एक हप्तामा खुल्यो अबरुद्ध बेनी – पोखरा सडक

२४ भाद्र २०७८, बिहीबार मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

अविरल वर्षाका कारण ठाउँ-ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको पोखरा-बेनी सडक सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ ।

भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका-८ चुवादेखि मोदी गाउँपालिका-५ को साढे आठ किलोमिटर लम्बाइमा २० वटा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो । साविकको धौलागिरिका चार जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक नै अबरुद्ध हुँदा चार जिल्ला समस्यामा परेका थिए ।

सडक अवरुद्ध हुँदा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा दैनिक उपभोग्य सामग्री, तरकारी तथा फलफूल र पेट्रोलियम पदार्थको अभाव हुन थालेको थियो ।

मौसममा सुधार आएपछि भदौ १९ गतेबाट मध्यपहाडीको पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्रयासबाट बिहीबार साँझदेखि बाटो  एकतर्फी  सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।