FLASH NEWS
  • Loading...

तलब माग्दै बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९३ पटक पढिएको
तलब माग्दै बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

तलबभत्ताको माग गर्दै बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । तीन महिनादेखि तलब निकासा नदिएको भन्दै उनीहरुले पेन डाउन गरेर ओपीडी सेवा ठप्प पारेका हुन् । स्वास्थ्यकर्मीको आन्दोलनले अस्पताल पुगेका बिरामीहरू अलपत्र परेका छन् । 

लेखापाल नारायण सुवेदीले तीन महिनादेखी तलब निकासा नदिएको भन्दै अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन् । ‘दसैं आइसकेको छ । तीन महिनादेखि तलब पाएका छैनौं । दुई दिनभन्दा बढी बैंक खुल्ने समय छैन । अझै तलब निकासाको कुनै सुरसार नभएपछि आन्दोलनमा उत्रनु परेको हो,’ बेनी अस्पतालको अर्न्तरंग विभागकी इन्चार्ज मनदेवी गौतमले भनिन, ‘काम नगरेको भए कारबाही गर तर काम गरेको तलब नियमित दिनुपर्छ ।’

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेल र लेखापाल सुवेदीबीच गत आर्थिक वर्षमा बिल भुक्तानी विषयमा मतान्तर हुँदा कर्मचारीको तलब निकासामा समस्या भएको अस्पताल निकट स्रोतले बताएको छ ।दुवैबीच मतान्तर भएपछि अस्पताल व्यस्थापन समितिले लेखापाल परिवर्तन गर्न आग्रह गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार समेत गरेको थियो ।

उनीहरूबीचको विवादका कारण कर्मचारीको तलबभत्ता, आमा सुरक्षा कार्यक्रम अर्न्तगत अस्पतालमा सुत्केरी भएका आमाहरुले पनि तीन महिनादेखि सुत्केरी भत्ता पाएका छैनन् । सरकारले स्वास्थ्य संस्थामा मै सुत्केरी भए बापत २ हजार र चार पटक गर्भजाँच गाएका थप ८ सय प्रोत्साहन भत्ता दिने गरेको छ । ‘राज्य संयन्त्र र कार्यालयभन्दा ब्यक्ति माथी बन्दा निरीह हामी कर्मचारी मारमा परेका छौं,’ गौतमले भनिन् ।

अस्पतालमा स्थायी कर्मचारी, अस्थायी दरबन्दीका करार कर्मचारी र व्यवस्थापन समितिबाट नियुक्त भएका स्वास्थ्यकर्मीदेखि कार्यालय सहयोगी समेत गरेर एक सय २३ जना कर्मचारी कार्यरत छन् ।

‘अस्पतालका स्वास्थ्यकर्मीले यसअघि पटक–पटक कति दिन उदारो चामल खाएर बस्ने । घर पठाउने तर परको कुरा पकेट खर्च पनि छैन । अति भो अब पेन डाउन गर्छौंभन्दा मैले रोकेर राखेको हो । तर आज रोक्न सकिएन । डाक्टरहरु सेवामा नजाँदा अस्पतालको सेवा प्रभावित भएको छ,’ अस्पतालका प्रमुख डा. कंडेलले भने, ‘सरोकारवाला निकायसँग समस्या सेयर गरी समाधानको उपाय खोजी भैरहेको छ । आजरातिसम्म निकास निक्लने विश्वास गर्छु ।’ *इकान्तिपुर