FLASH NEWS
  • Loading...

सेयर बजारमा भारी गिरावट

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२० पटक पढिएको
सेयर बजारमा भारी गिरावट

सेयर बजारमा मंगलबार पनि भारी अंकको गिरावट आएको छ।

आज बजार ६९.०५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २९७५.८४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.३४ अंकले घटेर ५५०.५२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १३ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले आजको बजार घटाइलाई करेक्सनका रुपमा बुझ्नुपर्ने बताएका छन्। ‘यसलाई स्वाभाविक मान्नुपर्छ’, उनले भने, ‘बजार घट्न थाल्यो भनेर नआत्तिन म आमलगानीकर्तालाई आग्रह गर्छु।’

ढकालले सेयर कर्जाको सीमालाई बहाना बनाउँदै बजार अझै घट्छ भन्ने त्रास फैलिने समूहबाट सजक रहन आग्रह गरे। ‘त्यस्ता समूह बजारलाई प्रभावित पारी फाइदा उठाउने दाउमा रहेको देखिन्छ, त्यसैले त्यस्ता समूहबाट जोगिन आवश्यक छ’, उनले भने, ‘सेयर कर्जाको सीमा पुनः फेरि सेयरमै लगानी गर्नका लागि हो, उद्योगमा लगानी गर्न यसले असर गर्दैन।’

अहिले ब्याजदर नबढेको अवस्था, तरलता सहज रहेको अवस्था र अन्य क्षेत्रको तुलनामा सेयर बजारमै आकर्षण बढिरहनुले बजार मजबुतै रहेको ढकालको भनाइ छ। ‘अहिले बजारमा ४० लाख लगानीकर्ता भित्रिएको अवस्था छ, विदेशबाट पनि लगानी भइरहेको छ’, उनले भने, ‘बजार चारैतिरबाट सकारात्मक छ, त्यसैले अहिले नै आत्तिएर बेच्नुभन्दा सकभर राम्रा स्क्रिप्टमा लगानी थप्ने र आफूसँग भएको सेयर होल्ड गर्नु नै उचित देखिन्छ।’

बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि आज बजारमा करेक्सनले निरन्तरता नै पाएको बताउँछन्। ‘ब्याजदर बढेको छैन, तरलता पनि सहज नै छ’, उनले भने, ‘कम्पनीहरुले लाभांश पनि राम्रै दिने छाँटकाँट देखिन्छ। त्यसैले बजार घट्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन।’

केही ठूला लगानीकर्ताहरुले ऋण तिर्नुपर्ने बेला आएकोले पनि बजारमा दबाब परेको हुन सक्ने घिमिरेको भनाइ छ। ‘अहिले बजारमा लगानीको अवसर सिर्जना भइरहेको छ, यो मौकाको फाइदा उठाउँदा भविष्यमा राम्रै प्रतिफल प्राप्त हुन सक्छ।’

बजार घट्नुको पछाडि ठूलो वा ठोस कारण नभएका कारण केही दिनमै बजार फर्किने सम्भावना प्रबल रहेको घिमिरेको बुझाइ छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। विकास बैंक समूह सर्वाधिक ३.४८ प्रतिशतले घटेकोमा आज बैंकिङ समूहमा १.१५ प्रतिशत, व्यापार समूहमा २.८८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३३ प्रतिशत, जलविद्युत समूहमा ३.४६ प्रतिशत, वित्त समूहमा ३.०८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८१ प्रतिशत, अन्य समूहमा ३.१८ प्रतिशत, लघुवित्त समूहमा २.८२ प्रतिशत, जीवन बीमा समूहमा २.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७७ प्रतिशत र लगानी समूहमा २.५६ प्रतिशतको गिरावट आएको छ।