गर्भ जोगाउनै गार्‍हो, म्याग्दीमा मृत शिशु जन्मने दर बढ्दाे

२२ आश्विन २०७८, शुक्रबार १३:१२ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

गर्भ वसेको तीन महिना पुग्नै लाग्दा अचानक तल्लो पेट दुख्न थालेपछि मंगला गाउँपालिका, २ कि ३५ बर्षिया एक गर्भवती बेनी अस्पताल पुगिन । परीक्षणपछि थाहा भयो, उनको गर्भ खेर गैसकेको रहेछ । दम्पत्तिको तेस्रो गर्भबाट मृत शिशु जन्मेसँगै सन्तानको सपना तुहिएको हो ।
बेनी अस्पतालमा रहेको मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर)ले राखेको पछिल्लो तीन वर्षको अभिलेख अनुसार आफै गर्भ तुहिने र गर्भको उमेर पुगेपनि मृत जन्मने समस्या बढ्दै गएको देखिएको देखिएको छ । रेकर्ड अनुसार आव ०७५/०७६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुन गएका मध्य १२ जनाको पेटभीत्रै वच्चाको मृत्यु थियो । सोही वर्ष ६ जना नवजात शिशुको २२ दिन भित्रै मृत्यु भयो ।
त्यसैगरी आव ०७६/०७७ मा १५ जना गर्भवतीले मृत शिशु जन्माए/शल्यक्रियागरी झिकियो । त्यो वर्ष एक जना आमाको सुत्केरीपछि रक्तश्राव भै मृत्यु भयो । ३ जना जवजात शिशु मरे । आव ०७७/०७८ मा २० जना गर्भवतीले गर्भको शिशु जिवित जन्मन सकेनन । २ जना नवजात शिशुको जन्मेको एक हप्ता भित्रै मृत्यु भएको थियो ।
‘सामान्यया गर्भरहेको तीन महिना भन्दा पहिला भ्रुण आफै बाहिरिने समस्या लिएर गर्भवती स्वास्थ्य संस्थामा आउँदैनन । अभिलेख पनि राख्ने गरिन्न’ बेनी अस्पतालकी मातृशिशु तथा इन्डोर इन्चार्ज मनदेवी गौतमले भनिन, ‘अधिकांश गर्भवती सुत्केरी हुने समय पुग्नै लाग्दा पेटमा वच्चा चलेन भन्दै आउँछन । जाँच गर्दा मृत्यु भैसकेको हुन्छ । कति त पेटमै वच्च सडिसकेको अवस्थामा आउँछन ।’
गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन नसक्दा पनि भ्रुण/शिशुको गर्भमै मृत्यु हुने डाक्टरहरु बताउँछन । बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जीतेन्द्र कंडेलका अनुसार आमाको गर्भबाट भ्रुण वा शिशु २८–३० हप्तासम्म गर्भाशयबाट बाहिर निस्कनुलाई गर्भ तुहिनु/खेर जानु भनिन्छ ।
डा. कंडेलका अनुसार गर्भावस्थामा महिलाले गहै काम गर्दा, गर्भावस्थामा गम्भीर चोटपटक लागेमा, जथाभावी औषधी सेवन गरेमा, शरीरमा हर्मोनको असुन्तुलन भएमा, यौनजन्य रोग लागगेमा, पाठेघर असामान्य भएमा, पाठेघर भित्र अनावश्यक तन्तु वृद्धी भएमा, उमेर नपुगी गर्भधारण गरेमा र गर्भको भ्रुणमा क्रोमोजोम खराव भएमा गर्भ खेर जाने वा मृत जन्मने हुन सक्छ । कहिले काहीं गर्भ ३८–४० हप्ता आयु पुगेपछि पनि कुनै कारणवस अचानक गर्भमै मृत्यु पनी हुन सक्छ ।
‘गर्भमा शिशु पुरा आयु नरहने समस्यया अक्सर बंशाणुगत अर्थात भ्रुणमा जेनेटिक डिफेक्ट रहेछ भने प्राकृतिक रुपमा भ्रुण गर्भमा बस्न सक्दैन, आफै निक्लन्छ । तर हाम्रोमा अधिकांश भ्रुण परिपक्क भएपछि वा गर्भको वच्चालाई जीवित जन्माउन सकिने संभावना रहेपनि असावधानी/सचेतनाको कमीले मृत शिशु जन्माउने धेरै छन’ अस्पताल प्रमुख मेसु डा.कँडेलले भने, ‘अधिकांश गर्भवती गर्भको चार पटक परिक्षण गराउँदैनन । नियमित गर्भ परिक्षण नहुँदा पाठेघरमा शिशुको अवस्थिती, पाठेघरको अवस्था र अन्य जटिलता थाहा हुँदैन । एक्कासी वच्च चलेन भन्दै आउँछन । वच्चा पेट भित्रै मरिसकेको हुन्छ । तीन महिना भित्रको भ्रुण जाने/तुहिने घट्ना त अभिलेख नै गरिदैन ।’

गर्भ खेर जानुका मुख्य कारण 

पहिलो तीन महिनामा भ्रूणको अवस्था कमजोर र असामान्य भएमा गर्भ खेर जान सक्छ । तर दोस्रो तीन महिनामा भने गर्भवती महिलाको आहारविहार र पालनपोषण राम्रो नभएमा नै गर्भ खेर जाने गर्छ । जिनसम्बन्धी समस्या, सालनालको अवस्था, योनिमा लगातार संक्रमण हुनु, गलत औषधि खानु आदि गर्भ जानुका कारण हुन् । 

प्रथम त्रैमासमा ९० प्रतिशत गर्भ खेर जानुको कारण जिनसम्बन्धी समस्या हो । धेरै भागदौड गर्नु, खानपिनमा ध्यान नदिनु, शरीर र गर्भलाई दबाब पर्ने काम गर्नु, एक बच्चा जन्माइसकेपछि छिटै अर्को गर्भ रहनु आदि गर्भ खेर जानुका कारण हुन् । 

२० वर्षका महिलाको तुलनामा ४० वर्ष उमेरमा महिलाको गर्भ खेर जाने सम्भावना २० गुणा बढी हुन्छ । अर्थात् उमेर ढल्किँदै गएपछि महिलाको प्रजनन क्षमतामा ह्रास आउँछ र गर्भ खेर जान सक्छ । त्यस्तै, पहिला एक पटक गर्भ खेर गइसकेको छ भने महिलाले सही उपचार नपाएको खण्डमा पुनः गर्भ खेर जाने सम्भावना त्यतिकै रहन्छ । मधुमेह, हर्निया, उच्च रक्तचाप, थाइरोइड आदि रोगका कारण पनि गर्भ खेर जान सक्छ । 

रगत अथवा पेट र पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको पनि गर्भ खेर जाने सम्भावना रहन्छ । त्यस्तै, तनाव बढी लिएमा र शरीरको हार्मोनमा अचानक कमी अथवा विकार आएमा गर्भ खेर जान सक्छ । मद्यपान, धूमपान र क्याफिनको बढी सेवनले पनि गर्भ खेर जाने जोखिम बढाउँछ । त्यस्तै, वंशाणुगत समस्याका कारण पनि गर्भ खेर जान सक्छ । 

पाठेघर सानो भएमा, पाठेघरको मुख खुकुलो भएमा र पाठेघरमा संक्रमण भएमा पनि गर्भ खेर जान्छ । कसैकसैलाई पतिको वीर्य नफाप्ने अथवा रज र वीर्यको प्रकृति नमिल्नाले पनि गर्भ खेर जान सक्छ । हाडनातामा गरिएको विवाह गर्भ खेर जानुको कारण हुन सक्छ । गर्भवती अवस्थामा धेरै काम गर्नु, गह्रुँगो भारी बोक्नु, जथाभावी यौन सम्पर्क राख्नु आदि पनि गर्भ जानुका कारण हुन् । तनावयुक्त जीवनशैली र विषादियुक्त खानाले पनि गर्भ खेर जान सक्छ । त्यस्तै, निरन्तर उभिरहनुपर्नेे काम गर्ने महिलाको पनि गर्भ खेर जान सक्छ । शरीर निष्क्रिय भएमा पनि गर्भ खेर जाने सम्भावना रहन्छ । 

गर्भावस्थामा आउने परिवर्तन र निम्तन सक्ने खतरा :

पहिलो अवधि : शुरुदेखि १२ हप्तासम्म

– गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ । गर्भ बसेको दिनदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो चारण्को रुपमा लिने गरिन्छ । गर्भवति आमालाई यो अवधिमा निकै खतरा हुने गर्छ ।

– यो अवधिमा गर्भ तुहिने सबैभन्दा बढी सम्भवाना हुन्छ । खासगरि भ्रुणमा समस्या भएमा, पोषण नपुगेको अवस्थामा, एनिमिया भएमा गर्भ तुहिने अत्याधिक खतर हुन्छ ।

– यो अवधिमा बेलाबखत ‘स्पोट ब्लीडिङ’ हुन सक्छ । यो भनेको एक दुई थोपा रगत देखिनु हो । यो सामान्य रुपमा लिनुपर्छ । तर, तर, अलि बढी नै ब्लीडिङ हुन थाल्यो भने स्वास्थ्य परिक्षण गराइहाल्नुपर्छ । किनभने यस्तो अवस्थामा गर्भपतन हुने खतरा बढेर जान्छ ।

– सामान्यतया गर्भ बसेको १० हप्तापछि वाकवाकी लाग्न शुरु हुन्छ । कसैलाई आवश्यकभन्दा बढी पनि वाकवाकी लाग्न सक्छ । यस्तो कि त पोषण तत्वको सन्तुलन नमिलेर हुन्छ की बढी हर्मोनको कारणले ।

– यो अवधिमा गर्भवति आमाले टिजी खोप र फोलिक एसिड लिनुपर्छ ।

– कहिलेकाँही ‘हाइडाटिड मोल’ पनि हुन सक्छ । यो भनेको गर्भ नबस्ने, तर गर्भवतिको जस्तो लक्षण देखिनु हो । यस्तो अवस्थामा महिलाको पाठेघरमा बच्चा नहुर्केर अर्कै कुरा(एक प्रकारको मासुको डल्ला) हुर्किरहेको हुन्छ । यस्तो समस्या भएमा चिकित्सकको मदतले वास गरी फाल्नुपर्ने हुन्छ ।

दोस्रो अवधि : १३ देखि २८ हप्तासम्म

– यो अवधिमा आमाको शरिरमा रगतको मात्रा बढी हुने गर्छ । यो अवधिमा खासगरि प्लाज्मको मात्रा बढी हुने गर्छ । यो चरणमा एनिमियाको पनि डर हुन्छ । त्यसैले रगतको मात्रा जाँच गरिराख्नुपर्छ ।

– यो अवधिमा अधिकलाई रक्तचाप बढ्ने समस्या हुन्छ । जुन आमा र बच्चा दुवैको लागि खतरा हो । उच्च रक्तचाप कतिसम्म खतरनाक छ भने कुल भर्भवति आमाको मृत्यूमध्ये २१ प्रतिशतको ज्यान यसकै कारण जाने गरेको छ । त्यसैले समय-समयमा रक्तचाप जाँच गरी आवश्यक सजकता अपनाउनुपर्छ । तर, यो अवधिमा गर्भ तुहिने सम्भावना भने अत्यन्तै न्युन हुन्छ ।

– १६ देखि २० हप्ताको अवधिबाट आमाले पेटमा बच्चा चलेको अनुभुति गर्न थाल्छ । यस्तो अवस्थामा पनि विशेष ख्याल राख्नुपर्छ । बच्चा कम वा बढी चल्यो भने जाँच गर्न जरुरी  हुन्छ ।

– यो अवधिमा दुई पटक अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्छ । त्यस्तै, आइरन, क्याल्सीयम, जुको आषधी पनि लिनुपर्ने हुन्छ ।

तेस्रो अवधि : २९ देखि ४० हप्तासम्म

– गर्भावस्थाको तेस्रो चरणमा प्रवेश गर्दा शिशुको तौल अत्याधिक बढ्ने गर्छ । यो अवधिमा शिशु कुन पोजिशनमा छ भनेर जनकारी लिन जरुरी हुन्छ ।

– यो अवधिमा राती १० र दिउसो दुई घण्टा अनिवार्य आरामको जरुरी हुन्छ । भारी काम गर्न हुँदैन तर, सामान्य घरायशी काम गर्दा कुनै फरक पर्दैन ।

– गर्भवति भएको आठौ र नावौं महिनामा खोप लिनुपर्छ । यो अवधिमा साल र नालको पनि विकास हुन्छ । यसको विकासक्रमबारे पनि राम्रोसँग जानकारी हुन पनि जरुरी हुन्छ ।

– यो अवस्थामा पेट दुख्ने समस्या हुन्छ । बढी पेट दुखेमा आमा र बच्चा दुवैको लागि खतरा हुन सक्छ । त्यस्तै, कतिपय गर्भवती महिलामा पानीको फोका फुटेर बग्न पनि सक्छ ।

– गर्भवती भएको अन्तिम महिनामा जन्मको तयारी गर्नुपर्छ । यस्तो अवस्थामा कहाँ लगेर डेलिभरी गर्ने, रकम, सम्भावित जटिलता समाधानको लागि पूर्व तयारी राम्रोसँग गर्नुपर्छ ।