निजगढको एक होटलबाट करिब एक करोड रुपैयाँ नक्कली नोट बरामद

२८ भाद्र २०७८, सोमबार मा प्रकाशित (6 दिन अघि)
पुनहिल संवाददाता

बाराको निजगढस्थित एक होटलबाट करिब एक करोड रुपैयाँ नक्कली नोट बरामद भएको छ । ‘तारा इन’ होटलबाट प्रहरीले ५ जना नक्कली नोटका कारोबारीलाई पक्राउ गर्ने क्रममा ९३ लाख रुपैयाँ  नक्कली नोट बरामद गरेको प्रहरी स्रोतको दाबी छ । उक्त गिरोहकै अर्का एक सदस्यलाई भने रौतहटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रौतहटमा भने गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकमसहित एक जनालाई पक्राउ गरिएको थियो । होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले बिशेष व्युरोको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

उक्त गिरोहले झन्डै ९३ लाख नक्कली रकम बरामद गरेको भएपनि बाहिर सूचना दिइएको छैन । ‘बारामा नक्कली नोट बरामद भएको बारे केही जानकारी आएको छ’, प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले पुष्टि गरेका छन् । तर प्रहरी अहिलेसम्म अनुसन्धानमै रहेका कारण केही खुलाउन चाहेको छैन ।