविरुद्ध उपाधिका लागि खेल्दैछ ।

भारतको साफ इतिहास फरक छ । साफमा भारतको एक्लो दबदबा छ । भारतले कीर्तिमानी ७ पटक साफको उपाधि जितेको छ ।

साफमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन भनेको तेस्रो स्थानमा रहनु थियो । जुन सन् १९९३ को पहिलो सार्क गोल्डमा प्राप्त भएको थियो । राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपाल भारत र श्रीलंकापछि तेस्रो स्थानमा रह्यो ।

यस पटक भने नेपाली टिमले फाइनलमा स्थान बनाउँदै इतिहास बनाईसकेको छ । अब नेपाललाई अर्को इतिहास रच्न एक खुड्किलो बाँकी छ । त्यसको लागि भारतको चुनौती पन्छाउनु पर्नेछ ।

नेपालले आज भारतलाई हराएमा पहिलो पटक साफको उपाधि जित्नेछ । जुन नेपाली फुटबलको ऐतिहासिक दिन हुनेछ । 

‘हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,’ नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भन्छन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको मुख्य लक्ष्य नेपाललाई साफको उपाधि जिताउने छ । अल्मुताइरी पटक पटक भन्दै आएका छन् । तर, भारतको चुनौती पन्छाएर इतिहास बनाउनु नेपाललाई सहज छैन । दक्षिण एसियाली फुटबलमा नेपालको बाधक भारत बन्दै आईरहेको छ ।

लिग चरणको भेटमा समेत नेपाल भारतसँगै पराजित भएको थियो । सुरुआती दुई खेलमा जित निकालेको नेपाल तेस्रो खेलमा भारतसँग १-० ले पराजित भएको थियो । नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ । यस्तै नेपाल भारतविरुद्धको बिगत भुलेर फाइनल खेल्नेछ । 

हामी विगतको बारेमा वास्ता गर्दैनौं । विगत पहिले नै गईसक्यो । हामीले विगतमा के गर्यौं । त्यसलाई मतलब गर्ने छैनौँ । हामीले फाइनल खेलको बारेमा मात्र सोचेका छौँ,’ कप्तान किरण भन्छन् ।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । *खेलपाटी