खस जाति र आसन्न जनगणना

१४ आश्विन २०७८, बिहीबार १२:२७ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

चन्द्रप्रकाश बानियाँ 

खस समाज मूलतः हिन्दू धर्मावलम्वी नै रहँदै आएको छ । खसहरुले उठाउन थालेको विषय जातिको मात्रै थियो । अर्थात आर्य र खस एउटै होइन । खस–आर्य नामको जाति नश्ल यो धर्तीमा कहीँ कतै छैन । खस र आर्य अलग जाति समुदाय हुन् भन्ने कुरा धु्रव सत्य हो । दुबै जातिलाई एउटै टोकरीमा राख्नु गलत हो । त्यसबाट एउटा ऐतिहासिक जातिको अस्तित्व नामेट हुन्छ । खस जातिको लामो र गौरवपूर्ण इतिहासले जातिको वस्तुसत्यको कथा सुनाउँदै छ । ऐतिहासिक तथ्यलाई पैतालमुनी हालेर आर्यसंग जोड्नु गलत हो । गलत मात्रै होइन, जालझेल र षडयन्त्र हो । जातिको अस्तित्व समाप्त पार्ने अपराध पनि हो । धर्मको दृष्टिले आर्यसँग संगसंगै रहेपनि खसको जाति फरक हो । हिन्दू धर्म ग्रहण गर्दैमा गैरआर्यको जाति आर्यमा रुपान्तरण हुँदैन । खसहरुले धर्म मात्र बदलेका हुन् । जाति बदलेका होइनन् । वास्तवमा खसहरुले प्रारम्भमा उठाएको् विषय त्यत्ति थियो ।
खस अलग जाति हो भने धर्म पनि फरक होला, खसको धर्म के हो ? रीतिस्थिति र संस्कार संस्कृति कुन हो ? भन्ने खालका प्रश्नहरु खसहरुसमक्ष हिन्दूवादीहरुले तेर्साउन थाले । धर्म र जात फरक कुरा थियो । जो कसैले जुनसुकै धर्म अवलम्बन गर्न सक्दछ । एउटै मानिसले पटक पटक धर्म परिवर्तन गर्न पनि सक्छ । धर्म मान्दिन, तथस्ट रहन्छु भन्न पनि पाउँछ । धर्म नमान्दैमा समाजमा चलेका रीति परम्पराबाट अलग हुनुपर्छ भन्ने होइन । धर्म फेर्न मिल्छ । जाति बदल्न पाइदैन । मिल्दैन । धर्म आस्था हो । आस्था परिवर्तन हुन सक्छ । जाति भनेको रक्त, वंश र डिएनएसंग जोडिएको विषय हो । कैयौं गैरआर्यहरुले हिन्दू धर्म गरेका होलान् । कुनै गोराले हिन्दू धर्म लिँदैमा उ भारतीय मूलको आर्यमा फेरिदैन । फेरिने धर्म र आस्था मात्र हो । भारतीय आर्यहरुमध्ये कैयौंले क्रिश्चियन धर्म लिएका होलान् । तिनको जाति फेरिएर एङ्लनो अर्थात गोरो भएको छैन । धर्मसंग जातिको सम्बन्ध हुदैन । जुनसुकै जातिको मान्छेले जुनसुकै धर्म लिन सक्छ । तर खसहरुलाई खुइलाउने दुराशयबाट सोधिएको “तिम्रो धर्म के हो” भन्ने आर्यहरु खासगरेर ब्राह्मण पुरेतहरुको प्रश्नले खस अभियन्ताहरुलाई आफ्ना पुर्खाले कुन धर्म मान्थे भनेर इतिहास पल्टाउन वाध्य बनाएको हो ।
इतिहास सांक्षी छ– सोह्रँैं शताब्दी अर्थात आजभन्दा ४०० वर्ष अगाडिसम्म दक्षिण एशियामै सबभन्दा ठूलो साम्राज्य खसहरुकै थियो । सिँजा केन्द्र बनाएर खसहरुले ४÷५ सय वर्षसम्म पश्चिम तिब्बतको ङारी प्रदेश, गुङ्गेपुराङ, कुमाउ गढवाल, कहिलेकहीँ त अफगानिस्तान अर्थात गान्धार प्रदेशसम्म, पूर्वमा त्रिशुली नदीसम्म र दक्षिणमा शिवालिक पर्वत श्रृङखलाभित्र अखण्ड राज्य निर्माण गरेका थिए । खसहरुले बुद्ध धर्म मान्थे र खस साम्राज्यको अन्तकालतिर मात्र हिन्दू धर्म ग्रहण गरेका हुन् । जुम्ली राजा गगनीराजले पन्ध्रौं शताब्दीको अन्ततिर खससमाजमा जनै वितरण गरेको कुराको इतिहास प्रमाण जीवित छ । जनै भिरेर पनि खसहरुलाई क्षत्रीको दर्जा मिलेको थिएन भन्ने कुरा जङ्गबहादुरको सबै खसहरुलाई क्षत्रीमा उकाल्ने उर्दीबाट स्पष्ट हुन्छ ।
खस समाजका लागि हिन्दू धर्म र वर्ण नयाँ हो । हिन्दू धर्म ग्रहण गर्नुपूर्व अवश्य खसको कुनै मौलिक धर्म संस्कृति हुनुपर्छ भन्ने अनुमान गर्नुपर्ने र डोरोमेलो फेलापार्ने चेष्टा गर्नुपर्ने कारण त्यही थियो । खस साम्राज्य जीवित रहेको जमाना देश र समाज धर्मद्वारा निर्देशित हुन्थ्यो । धर्मका आधारमा शासन प्रशासन र न्याय व्यवस्था चल्थ्यो । त्यसैले खसहरुको आफ्नो विशिष्ट धर्म संस्कृति अवश्य थियो । त्यो कुन थियो भन्ने विषयमा इतिहास खङ्गालेर तथ्यसम्म पुग्न बाँकी नै छ । तर खसहरु त्यतिखेर हिन्दू थिएनन् भन्ने कुरा भने पक्का हो । किनकि हिन्दू धर्मको उदगम र खसहरुको आगमन मार्ग मिल्दैन । भारतमा हिन्दू धर्मको विकास भएको हो, खसहरु मध्य एसिया, मध्यपूर्व, तिब्बत हुँदै नेपाल छिरेका हुन् ।
धर्मको डोरोमेलो के थियो भन्ने कुनै सवुत प्रमाण हात लागेको छ कि छैन भन्ने प्रश्न तिर जानु भन्दा पहलिे खसहरु आर्य होइनन् भन्ने कुराको तथ्य केलाउनतिर लाग्नु बेस हुनेछ । डिएनए परिक्षणबाट सत्यतथ्य खुट्याउने कार्य बाँकी नै छ । त्यो समय पनि एकदिन अवश्य आउने छ । त्यतातिर जानुपूर्व अलिकता खोजविन आर्य साहित्यमा गरौैं ।
आर्यहरुद्वारा रचना गरिएका वैदिक साहित्यहरु हजारौं वर्ष पुराना हुन् भनेर दावी गरिन्छ । तथ्य सत्य एकातिर राखेर उनीहरुको कुरा पत्याई दिउँ र साहित्यभित्र छिरेर अलिकता अवलोकन गर्ने कोसिस गरौैं । ती साहित्यहरुमा खस जातिको उल्लेख कहाँ कहाँ गरिएको छ भनेर खोजौं । खसहरुको आर्य समाजसंग कस्तो सम्बन्ध थियो ? सम्बन्ध कहिले जोडिएको थियो र तत्कालीन आर्य समाजले खसलाई कुन आँखाले हेर्थे ? खसहरुप्रतिको उनीहरुको व्यवहार कस्तो थियो ? खस र खसजातिको बारेमा आर्य मान्यता कस्तो थियो भन्ने कुरा जान्ने प्रयत्न गरौैं ।
वैदिक (संस्कृत) साहित्यहरुमा सबभन्दा पुरानो ऋगवेदलाई मानिन्छ । ऋगवेदले खस जातिलाई चिन्दैन । अर्थात खसको बारेमा वेदमा एउटा अक्षर पनि खर्च गरिएको छैन । त्यसको अर्थ वेदकालीन समाजसंग खस जातिको परिचय थिएन भन्ने लाग्दछ । वेदकाली विद्वानहरुले आफ्ना मित्रहरुको मात्रै होइन, शत्राुहरुको वर्ग दानव, दैत्य, राक्षस, पणी र म्लेच्छहरुको बारेमा उल्लेख गरेका छन् तर खस कतै देखिदैनन् ।
वेदपछि ब्राह्मण, संहिता, उपनिषदहरु लेखिए । ती ग्रन्थहरुमा पनि कहीँ कतै खस जातिको बारेमा एक अक्षर परेको छैन । एउटा वृहतसंहिता भन्ने पुस्तकमा खस जातिको बारेमा अलिकता उल्लेख भएको छ र त्यो ग्रन्थ निकै पछि अर्थात पुराणकालमा लेखिएको होला भन्ने अनुमान गरिन्छ । त्यसपछि सूत्र र स्मृतिहरु लेखिए । सूत्र र स्मृतिहरुमध्ये मनुस्मृतिमा बल्ल खस जातिको उल्लेख भएको छ । अर्थात आर्य समाजले हजारौं वर्ष लगाएर वेद लेख्यो, ब्राह्ण ग्रन्थ तयार पा¥यो, संहिता र सूत्रहरुको रचना ग¥यो । गौतम ऋषिहरुले सूत्र र स्मृतिहरु लेख्न थाले । त्यतिबेलासम्म उनीहरुको वरिपरि खस जाति थिएन । हुन्थ्यो भने अवश्य उल्लेख हुन्थ्यो । लेख्य प्रमाणलाई आधार मान्दा मनुस्मृति र महाभारतमा पहिलोपटक खस जातिको बारेमा उल्लेख भएको हो भन्न सकिन्छ । महाभारत जेठो हो कि मनुस्मृति भन्ने विवाद कायमै छ । प्रमाणले पुष्टि नगर्ने भएपनि मनुस्मृति र महाभारत इसाको दोश्रो शताब्दीसम्म लेखिसकिएको थियो भनेर दावी गरिन्छ र ती दुबै ग्रन्थमा खस जातिलाई स्पष्ट शब्दमा अनार्य भनिएको छ । हुण, शक, दरद जस्तै असभ्य, जंगली, व्रात्य र शुद्र भनिएको छ ।
महाभारतमा तुसार, यवन, दर्व, भिसार, दरद, साक, कामथ, रामथ, ताङ्गण, अन्धक, पुलिन्द, म्लेच्छ, किराँत र खस एकै किसिमका जातिहरु हुन् भनिएको छ । मनुस्मृतिमा झल्ल, मल्ल, नि, लिच्छवि, खस र द्रविड व्रात्य हुन भनिएको छ । हिन्दू संस्कार नअपनाएका हुनाले द्रविड, यवन, शक, पल्लव, चीन, किराँत, दरद र खस शुद्र हुन् भनिएको छ । वैदिक पण्डितहरुको त्यो परिभाषाले जात उक्लिनकै लागि खसहरुले जनै धारण गर्न थालेको हुन् भन्ने कुरा पुष्टि गर्छ ।
त्यसपछि पुराणहरु लेखिए । ब्रह्मपुराण, मत्स्यपुराण, मार्केन्डेयपुराण, निलमतपुराण, स्कन्दपुराण, वायुपुराण, हरिवंशपुराणहरु सबैले एकै स्वरमा खस जातिलाई अनार्य, व्रात्य, असभ्य, शुद्र भनेर लेखेका छन् ।
इतिहास प्रमाणले खसहरुलाई यस क्षेत्रमा सबैभन्दा ठूलो साम्राज्य स्थापना गर्ने बहादुर जातिको रुपमा स्थापित गरेको छ । त्यही जातिलाई हिन्दू धर्मग्रन्थहरुले निच, असभ्य, व्रात्य, म्लेच्छ, शुद्र भनेर हेपेका छन् । त्यति मात्र होइन स्पष्ट रुपमा अनार्य भनेर लेखेका छन् । हिन्दू साहित्यले फरक भनेर मानेको जातिसंग “यतिखेर तिमी हामी एकै हौं” भनेर नेपालका आर्यहरुले कुन स्वार्थले भन्दैछन् ? यो एउटा विचारणीय प्रश्न हो ।
स्पष्ट कुरा केहो भने धर्मसंस्कृति केही शताब्दी एउटै रहेको भए पनि भाषा, रीतिपरम्पराहरु खस र आर्यका फरक फरक छन् । दुबैमा घालमेल भएको छ । तैपनि केही परम्पराहरु फरक छन् । ती परम्पराहरु आजसम्म पनि जीवत छन् । खसहरुले मान्ने देवता मष्टको हिन्दू धार्मिक ग्रन्थहरुमा कहीँ कतै उल्लेख छैन । कुल पूज्ने व्यवस्था हिन्दू व्रत उत्सव, तिथि पर्वमा पाइदैन । सांस्कृतिक दृष्टिले आर्यहरुसंग नमिल्ने अनेकौं रीति परम्पराहरु जिवितै छन् । हो, नेपाल छिरेका आर्यहरुसँग न उनीहरुको भाषा छ न रीतिसंस्कृति नै छन् । उनीहरुको पूर्णरुपमा खसकरण भएको छ । तर खसहरु जनै भिरकै कारणले आर्यमा विलय भैसके भन्न मिल्दैन ।
यतिखेर कुन कुन थर जात आर्य हुन् र कुन कुन जाति थरहरु खस जातिका हुन् भनेर स्पष्ट कित्ताकाट गर्न गाह्रो छ । तर जनै भिरेर हिन्दू भएका र जङ्गबहादुरको उर्दीबाट क्षत्री भनाइएकाहरु शुद्ध खस हुन् । बाहुनदेखि दलितसम्म खस जातिका वंशज होलान् । ती जातहरुमा खसहरु छैनन् भन्न सकिन्न । तर तत्कालको लागि खस को हो भनेर चिनाउने बलियो आधार पहाडीमूलको क्षत्रीवंश हो । कमसेकम सन्निकट जनगणनामा ती सबै नयाँ क्षत्रीहरु सबैले आफ्नो जाति खस र पुर्खाले बोल्ने भाषा पनि खस हो भनेर लेखाउनुै पर्छ । त्यसो गरिएन भने एउटा स्वर्णिम इतिहास कायम गरेको महाजातिको अस्तित्व संकटमा पर्नसक्छ । आफूलाई खस भनौैं, जातिको अस्तित्व जोगाउँ ।