FLASH NEWS
  • Loading...

चीनमा सापटी बिदा : अनौठो प्रणाली

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०७ पटक पढिएको
चीनमा सापटी बिदा : अनौठो प्रणाली

नेपालमा दशैँ बिदा शुरु हुनै लाग्दा चीनमा अक्टोबर एक तारिख मनाइने राष्ट्रिय दिवसको बिदा सकिएको छ। एक साता लामो यो बिदालाई चीनमा सुनौलो सप्ताह भनिन्छ।

बिदालाई घुमफिर गर्ने अवसरका रुपमा लिन्छन् चिनियाँहरू। लामा सार्वजनिक बिदाले चिनियाँ अर्थतन्त्रलाई चलायनमान बनाउने भएकाले देशको आर्थिकबृद्धिसँग पनि यी बिदा जोडिएका हुन्छन्।

शनिबार र आइतबार बाहेक चीनमा वर्षमा जम्मा ११ दिन मात्र सार्वजनिक बिदा हुन्छन्। वर्षमा तीनपटक सुनौलो सप्ताह मनाउने चीनमा जम्मा ११ दिन मात्र बिदा हुन्छ भन्दा पत्याउन मुस्किल पर्छ। तर यो सत्य हो। बिदालाई लामो बनाउनका लागि चीनमा सापटी बिदा दिने चलन छ। यस्तो सापटी बिदा कुनै कर्मचारी केन्द्रित नभएर समस्त चीनभरि लागू हुने गरेको छ।

सन् १९४९ अक्टोबर १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको नेतृत्वमा जनगणतन्त्र चीन स्थापना भएको हो। चिनियाँहरू जनगणतन्त्र चीनलाई नयाँ चीन पनि भन्छन्। सन् १९४९ अक्टोबर १ तारिख जनगणतन्त्र चीन घोषणा गरेका थिए। त्यसपछि हरेक वर्ष चीनले अक्टोबर १ तारिखलाई राष्ट्रिय दिवस मनाउन थालेको हो।

राष्ट्रिय दिवसका अवसरमा गत अक्टोबर १ तारिख शुक्रबार (असोज १५ गते) बाट शुरु भएको सुनौलो सप्ताहको बिदा अक्टोबर ७ तारिख बिहीबार (असोज २१ गते) सम्म जारी रहेको छ। राष्ट्रिय दिवसका अवसरमा चीनमा तीन दिन सार्वजनिक विदा दिइन्छ। तीन दिनको बिदा भए पनि थप दुई दिन सापटी लिएर सात दिनको (बीचमा शनिबार र आइतबार पनि जोडेर) बनाइएको हो।

चीनमा राष्ट्रिय दिवस र परम्परागत चिनियाँ नयाँ वर्षमा तीन/तीन दिन बिदा हुने गर्छ। यी तीन दिन बिदाभित्र शनिबार र आइतबार पर्‍यो भने त्यो गणना हुँदैन। त्यसभन्दा बाहेककै ३ दिन बिदा दिइन्छ। अनि त्यसमा पनि बिदा हुनुभन्दा अगाडिको आइतबार र बिदा सकिएपछिको शनिबारको बिदा पनि सापटी लिएर तीन दिनको बिदामा थपिन्छ।

यसलाई अझै यसरी प्रष्ट्याउन सकिन्छ। यस पटकको राष्ट्रिय दिवस अर्थात् अक्टोबर १ तारिख शुक्रबार परेको थियो। त्यसभन्दा अगाडिको आइतबार अर्थात् सेप्टेम्बर २६ तारिख बिदा दिइएको थिएन। त्यसैगरी अक्टोबर १ तारिख यसै बिदा हुने नै भयो। यो वर्ष अक्टोबर २ र ३ तारिख शनिबार र आइतबार परेकाले तीन दिनको बिदामा ती दुई दुई गणना भएनन्। बाँकी दुई दिन सोमबार र मंगलबारसम्म राष्ट्रिय दिवसको बिदा थियो। सेप्टेम्बर २६ तारिख आइतबार र अक्टोबर ९ तारिख शनिबारको सापटी बिदालाई बुधबार र बिहीबार सोधभर्ना गरिएको छ।